काठमाडौँ । प्रतियोगिता सञ्चालन हुन चार दिन मात्र बाँकी रहेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा कर्णाली याक्सलाई उपाधि दावेदारका रुपमा हेरिएको छ ।
पहिलोपटक आयोजना हुन लागेको प्रतियोगितामा कर्णाली याक्स हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने टोली कर्णाली याक्समा राष्ट्रिय क्रिकेट टोलीको अलराउण्डर सोमपाल कामी मार्की खेलाडीका रुपमा रहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउँदै उनले महत्वपूर्ण योगदान दिएका छन् । नेपालले दुईपटक विश्वकपमा सहभागिता जनाउँदा सोमपालले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
विश्वकपमा नेपालले दुईपटक भाग लिँदा दुवै खेल खेल्ने सोमपाल नेपालका एक्लो खेलाडी हुन् । सोमपालसँगै टोलीमा राष्ट्रिय टोलीका युवा अलराउन्डर गुल्शन झा, देव खनाल, रित गौतम, नन्दन यावद, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन् ।
यसैगरी, कर्णालीले आफ्नै क्षेत्रका दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरीलाई पनि समेटेको छ । कर्णाली याक्सका अधिकांश खेलाडीसँग राष्ट्रिय टिम र घरेलु क्रिकेट प्रतियोगिता खेलेको अनुभव छ । यससँगै कर्णाली याक्सले थप पाँचजना विदेशी खेलाडी भित्र्याएको छ ।
एनपिएलमा हरेक टोलीले कम्तीमा चार विदेशी खेलाडी अनिवार्य अनुबन्ध गर्नुपर्नेछभने आवश्यकता हेरेर एक टोलीले छ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । जसअनुसार कर्णालीले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको हो ।
कर्णाली याक्सले भारतीय चर्चित खेलाडी शिखर धवनलाई अनुबन्ध गर्दै चर्चा बटुल्न सफल भएको छ । नेपाली क्रिकेटमाझ धवनको आगमनले कर्णाली टोलीको शोभासमेत बढेको अनुमान गर्न सकिन्छ । कर्णाली याक्सबाट धवनसँगै हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुदले खेल्दैछन् । सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६ र २०१८ को एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जित्दा ३९ वर्षीय बायाँहाते ब्याटर धवनले टोलीका महत्वपूर्ण सदस्य थिए ।
आइपिएलमा धवन सहभागी टोली सनराइजर्स हैदराबादले आइपिएलको उपाधि जितेको थियो । उनले आइपिएलमा सनराइजर्स हैदरावादसँगै दिल्ली क्यापिटल्स, डेक्कन चार्जर्स र पञ्जाब किङ्सबाट खेलिसकेका छन् । केही समयअघि मात्र धवनले सबैखाले क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।
कर्णाली याक्सले भित्र्याएको अर्को चिरपरिचित खेलाडीको नाम हो हायात । हङकङका विस्फोटक ब्याटर हायातले पनि नेपालमा आयोजना भएका विभिन्न लिग खेलिसकेका छन् । हङकङको टोलीबाट धेरैपटक नेपाल आएर खेलिसकेका हायातले कर्णाली याक्सबाट उत्कृष्ट खेल खेल्ने अपेक्षा गरिएको छ । हायातले यसअघि पोखरा प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग खेलिसकेका छन् ।
कर्णाली याक्सले धेरै अपेक्षा राखेको खेलाडीमध्ये पाकिस्तानका बायाँहाते खेलाडी तलात पनि एक हुन् । उनले अलराउण्डरको भूमिका निर्वाह गर्नेछन् । दक्षिण अफ्रिकाको एमजान्सी सुपर लिग तथा पाकिस्तान सुपर लिग खेलेका तलातले यसअघि नेपालमा आएर टी २० क्रिकेट खेलिसकेका छन् । सन् २०२२ मा भएको नेपाल टी २० लिगमा उनले विराटनगर सुपर किंग्सबाट खेलेका थिए ।
नेपालका लागि अर्का परिचित नाम हो वेस्ट इन्डिजका दायाँहाते ब्याटर वाल्टन । जसलाई कर्णाली याक्सले अनुबन्ध ग¥यो । वाल्टनसँग पनि नेपालमा खेलेको अनुभव छ । वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय खेल खेल्दै आएका उनले यसअघि नेपालमा आएर टी ट्वान्टी क्रिकेट खेलिसकेका छन् । सन् २०२२ मा भएको नेपाल टी२० लिगमा उनले जनकपुर रोयल्सबाट खेलेका थिए ।
वाल्टनले बङ्गलादेश प्रिमियर लिग, श्रीलङ्का प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, ग्लोबल टी २० लिगजस्ता विश्वका धेरै लिगहरू खेलिसकेका छन् । ओमानका पूर्वकप्तान तथा अलराउण्डर मक्सुद पनि अनभुवी ब्याटर र बलर हुन् । उनले ओमानका लागि थुप्रै अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनीसँग नेपाल आएर खेलेको अनुभवसमेत छ । उनको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ र बलिङ लाइन बलियो हुने आशा गरिएको छ । कर्णाली याक्सले उनलाई पाँचौँ नम्बरमा अनुबन्ध गरेको थियो ।
सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउने प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चा गर्नुभएको थियो । उहाँले अर्को टी–ट्वान्टी विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्नसमेत सल्लाह दिनुभएको थियो ।
कर्णाली याक्सका मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल हुनुहुन्छ । उहाँले आफ्नो टोलीको तयारी राम्रो रहेको बताउँदै उपाधि जित्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कर्णाली याक्स टोलीको आइकोनिक खेलाडीमा विपिनप्रसाद शर्मा छन्भने ब्राण्ड एम्बासडर नायिका स्वस्तिमा खड्कालाई अनुबन्ध गरेको छ ।
कर्णाली याक्सले आज नै सिसन बानियाँलाई ‘युथ ब्रान्डएम्बेस्डरमा’ नियुक्त गरेको छ । उनी नेपाली भ्लगिङ समुदाय र नेपाली सिनेमामा परिचित व्यक्तित्व हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कर्णाली याक्सले आफ्नो पहिलो खेल जनकपुरसँग खेल्नेछ ।
प्रतियोगितामा कर्णाली याक्ससँगै काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते
- दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
- सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर