+

काँसघारी क्रिकेट खेलमैदान बनाइँदै

झापा ।  जिल्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदानका लागि तीव्र गतिमा काम भइरहेको छ । मेची बहुमुखी क्याम्पस भद्रपुरकोे जग्गा २५ वर्षका लागि भाडामा लिएर भद्रपुर क्रिकेट क्लबले खेलमैदान बनाउने कामलाई अगाडि बढाइएको हो । 

क्याम्पस परिसरमा रहेको काँसघारीलाई फाँडेर खेलमैदान सम्याउने काम भइरहेको भद्रपुर नगरपालिका–८ का वडाध्यक्ष मनोज सुब्बाले बताउनुभयो । उहाँले यो जिल्लाकै पहिलो र कोशी प्रदेशको दोस्रो क्रिकेट रङ्गशाला हुने बताउनुभयो । ‘जिल्लामा अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त क्रिकेट खेलाडी धेरै छन् तर मैदान छैन’ उहाँले भन्नुभयो, क्रिकेट खेलप्रति युवाको क्रेज बढिरहेको छ, यसलाई मध्यनजर गरेर यहाँका उद्यमी, व्यवसायी र खेलप्रेमी महानुभावका साथ सहयोग लिएर मैदान धमाधम बनाइरहेका छौँ ।’

उहाँले खेलमैदान बनाउनका लागि वडाबाट गत वर्ष ३ लाख रुपैयाँ दिएर काम शुरु गराइएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा समेत ३ लाख रुपैयाँ  मैदानका लागि विनियोजन गरिसकेको बताउनुभयो । हाल वडाको बजेटसहित खेलप्रेमी महानुभावहरुले स्वतस्फूर्त रुपमा दिइएको करिब १५ लाख रकमबाट खेलमैदान बनाउने काम भइरहेको छ ।

वडाध्यक्ष सुब्बाले क्रिकेट खेल, प्रशिक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्दै क्रिकेटको विकास गर्ने उद्देश्यका साथ क्याम्पस परिसरमा खेलमैदान निर्माण शुरु गरिएको बताउनुभयो । रङ्गशाला निर्माणका लागि कति खर्च लाग्छ भन्ने यकिन भइनसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार कोशी प्रदेश सरकारले समेत चालु आर्थिक वर्षमा  १५ लाख रुपैयाँ रङ्गशाला बनाउन सहयोग गरेको छ । पछिल्लो समय खेलमैदानका लागि क्रिकेट एसोसिएसन नेपाल (क्यान) ले समेत चासो राखेको छ ।

क्लब र क्याम्पसबीच १९ बुँदे सम्झौता भएको छ । सम्झौतामा क्रिकेट क्लबका तर्फबाट अध्यक्ष आदित्य पराजुलीले र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख जीवन पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।  सम्झौतापत्रमा खेलमैदान २५ वर्षको लिज क्लबलाई दिने र क्लबले मैदान प्रयोग गरेबापत क्याम्पसलाई वार्षिक  ५० हजार प्रदान गरिने उल्लेख छ । उहाँले यो खेलमैदान पर्यटनमैत्री बनाउनका लागि वरिपरि जारकाण्डलगायत फूलजन्य एक सय ५० बोटविरुवासमेत लगाइएको बताउनुभयो । उहाँले विगतमा लागुऔषध दुव्यर्सनीहरुको अखेडा भएको स्थानलाई क्रिकेट मैदान बनाउन पाएकामा गौरव लागेको बताउनुभयो । 

वडाध्यक्ष सुब्बाले खेलमैदान बनाउन सुरु भएसँगै नेपाल भारत मैत्रीसँगका तर्फबाट भारतको पश्चिम विहार गलगलिया र भद्रपुरमा रहेको क्रिकेट टिमबीच खेल खेलाउन भारतीय दूतावासले आग्रह गरेर ५ लाख रुपैयाँ समेत विनियोजन गरिसकेको बताउनुभयो । उहाँले सो खेलका लागिसमेत तयारी भइरहेको जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट