+

राष्ट्रियसभा अध्यक्ष र स्वीस नेसनल काउन्सिलका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ ।  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्वीजरल्यान्डको नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमरबीच भेटवार्ता भएको छ ।

अन्तर–व्यवस्थापिका सङ्घको महासभामा भाग लिन जेनेभा पुग्नुभएका अध्यक्ष दाहाल र स्वीस नेसनल काउन्सिलका अध्यक्ष एरिकबीच भएको भेटमा उहाँहरुबीच द्विपक्षीय र आर्थिक सम्बन्ध, अन्तर्राष्ट्रिय मुद्दा, बहुपक्षीय सहयोगबारे छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यस अवसरमा नेपालको शान्ति प्रक्रियामा स्वीस सरकारबाट भएको सहयोगको स्मरण गर्दै उहाँहरुबीच विचार–विमर्श भएको थियो । अध्यक्ष दाहालले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियामा स्वीस सरकारले महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै नेपाली जनताका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घ, आइपियू लगायत बहुपक्षीय मञ्चमा दुई देशका साझा धारणा, सहयोग र सहकार्यको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा स्वीट्जरल्यान्डसँग काम गर्न नेपाल सधैँ तयार रहेको बताउनुभयो । प्रत्यक्ष लोकतन्त्र र सङ्घीयताको अभ्यासमा स्वीट्जरल्यान्ड विश्वकै सफल उदाहरण भएको चर्चा गर्दै उहाँले भन्नुभयो– ‘सङ्घीय गणतन्त्रका रुपमा भर्खरै अभ्यास गरिरहेको नेपाल स्विट्जरल्यान्डका असल अभ्यास बुझ्न र सिक्न प्रयासरत छ । हामी लोकतन्त्रको सुदृढीकरण र लोकतान्त्रिक संस्थालाई जनस्तरसम्म सुदृढ गर्न प्रयास गरिरहेका छौँ ।’

राज्यको शासकीय संरचनामा सीमान्तकृत वर्गको सहभागिता गराउन समावेशी सिद्धान्त लागू गरिरहेको उल्लेख गर्दै उहाँले सङ्घीय संसद् र प्रदेशसभामा ३३ प्रतिशत तथा स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनुभयो । ‘शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी हामी दिगो शान्ति, स्थायित्व र विकासको लक्ष्यतर्फ अघि बढेका छौँ’ अध्यक्ष दाहालले भन्नुभयो– ‘नेपालको शान्ति प्रक्रियालाई पूर्णता दिन स्वीस सरकारको महत्वपूर्ण सहयोग हुनेछ भन्ने हामीले अपेक्षा लिएका छौँ ।’

सङ्घीय संसद्ले नेपाल–स्वीट्जरल्यान्ड संसदीय मैत्री समूह गठन गरेको जानकारी दिँदै अध्यक्ष दाहालले मैत्री समूहले दुई देशका संसदीय अनुभव, अभ्यास, सहकार्य र आपसी सहयोगका लागि संवादको ढोका खोलेको बताउनुभयो ।  स्वीट्जरल्यान्ड नेपालको एक प्रमुख विकास साझेदार भएको बताउँदै उहाँले भन्नुभयो– ‘स्वीस सरकारले प्रदान गर्दै आएको विकास सहयोगमा नेपाललाई प्राथमिकतामा राखी निरन्तरता दिनुभएकामा स्वीस जनता र सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । स्व.ीस विकास सहयोगले नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ ।’

स्वीस नेसनल काउन्सिलका अध्यक्ष एरिकले नेपाल र स्वीट्जरल्यान्डबीचको सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै आइपियूको महासभाका सन्दर्भमा नेपाली समकक्षीलाई स्वीजरल्यान्डमा भेट्दा आफूलाई खुशी लागेको बताउनुभएको संसद् सचिवालयले जनाएको छ ।

नेपालले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन कानुन पारित गरेकामा बधाई दिँदै अध्यक्ष नसबाउमरले कानुन कार्यान्वयनमा लैजानका निम्ति आफूहरु आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । ‘शान्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक कानुन पारित गर्नुभएकामा बधाई दिन चाहन्छु’ उहाँले भन्नुभयो– ‘कानुन कार्यान्वयनका क्रममा आवश्यक सहयोगका लागि हामी तयार छौँ ।’

नेपालले नयाँ संविधानमार्फत सङ्घीय शासन प्रणाली अवलम्बन गरेकामा खुशी व्यक्त गर्दै उहाँले सङ्घीयताको कार्यान्वयनमा पनि स्विस सरकारको सहयोग हुने बताउनुभयो । 

नेपाल पर्यटकीय दृष्टिकोणले निकै सम्भावनायुक्त देश भएको चर्चा गर्दै अध्यक्ष नसबाउमरले नेपालको पर्यटन प्रवद्र्धन र हवाई सेवाको गुणस्तर एवं विकासमा स्वीस सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट