गण्डकी ।
‘महँगी बढेर सेक्यो ढाड पनि
गरिबै रुवाउन आउँछन् चाड पनि
रित्तो भकारीकसो गरी उम्काम्ला पाहुनालाई खै के टकारी....’
गायिका लक्ष्मी गौतमद्वारा स्वरबद्ध यो गीतले भने झैँ सबैका घरआँगनमा दशैँ उमङ्ग लिएर भित्रिदैन । कसैका लागि दशैँ कहर बनेर आइपुग्छ । कोहीका निमित्त रहर । महँगीको मार खेप्न बाध्य निम्न वर्गीय परिवारको दुःखसाह्रोलाई गीतले चित्रित गरेको छ ।
गायिका गौतम र गायक विष्णु खत्रीले गाएको दशैँ गीत ‘रित्तो भकारी....’ले गरिबी र अभावको दुष्चक्रमा फसेको परिवारका लागि चाडवाड कसरी दशा बनेर आइपुग्छन् भन्ने देखाउँछ । शब्द, सङ्गीत र अभिनयको जीवन्त प्रस्तुतिले गीत जोकोहीलाई यथार्थपरक बोधगम्य लाग्छ । गीतले भन्छ –
‘मन हुन्छ अमिलो खल्ती छाम्दा नि
दुई पैसा कहीँबाट छैन आम्दानी
दशैँ आइसक्यो
रित्तो गोजी, रित्तै छ भकारी
परान खाइसक्यो....’
गायक खत्रीलाई दशैँ गीतका पर्याय भन्दा अतियुक्ति नहोला । ‘रित्तो भकारी...’ उहाँको सत्रौँ दश गीत हो । विसं २०६४ यता खत्रीले सालिन्दा दसैँगीत सार्वजनिक गर्दै आउनुभएको छ । उहाँको पहिलो दसैँगीत ‘सुनको जलप....’ हो । जुन गीत उबेला चर्चित बनेको थियो । ‘यसपालिको दशैँ गीतले देशको वर्तमान अवस्था र नेपाली समाजको मनोदशालाई चित्रित गर्ने प्रयास गरेको छ’ उहाँले भन्नुभयो ।
सत्र वर्षका अन्तरालमा पनि खत्रीका हरेक दशैँ गीतका विषय, अन्तर्य र भावभूमि करिब उस्तै छन् । उहाँका प्रायः गीतमा प्रवासिएका नेपाली र तिनका स्वजनका दुःख–बेदना समेटिएको पाइन्छ । खत्रीका गीतले चाडबाड आएको छनक पनि दिन्छन् ।
मार्मिक सिर्जना र ग्रामीण परिवेशको झ–झल्को खत्रीका दशैँ गीतका विशेषता हुन् । समाजका गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन खत्री पारङ्गत हुनुहुन्छ ।
‘हरेक सिर्जनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास मबाट हुन्छङ खत्रीले भन्नुभयो– ‘दशैँ गीतले मलाई भिन्नै चिनारी दिएको छ, कतिपय स्रोताले त विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ भनेर रमाइलो ढङ्गले प्रेरित पनि गर्नुहुन्छ ।’ दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय उहाँका दसैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक हुँदै आएका छन् ।
गत वर्षको दसैँमा खत्रीले ‘दसैँ–तिहार गाउँमा....’ ल्याउनुभएको थियो । त्यसअघि उहाँका ‘दशैँ–तिहार सँगै मनाउँला...’, ‘रिनै रिनको...’, ‘दशैँमा आउ प्यारा...’, ‘जहाजको टिकट...’, ‘कति रुनी हो....’लगायत गीत सार्वजनिक भएका थिए । दशैँ गीतमा उहाँले विभिन्न गायिकाहरुसँग सहकार्य गर्दै आउनुभएको छ । प्रायः सबै गीतमा शब्द र सङ्गीत पनि गायक खत्रीकै रहेको छ ।
दशैँको छेकोमा गायक खत्रीसहित कैयन गायकगायिकाका दशैँ गीत युट्युबमा छाइरहेका छन् । कतिपय गीत सार्वजनिक हुने क्रममा छन् । केही दशैँगीत युट्युब ‘ट्रेन्डिङ’समेत उक्लेका छन् । कुनै गीतमा परदेशीका पीडा छचल्किएका छन् भने कुनै गीतमा दशैँले गाउँघरमा ल्याउने रौनकको चित्रण छ । गायक पुरुषोत्तम पौडेल र गायिका सुनिता बुढा क्षेत्रीको ‘आयो है दशैँ आयो...’ गीतमा दसैँमा गृहथलो फर्किन लागेका परदेशी र उनलाई घरमा पर्खिरहेका स्वजनको सम्वाद छ । परदेशी भन्छन् –
‘मनमा खुशी उमङ्ग छाउँदैछु
पाँच वर्षपछि म नेपाल आउँदैछु
आयो है दशैँ आयो
नाच्न र गाउन रमाउन मन लाग्यो...’
घरमा रहेकी उनकी जीवनसाथी भन्छिन् –
‘भित्ताको पात्रो फेरेको फेरै छु
तिम्रै मूलबाटो हेरेको हेरै छु
आयो है दशैँ आयो
नाच्न र गाउन रमाउन मन लाग्या....’
वर्षौँपछि दशैँमा घर फिरेका परदेशीको खुशी एकातिर, अर्कातिर दशैँमा घर आउन नपाएकाको पीडा । गायक ऋषि खड्का र गायिका तुलसी विकको दशैँ गीत ‘परदेशी हरायो’ले यही भनिरहेको छ । दशैँमा घर आउन नपाउँदा परदेशीको मन यसरी कुँडिन्छ –
‘तिम्रो जुनी फेर्नु थ्यो त्यस्तै भो
यो साल पनि आइन घर यस्तै भो
दशैँ आयो तिहारै आयो
परदेशी हरायो...’
दशैँका बेला परदेशीको पखाईको पीडा गीतमा यसरी पोखिन्छ –
‘प्यारा तिमी हङकङ मलाय
यता घर जमारा पलाए
दशैँ आयो तिहारै आयो....”
गायक हेमन्त शर्मा र गायिका मेलिना राईको ‘आउँथ्यो दशैँ आउन त पहिले नि....’ गीतलाई पनि दर्शक÷स्रोताले रुचाएका छन् । नौ दिनअघि सार्वजनिक ्गीतको चलदृश्यलाई युट्युबमा १२ लाखभन्दा बढीपटक हेरिएको छ । युट्युबमा सबैभन्दा धेरै हेरिएकोमध्ये गीत दोस्रो स्थानमा पर्न सफल भएको छ । गायक ईश्वर सिंह र गायिका सुनिता बुढा क्षेत्रीले दसैँगीत ‘हाँसे पुग्छ, बोले पुग्छ...’ ल्याउनुभएको छ ।
गायक बसन्त थापा, कुलेन्द्र विश्वकर्मा, पशुपति शर्मा र गायिका समीक्षा अधिकारीले गाएको दसैँगीत ‘शुभकामना दशैँको...’ केही दिनअघि सार्वजनिक भएको छ । अधिकांश दशेँ गीतले आजको नेपाली समाजको मनोदशालाई समेटेका छन् । ‘सम्झाना गाउँघर..’ गीतमा गायक अमृत बराल र गायिका रञ्जिता विश्वकर्माले झैँ –
‘कोही घरदेशमा कोही परदेशमा भइयो टाढा–टाढा
जहाँ छौँ हामी त्यही बसेर मनाऔँ चाडबाड
आइहाल्यो चाडबाडको लर्को
आइहाल्यो सम्झना गाउँघरको....”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते
- दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
- सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर