म्याग्दी ।
छोरी - ‘पराइ घरमा दुःख पाएकी छोरीलाई के लाउँछ,
आमा तिम्रो सम्झनाले मुटु जलाउँछ ।’
आमा - ‘धेरै अत्यास लाग्यो भने फोनमा होला बोलनी
अहिलेको तीजमा त छोरी आउनी होला नि’
यी भाका मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा आयोजित तीज विशेष कार्यक्रममा आमा छोरीको सन्दर्भमा स्थानीयले गाएका हुन् । महिलाहरुको महान् पर्व हरितालिका तीजका अवसरमा स्थानीय लाल युवा क्लब, भगवती र शिवालय आमा समूहले संयुक्त रुपमा महिला दिदीबहिनीका लागि दर खुवाउने कार्यक्रम आयोजना गरिएको थियो । विवाह गरेर पराइ घरमा गएकी छोरी र तीजमा छोरीको पर्खाइमा रहनुभएकी आमाबीचको भालाकुसारीलाई गीतमार्फत प्रस्तुत गरिएको थियो ।
रातै सारिमा सजिएका महिला कोही गाउने, कोही नाच्ने लहरमा थिए । गाउन र नाच्न नमान्नेहरु ताली बजाएर साथ दिइरहेका थिए । गाउँका अगुवा पुरुष आमाछोरीको दोहोरीमा मादल बजाएर साथ दिइरहेको दृश्यले नेपाली मौलिक तीज पर्व मनाउने पुरानो चलनको आभास दिएको थियो ।
दुई आमा समूहबीचमा भएको दोहोरी प्रस्तुतिले कार्यक्रममा सहभागी भएका सबैको मन जितेको लाल युवा क्लबका पूर्वअध्यक्ष समेत रहनुभएका स्थानीय राष्ट्रिय जनजागृति माविका प्रधानाध्यापक टेक राम्जालीले बताउनुभयो ।
‘कार्यक्रममा पुरानो भाकामा दिदीबहिनीहरुले दोहोरी गाउनुभयो, दोहोरीमा महिलाका पीर, वेदना र भावना पोखिए, नाच्दानाच्दै कतिपयको आँखा पनि रसाए, हामीले पनि साँच्चिकै तीज विशेष कार्यक्रम भएको महसुस गर्यौँ’ उहाँले भन्नुभयो । पछिल्लो समय तीज विशेष कार्यक्रमहरु खर्चिलो र भड्किलो बनिरहेको सन्दर्भमा तीजलाई सामूहिक र मौलिक तरिकाले मनाउने वातावरण सिर्जना गर्न कार्यक्रमले सघाएको राम्जालीको भनाइ छ ।
पछिल्लो समय तीज पर्वमा भित्रिएको विकृति र विसङ्गितलाई हटाउन म्याग्दीमा मौलिक र रचनात्मक ‘तीज गीत प्रतियोगिता’ आयोजना हुन थालेका छन् । अखिल नेपाल महिला सङ्घ म्याग्दीले मङ्गलबार बेनीमा आयोजना गरेको खुल्ला तीज गीत प्रतियोगितामा ३१ टोलीको सहभागिता थियो । प्रतियोगितामा सहभागी महिलाहरुले महिला सशक्तीकरणको विषयमा आफ्ना प्रस्तुति राखेका थिए । म्याग्दी लगायत क्षेत्रमा गुञ्जने पुराना भाकामा सहभागीहरुले तीज गीत प्रस्तुत गर्दा कार्यक्रम सङ्गीतमय बनेको थियो ।
प्रतियोगितामा मङ्गला गाउँपालिका–१, कुहुँकी हिरा किसान प्रथम, क्षत्री समाज म्याग्दी द्वितीय, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दी तृतीय, गणेशथान आमा समूह जलजला–७, मिलनचोक पर्वत र जामुनाखर्क मावि अर्थुङ्गेकी गरिमा परियार सान्त्वना हुनुभएको छ । विजयी टोलीलाई नगद क्रमशः १० हजार, रुसात हजार, पाँच हजार र तीनरतीन हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको सङ्घका सचिव देवकुमारी पुनले जानकारी दिनुभयो ।
तीज पर्वका अवसरमा आयोजना गरिएका प्रतियोगिताले पुराना र मौलिक भाकाहरुको संरक्षण गर्न सघाउ पुर्याएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताउनुभयो । कार्यक्रममा निर्णायकको भूमिका निभानुभएका जिसीले तीज गीत प्रतियोगिताले जिल्लामा रहेका पुराना र मौलिक भाकाको संरक्षण र प्रवर्द्धन गर्न सघाउनाका साथै साङ्गीतिक उत्सवमा पर्व मनाउने वातावरण सिर्जना गरेको उल्लेख गर्नुभयो ।
‘पहिला ठाउँठाउँमा तीज मेला लाग्ने गथ्र्यो, ती मेलामा तीज गीत प्रतियोगिता आयोजना हुन्थ्यो । आजभोलि मेलामा खेलकुद गतिविधि र सङ्गीतको ‘ट्र्याक’मा गीत गाउने प्रचलन बढी छ’ उहाँले भन्नुभयो । तीजका अवसरमा जिल्लाको विभिन्न ठाउँमा परम्परागत मेला लाग्दै आएका छन् । ती मेलामा परम्परागत रुपमा हुने महिलाको प्रत्यक्ष तीज गीत प्रतियोगिता भने हुन छाडेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते
- दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
- सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर