कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका–१ की ६० वर्षीय पद्मादेवी धामी शनिबार कुरेर बस्नुहुन्छ । शनिबारका दिन घोडाघोडी–१ सुखडमा देउडा खेल्ने कार्यक्रम हुने भएकाले उहाँ कुरेर बस्नुहुन्छ ।
धामीले भन्नुभयो– ‘अछामकी छोरी हुँ, पहिले पहिले पहाडमा देउडा खेलिन्थ्यो । तराई आएपछि खेल्ल छोडिएको थियो, आजभोलि शनिबार हाटबजारमा देउडा खेल लाग्दोरहेछ, त्यसैले सहभागी हुन जान्छु ।’ धामी जस्तै घोडाघोडी–८ की धनसरा जोशी पनि प्रत्येक शनिबार देउडा खेल्न जानुहुन्छ । ‘यो खेल लाग्न सुरु भएदेखि प्रत्येक शनिबार यहाँ आउने गरेकी छु’ उहाँले भन्नुभयो ।
विभिन्न मेलामहोत्सवको आयोजना गरिने सुखड बजारको हेलिप्याडमा शनिबारका दिन एकातिर किसानले तरकारी बेचिरहेका हुन्छन् भने अर्कोतिर देउडा खेल लागिरहेको हुन्छ ।
पद्मा र धनसरा जस्तै घोडाघोडी नगरपालिका भित्रका देउडा पारखीहरु प्रत्येक शनिबार आउने दिन कुरेर बसिरहेका हुन्छन् । ताजा तरकारीसँगै विभिन्न किनमेल पाइनाका साथै देउडा खेलेर मनोरञ्जन पाइने स्थानीय डम्बर विष्टले बताउनुभयो । यहाँ देउडा शुरु भएसँगै व्यापारमा पनि वृद्धि भएको व्यवसायी लक्ष्मी चौधरीले बताउनुभयो । ‘रमाइलो हेर्दै व्यापार गर्न पाइन्छ । मङ्गलबार पनि हाटबजार लाग्छ, तर शनिबार देब्बर बढी व्यापार हुन्छ’ उहाँले भन्नुभयो ।
हाटबजारमा किसानले बिहान १० बजेदेखि तरकारी बेच्ने गर्दछन् । शनिबार भने दिउँसो ३ बजेपछि देउडा खेल्ने गरिएको घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताउनुभयो । गत माघदेखि हाटबजारमार्फत नियमित रुपमा देउडा सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो । देउडा खेल सञ्चालन भएसँगै किसानलाई व्यापारमा केही फाइदा पुगेको बताउँदै गौतमले यसले व्यापारका साथै देउडा संस्कृतिको संरक्षण गरिरहेको उल्लेख गर्नुभयो । घोडाघोडीसँगै जिल्लाको बर्दगोरिया गाउँपालिका, लम्किचुहा नगरपालिकास्थित गुलरामा पनि हाटबजारमाफर्त देउडा संस्कृति जोगाउने गर्दै खइएको उहाँको भनाइ छ ।
हाटबजारमा देउडा लाग्ने दिन स्थानीयको घुइँचो लाग्ने गरेको बौनियाबजार व्यवस्थापन समितिका अध्यक्ष अमर बमले बताउनुभयो । ‘संस्कृति बचाऊ’ भन्ने उद्देश्यका साथ एक वर्षदेखि निरन्तर रुपमा हाटबजारमा देउडा खेलाउँदै आइएको उहाँको भनाइ छ । ‘यहाँ आइतबार र बिहीबार हाटबजार लाग्ने गर्दछ । बिहीबार देउडा खेलाउने गर्दछौँ’ अध्यक्ष बमले भन्नुभयो । देउडा खेल्नका लागि धनगढी, अत्तरिया, लम्की, महेन्द्रनगरका देउडा कलाकारलाई पनि निमन्त्रणा दिने गरिएको उहाँले जानकारी दिनुभयो । संस्कृतिको संरक्षणसँगै व्यापार र मनोरञ्जन पनि हुने भएकाले यसलाई निरन्तरता दिइएको अध्यक्ष बमको भनाइ छ ।
देउडा सुदूरपश्चिम क्षेत्रमा महत्वपूर्ण खेलका रुपमा मानिएको भन्दै यसको संरक्षण गर्नु सबैको दायित्व रहेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसमेत रहनुभएका संस्कृतिविद् टिएन जोशीले बताउनुभयो । यसरी हाट बजारमार्फत देउडा संस्कृतिलाई जोगाउनु सकारात्मक पहल भएको उहाँको भनाइ छ ।
उपकुलपति जोशीले हाट बजारमा मात्र नभई विद्यालय, क्याम्पसहरुमा पनि संस्कृति संरक्षण र संवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । ‘युवालाई संस्कृति संरक्षणमा प्रेरित गर्नुपर्छ । यसका लागि विद्यालय स्तरबाट सहभागी गराउँदै लैजानुपर्छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते
- दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
- सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर