+

विश्वका लोकबाजा सङ्ग्रह गर्न भवन निर्माण

बागलुङ ।  बागलुङको तङ्ग्राममा विश्वका लोकबाजा सङ्ग्रह गर्नका लागि सङ्ग्रहालय भवन निर्माण गरिएको छ । विश्वका लोक बाजा सङ्ग्रह गरेर संरक्षण, लोकबाजाको अनुसन्धानसँगै अवलोकन गर्ने पर्यटक भित्र्याउने उद्देश्यका साथ तीन वर्षअघि निर्माण थालिएको सङ्ग्रहालय भवनले अहिले आएर पूर्णता पाएको छ । 

काठेखोला गाउँपालिका–३ तङ्ग्रामस्थित धारागाउँमा गाउँमैत्री अक्षयकोषद्वारा गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण गरिएको सांकृतिक लोक बाजा सङ्ग्रहालय भवन निर्माण सम्पन्न भएर उद्घाटनको तयारीमा पुगेको छ । विसं २०७८ फागुन १७ गते शिलान्यास गरिएको सङ्ग्रहालय भवनको साढे तीन तला पक्की भवन सारङ्गीको आकृतिमा निर्माण निर्माण गरिएको छ ।  

भवन निर्माण गर्नका लागि प्रदेश सरकारले तीन आर्थिक वर्षमा १ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको थियो भने  १५ लाख रुपैयँँको श्रमदानमार्फत उक्त भवन निर्माण गरिएको गाउँमैत्री अक्षयकोषका अध्यक्ष चयन्द्रबहादुर थापाले बताउनुभयो । 

 भवनमा अहिले देशकै ठूलो दाबी गरिएको दुई सय ८० किलोको नगरा राखिएको छ ।  सङ्ग्रहालयमा बुद्ध पूर्णिमा जेठ १० गतेको दिन बुद्धको मूर्तिसमेत प्रतिष्ठा गरिने थापाले बताउनुभयो । उहाँले दशेकै ठूलो नगरा विधिवत्रुपमा बजाएर सङ्ग्रहालयको उद्घाटन गरिने योजना रहेको बताउनुभयो । 

‘लोक बाध्य सङ्ग्रहालयमा देशकै ठूलो नगरा राखिएको छ, नगरासहित नेपाली लोकबाजा र विश्वका सबै बाजा सङ्ग्रह गरेर लोक बाध्य सङ्ग्रहालयको रुपमा विकास गरिने छ’ थापाले भन्नुभयो– ‘अहिले केही विदेशका बाजासमेत आउने क्रममा छन्, २०८६ सालसम्म विश्वका बाजा अवलोकन गर्न विदेशी पर्यटक आउने र पञ्चकोट र ढोरपाटनलाई जोडेर पर्यटकीय केन्द्र बनाउने हाम्रो बृहत्तर योजना रहेको छ ।’

नगरा बजाउनका लागि स्थानीय नगर्र्चीद्वय जगरबहादुर परियार र सरबहादुर परियारलाई नियुक्तिसमेत गरिएको छ । लोपोन्मुख विश्वका मुख्य लोकबाजा सङ्ग्रह गर्ने उद्देश्यले स्थापना गरिएको गाउँमैत्री अक्षयकोष (जिमाक) संस्थाको अगुवाइमा सुविधा सम्पन्न साढे तीन तलाको भवन निर्माण गरिएको छ । स्थानीयले निःशुल्क प्रदान गरेको तीन रोपनी जग्गामा सुविधा सम्पन्न भवनसँगै शौचालय बनाइएको छ भने तारबार गर्नेलगायतको काम बाँकी रहेको छ । 

सारङ्गीको नमूनामा निर्माण सम्पन्न भएको भवन र देशकै ठूलो नगरा अवलोकनका लागि आन्तरिक पर्यटक समेत आउन थालिसकेको लोक बाजा सांस्कृतिक सङ्ग्रहालयका परिकल्पनाकार हेमराज आश्रमले जानकारी दिनुभएको छ ।

 ‘मुख्य भवन निर्माण गरेर उद्घाटन गर्न थाले पनि सांस्कृतिक सङ्ग्रहालयले पूर्णता पाउन अझै पाँच वर्ष लाग्नेछ, यो करोडौँको परियोजना हो, विदेशी बाजा झिकाउने कार्य भइरहेको छ, अहिले फ्रान्स, एसिया र युरोपका केही बाजा आइसकेका छन्’ आश्रमले भन्नुभयो– ‘विश्वकै चर्चित पर्यटकीयस्थल ढोरपाटन र धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोटलाई जोडेर सङ्ग्रहालयलाई पर्यटकीय हब बनाइने छ, यसलाई नयाँ टुरिजम सर्किटको रुपमा विकास गरिनेछ ।’

सङ्ग्रहालय भवन परिसरमा पार्क निर्माण गर्ने, तारबार गर्नेलगायतका अन्य सहायक पूर्वाधारको काम बाँकी रहेको छ । विश्वभर रहेका विभिन्न देशका प्रमुख बाजासँगै नेपालका सबै लोकबाजाको सङ्ग्रह गरिने आश्रमले जानकारी दिनुभयो । साथै देशकै ठूलो नगरालाई गिनिज बुकमा नाम लेखाउने प्रक्रियामा दाबी पेश गरेको उहाँले जानकारी दिनुभएको छ । 

‘नेपालका लोकबाजा यहाँ देख्न सकिन्छ, जुन लोपसमेत हुन थालेका छन्”, उहाँले भन्नुभयो । सङ्ग्रहालयले लोकबाजाको पहिचान दिलाउँदै लोकबाजाको अध्ययन तथा अनुसन्धानस्थलका रुपमा समेत आफूलाई चिनाउने उहाँको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले तङ्ग्राममा रहेको सांकृतिक लोकबाजा सङ्ग्रहालयले समग्र बागलुङलाई विश्वभर चिनाउने बताउनुभयो । उहाँले प्रचारप्रसारका लागि गाउँपालिकाले सहयोग गर्ने जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट