
चितवन । चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा आएको छ ।
प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गत माघ २२ गतेदेखि बन् भएको उद्योग आजदेखि संचालन गरिएको हो । किसानको दूध नबिकेपछि प्रशोधन गरिएका सामग्री सम्बन्धित संस्थाले लैजानेगरी उद्योग सञ्चालनमा ल्याइएको हो ।
उद्योग सरसफाइ गरेर सञ्चालन गरिएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले बताउनुभयो । बीस हजार लिटर दूध आइसकेको छ । उद्योग सञ्चालन गर्न ४० हजार लिटर दूध आवश्यक पर्दछ । धेरै संस्थाले फोन गरिरहेकाले थप दूध आउने भएपछि मेसिन तताउन थालिएको उहाँले जानकारी दिनुभयो ।
उद्योगले दूध प्रशोधन गरेर उत्पादन हुने धुलो दूध र बटर लैजान भनेको छ । प्रशोधन गरेबापत उद्योगले शुल्क लिने गर्दछ । यसअघि नै डेरी एशोएिएसन, सहकारी, निजी डेरी, फार्मलाई उद्योगले पत्र पठाएर आजबाट उद्योग सञ्चालन हुने जानकारी गराएको थियो ।
उद्योगले डेरी, सहकारी र व्यावसायिक फार्मको दूध भाडामा प्रशोधन गर्दै आएको छ । पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छाडेपछि भण्डारमा थन्किएसँगै राख्ने ठाउँको अभावमा उद्योग बन्द भएको थियो ।
प्रबन्धक पराजुलीका अनुसार ७५ करोड रुपैयाँभन्दा बढीको प्रशोधन गरिएका नौनी र धुलो दूध भण्डारणमा थन्किएको छ । पाँच सय टन नौनी घ्यू भण्डारणमा रहेको भन्दै उहाँले उद्योगमा तीन सय र ५०–५० टनका तीनवटा चिस्यान केन्द्र तथा तिनका चार प्यासेज घ्यूले भरिएका जानकारी दिनुभयो । पाउडर दूधले गोदाम, क्यान्टिन, घ्यू तथा दही बनाउने ठाउँ, चिनीको गोदाम, कपडा फेर्ने ठाउँ सबै भरिएको छ ।
२०६४ सालमा स्थापना गरिएको उद्योग २०७२ को विनाशकारी भूकम्पपछि बन्द भएको थियो । २०७५ सालदेखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो ५५ रुपैयाँ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ ।
३१ वटा डेरी उद्योग, निजी फार्म र सहकारीको दूध भण्डारण भएर बसेको छ । अब दूध ल्याउनेले सामग्री तयार भएसँगै तुरुन्तै लैजाने शर्तमा काम गर्न थालिएको हो । पछिल्लो समय दूधको खपत नहुँदा किसान समस्यामा परेका छन् । उद्योग सञ्चालन भएसँगै केही हदसम्म किसान लाभान्वित हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह