
सुर्खेत । कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह शुरु गरेको छ । विषादीको प्रयोग बढ्दै गएको भन्दै यसको प्रयोगलाई घटाउन बिहीबारदेखि एक सातासम्म विषादीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै सप्ताह शुरु गरिएको हो ।
सप्ताह कार्यक्रमको प्रारम्भ गर्दै भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले वातावरणलाई स्वच्छ राख्नुपर्ने बताउनुभयो । उहाँले कर्णाली प्रदेशलाई ‘अग्र्यानिक’ प्रदेश बनाउने प्रदेश सरकारको योजना कार्यान्वयन शुरु भएको बताउनुभयो ।
पछिल्लो समय मुटु, मिर्गौलाका बिरामी बढ्दै गएको उल्लेख गर्दै यसको प्रमुख कारण रासायनिक विषादीको प्रयोग भएको मन्त्री शर्माले बताउनुभयो । ‘मुटु र मिर्गौलासँगै क्यान्सरका बिरामी बढिरहेका छन्, यसको प्रमुख कारण भनेको रासायनिक विषादीको प्रयोग र त्यसबाट उत्पादन भएको खाद्य वस्तु हो, त्यसैले विषादीको प्रयोगलाई घटाउन अभियान नै चलाएका हौँ’ मन्त्री शर्माले भन्नुभयो ।
उहाँले कर्णालीलाई रासायनिक विषादीको प्रयोगबाट मुक्त बनाउन गाउँ–गाउँसम्म सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । अग्र्यानिक प्रदेश बनाउने कर्णाली सरकारको सङ्कल्पलाई अब व्यावहारिक कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाई छ ।
मन्त्रालयका सचिव डा नरहरिप्रसाद घिमिरेले रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको उल्लेख गर्दै यसको निराकरण गर्न कर्णालीबाट सुरुआत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर्णाली प्रदेशलाई अग्र्यानिक प्रदेश बनाउन सके देशलाई नै सिकाइ हुने उल्लेख गर्दै विषादीको सट्टा अन्य विकल्प खोज्नुपर्ने बताउनुभयो ।
सप्ताहव्यापी कार्यक्रममा जनचेतनामूलक प्रसारप्रसार, जैविक विषादी र पासोजन्य सामग्रीको प्रदर्शन तथा वितरण, विषादीसम्बन्धी विद्यालयमा विभिन्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो । उहाँले विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह