
बाँके । हुलाकी राजमार्गअन्तर्गत बाँकेको राप्ती नदी सिधनिया घाटमा ७ सय मिटर लामो पक्की पुल निर्माण शुरु भएको छ ।
नेपालगञ्ज–बघौडा हुलाकी सडकको सिधनिया घाटमा रहेको पुल साँघुरो, वर्षामा बाढीको जोखिम हुने भएपछि त्यहाँ ७ सय मिटर लामो र ११ मिटर चौडाइको नयाँ पक्की पुल निर्माण थालिएको हो । करिब डेढ वर्षअघि भौतिक पूर्वाधारमन्त्री भएको बेला नेता मोहम्मद इश्तियाक राईले राप्ती नदीको सिधनिया घाटमा र डुडुवा खोलामा पुल निर्माण तथा विभिन्न सडक निर्माणको योजना स्वीकृत गर्नुभएको थियो । त्यही योजनाअनुसार अहिले पुल निर्माण शुरु गरिएको निर्माण कम्पनीले जनाएको छ ।
२०८४ साल असार मसान्तसम्ममा सम्पन्न गर्नेगरी विसं २०७९ माघमा सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर राजेश पटेलले बताउनुभयो । उहाँका अनुसार अहिले निर्माण भइरहेको पुलको दुवैतर्फ एक दशमलव ७५ मिटर फुटपाथ निर्माण गरिने छ । भ्याटसहित एक अर्ब २० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माणाधीन पुलको पाइलिङ र जाली बुन्ने काम भइरहेको इन्जिनियर पटेलले जानकारी दिनुभयो ।
सिधनिया घाटमा रहेको पुल साँघुरो र छोटो भएकाले लामो पुल निर्माण गर्न लागिएको पूर्वमन्त्री राईले बताउनुभयो । अहिले सञ्चालनमा रहेको पुलबाट एउटा गाडीमात्र ओहोरदोहोर गर्न मिल्ने भएकाले यहाँका जनताले लामो र आधुनिक पुलको माग गर्दै आएका उहाँको भनाई छ ।
यसअघि बाढी बग्ने ठाउँमा सडक भएकाले हरेक वर्ष आउने बाढीले सडकका साथै कल्भर्ट समेत बगाउने गरेकामा पुल बनेसँगै समस्या अन्त्य हुने स्थानीय बताउँछन् । पुल निर्माण सम्पन्न भएपछि नदीपारिका राप्ती सोनारी र नरैनापुर गाउँपालिकालाई आवागमनमा सहज हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह