
कैलाली । ऐतिहासिक महत्व बोकेको महाशिवरात्रिको अवसरमा धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा आज दर्शनार्थीहरूको घुइँचो लागेको छ ।
बेहडाबाबा मन्दिरमा पूजाआजा गर्नका लागि बिहीबार राति १२ बजेदेखि नै भक्तालुहरू आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिनुभयो । कैलाली, कञ्चनपुर लगायत प्रदेशका विभिन्न जिल्लाका मानिस यहाँ दर्शनका लागि आएका छन् । यो मन्दिरको बेग्लै महत्व रहेको छ ।
त्यस्तै छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी यहाँ आउने गरेका छन् । उनीहरूमा यहाँ आएर मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास रहिआएको छ । बेहडाबाबा मन्दिरको दर्शनले मनमा शान्ति एवं इच्छाएको कुरा पुग्ने हुँदा यहाँ प्रत्येक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्डलगायतका विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार पाँचदेखि आठ लाख भक्तालुले पूजा गर्ने अनुमान गरिएको छ । मन्दिर परिसर नजिकै मेलाको पनि आयोजना गरिएको छ । मेलामा यहाँका नेपालीमात्रै नभएर भारतका व्यवसायीसमेत केही दिनअघिबाटै यहाँ आएर विभिन्न पसल सञ्चालन गरेका छन् ।
महाशिवरात्रिकै अवसर पारेर बेहडाबाबा मन्दिरमा हेलिकप्टरद्वारा पुष्प वर्षा र सवा दुई करोड बत्ती प्रज्ज्वलन गरिँदै छ । मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा बिहान ११ देखि १२ बजेको समयमा हेलिकप्टरबाट पुष्प वर्षा गराइने र अपराह्न ४ बजे सवा दई करोड बत्ती प्रज्ज्वलन गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिनुभयो ।
हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलोपटक हेलिकप्टरबाट पुष्प वर्षा गरिन लागिएको उहाँले बताउनुभयो । कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउन प्रचारप्रसार गर्न हेलिकप्टरबाट पुष्प वर्षा गराउन लागिएको आयोजकको भनाई छ ।
पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टिमले १४ लाख ९ हजार ९ सय ५० रुपैयाँ सङ्कलन गरेको छ । पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत ११ लाख र तीन क्विन्टल फूलको २ लाख गरी जम्मा १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकको भनाइ छ ।
पुष्प वर्षासँगै महाशिवरात्रिमा भक्तजनका लागि महाभण्डारा समेत चलाइएको छ भने उपस्थित सम्पूर्ण भक्तजनलाई निःशुल्क खाना र पानीको व्यवस्था गरिएको छ । धाममा भक्तजनलाई जान आउनदेखि दर्शन तथा पूजापाठ गर्नसम्मका लागि सम्पूर्ण तयारी गरिएको छ । आवतजावतका लागि बसको व्यवस्था र कडा सुरक्षाकोे व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह