
लमजुङ। पहाडी जिल्ला र हिमालपारिको जिल्ला भनिर चिनिने मनाङ जिल्ला जोड्ने एकमात्र बेँसीसहर–चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ । सडक जोखिम बढ्दै गएपछि यस सडकअन्तर्गत नासोँ गाउँपालिका–९ दानाक्यु नजिकै सडक मर्मतका लागि आज दिउँसो २ बजेदेखि आइतबार बिहान १० बजेसम्मका लागि सडक बन्द हुने भएको हो ।
सडकको ढलान भत्किएर अत्यन्तै जोखिम रहेकाले र वैकल्पिक सडक नभएकाले बन्द गरेर मर्मत गर्ने हुँदा उक्त समयसम्मका लागि यातायात पूर्णरुपमा थप्प हुने भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले एक सूचना जारी गरेको छ । डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीले दानाक्यु नजिकै कल्भटको वरिपरि भत्किएको र बाटोमा ढुङ्गा निस्किएकाले मर्मत गर्न लागिएको बताउनुभयो । सवारी साधन सञ्चालनमा धेरै समस्या हुन थालेपछि उक्त ठाउँमा सामान्य मर्मत हुने भए पनि वैकल्पिक सडक नहुँदा यस सडक नै बन्द गर्नुपर्ने भएको उहाँको भनाइ छ ।
नासोँ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले दानाक्युमा सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम धेरै रहेको जानकारी दिनुभयो । उहाँले विशेष गरी आफ्ना पालिकाका नागरिक र मनाङवासीलाई सो सडकका कारण धेरै दुःख भइरहे पनि समाधान हुन नसकेको बताउनुभयो । उक्त स्थानमा रहेको काठेपुल २०७७ असारमा आएको बाढीले बगाएपछि पुनः पटकपटक काठेपुल राखे पनि जोखिम हुँदै आएपछि २०७८ फागुनदेखि चैत ५ गतेसम्म बेँसीसहर चामे सडक बन्द गरेर कल्भर्ट राखिएको थियो । यतिबेला उक्त कल्भर्ट राखिएको वरिपरि तथा ढलान गरिएको भागमा ढुङ्गा खसेर भत्किनुका साथै सडक जीर्ण भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ ।
मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरूप २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली–तनहुँ शाखाले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो । नेपाली सेनाले २०६९ सालमा सडक निर्माण गरी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो । उक्त सडक ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा