
पर्वत । लामो समयदेखि वर्षा नहुँदा हिउँदे बाली प्रभावित बनेका छन् । कृषकहरुले लगाएको आलु, गहुँ, जौ, तोरी लगायतका हिउँदे खेतीको उत्पादन ह्वात्तै घटेको पाइएको छ ।
पाँच महिनासम्म वर्षा नहुँदा किसानले लगाएको बाली र लगाउन नपाएको बालीनालीको उत्पादनको अवस्थालाई मध्यनजर गर्दा करोडौको नोक्सानी पुग्ने अवस्था देखिएको छ । यतिवेला खेतमा मकैवाली लगाउने बेला भएको छ । तर वर्षा नहुँदा धान काटेपछि बाँझै रहेको खेत जोत्न समेत नपाएको कृषकहरुले गुनासो गरेका छन् । व्यावसायिक तरकारी खेती गरेका कृषकसमेत खडेरीका कारण नष्ट भएको गुनासो गरेका छन् । लामो समयको खडेरीले कृषकलाई ठूलो समस्या परेको पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका कृषक रामप्रसाद सापकोटाले बताउनुभयो । खेतमा मकै लगाउने बेला भइसके पनि वर्षा नहुँदा बाँझै राख्नुपरेको उहाँले बताउनुभयो । गत असोजको अन्तिम सातापछि यस क्षेत्रमा वर्षा भएको छैन ।
जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका अनुसार विशेष गरी हिउँदे बालीनालीमा खडेरीले असर पु¥याएको छ । सिँचाइ सुविधा भएका र नभएका दुवै ठाउँमा उत्पादनमा निकै कमी आएको वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम अधिकारीले बताउनुभयो । उहाँका अनुसार बालीनाली उम्रिसकेपछि सिँचाइ गर्ने एउटा संवेदनशील अवस्था हुन्छ, त्यो समयमा सिँचाइ गर्न सकिएन वा वर्षा भएन भने बालीनाली मर्ने र उत्पादन नदिने समस्या हुने भएकाले सिँचाइ अनिवार्य गर्नुपर्दछ । ‘सिँचाइ भएका ठाउँमा पनि वर्षा भयो भने उत्पादन झनै बढ्छ’ अधिकारीले भन्नुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले यो बेलामा जमिनको आँत भिज्ने गरी वर्षा भइदिने हो भने अब लगाउने बालीनालीमा धेरै सहयोग हुने बताउनुभयो । चिस्यानबिना जोतिएका खेतमा डल्ला आउने र डल्लामा परेको मकै नउम्रिने भएकाले उत्पादनमा ह्रास आउन सक्ने उहाँको भनाई छ ।
आकाशे वर्षाको भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएको गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्नेले ठूलो नोक्सानी व्यहोर्नुपरेको केन्द्रले जनाएको छ । तेलहन बालीमा मात्र ३० प्रतिशतभन्दा बढीले उत्पादनमा कमी आउने उहाँको अनुमान छ । लहरेबालीसमेत समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी कृषक मारमा परेका छन् ।
उहाँका अनुसार जिल्लाको पातीचौर क्षेत्र र मिलनचोक क्षेत्र तथा दक्षिण पर्वतमा रहेका विभिन्न खोलाको नजिकका खेतबारीमा बाहेक सबै ठाउँमा खडेरीले असर परेको छ । कतिपय ठाउँमा बालीनालीनै लगाउन पाएका छैनन् भने कतिपय ठाउँमा लगाएको बालीनालीनै सखाप भएपछि कृषक समेत चिन्तित बनेका छन् । अर्कोतर्फ पानीको वैकल्पिक स्रोत समेत खडेरीका कारण सुकेपछि चैते धानका लागि बीउ राख्न समेत नपाएको कृषकले गुनासो गरेका छन् ।
जिल्लामा करिब आठ हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको भए पनि खोला सुकेका कारण सिँचाइ नहरमा पानी बन्द हुँदा झनै समस्या भएको छ । सानातिना मूलको भरमा खेतीपानी गर्दै आएका कृषक खडेरीका कारण मूल नै सुकेपछि झनै चिन्ता थपिएको शङ्करपोखरीका कृषक कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे– ‘मकै, चैते धान, बर्खे आलु, रोप्ने बेलासम्म पनि पानी नपरेपछि समस्यामा भएको छ ।’
यो महिनाभरिमा वर्षा नहुने हो भने मकै खेती र लहरेबालीसमेत उत्पादन नहुने कृषि ज्ञान केन्द्रले जनाएको छ । खडेरीले यस वर्ष पर्वतमा खाद्यान्न उत्पादनमा ठूलो मकी आउने कृषि ज्ञान केन्द्रको अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा