
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ भने विमानस्थल भएर हवाईयात्रा गर्ने यात्रुको सङ्ख्या पनि वर्षेनी बढिरहेको छ ।
विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी समेत बढ्दो छ । विमानस्थलका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ११ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । चालु आवमा १३ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिइएको विमानस्थलले अहिलेसम्म ६अर्ब ७६ करोड रुपैयाँ राजस्व उठेको उल्लेख गरेको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थल पूर्णक्षमतामा सञ्चालनमा आएको, अन्तर्राष्ट्रिय हवाई यात्रु बढेको तथा विमानस्थल सुधारका समग्र प्रयासबाट राजस्व क्रमशः बढिरहेको उल्लेख गर्नुभयो । विमानस्थलले यात्रुसेवा शुल्कबापत, कोठा र सटर बाहल तथा जहाजको अवतरण, बिसानलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ ।
विमानस्थलले आव २०७७ /०७८ मा २अर्ब ४६ करोड रुपैयाँ राजस्व उठाएको थियो । कोभिड–१९ का कारण त्यो वर्ष राजस्व घटेको विमानस्थलले उल्लेख गरेको छ । कोभिडपछि विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या पनि बढ्दो क्रममा छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैगरी कुल ८६ लाख ९१ हजार ४ सय ४३ यात्रुले हवाईयात्रा गरेका छन् । सन् २०२२ मा यो सङ्ख्या ७९ लाख ५४ हजार ४ सय ९५ थियो । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । एक वर्षमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार एक सय ३७ ले हवाईयात्रा गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले बढी हो । आन्तरिकतर्फ हवाईयात्रा गर्नेको सङ्ख्या ४१ लाख ५० हजार ३ सय २६ पुगेको छ ।
कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार ९ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए । यो सङ्ख्या कोभिड–१९ अघि सन् २०१८ को भन्दा ४ दशमलव ५ प्रतिशतले बढी रहेको विमानस्थलले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ नौ एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् भने अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन् ।
नेपालले हाल ४२ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ । पछिल्लोपटक गत माघ २३ गते नेपाल र स्वीट्जरल्याण्डबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा