
तनहुँ । आँबुखैरेनी गाउँपालिका १ स्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत सपना भट्टलाई छात्रवृत्तिको रुपमा बाख्राको पाठी पाउँछु भन्ने कल्पनै थिएन । उहाँले छात्रवृत्तिका रुपमा नगद वा शैक्षिक सामग्री पाउने अनुमान गर्नुभएको थियो ।
कक्षा ८ मा अध्ययनरत भट्टलाई छात्रवृत्तिको रुपमा पाठी पाउँदा नौलो लागेकोे उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले त छात्रवृत्तिमा नगद वा शैक्षिक सामग्री दिएको पढेका, देखेका थियौ । तर विद्यालयले हामीलाई बाख्राको पाठी छात्रवृत्तिको रुपमा दिएको छ ।”
कक्षा ७ मा अध्ययनरत रोजना रोकालाई पनि छात्रवृत्तिको रुपमा पाठी पाउँदा नौलो अनुभूति भएको छ । उहाँले भन्नुभयो, “छात्रवृत्तिको रुपमा बाख्राको पाठी पाएपछि नयाँपन लाग्यो ।”
छात्रवृत्तिको रुपमा नगद वा शैक्षिक सामग्री दिने परम्परालाई परिवर्तन गर्दै विद्यालयले तनहुँ जिल्लामै पहिलो पटक बाख्राको पाठी प्रदान गरेको हो ।
विद्यालयले तीन जना विद्यार्थीलाई छात्रवृत्तिको रुपमा बाख्राको पाठी वितरण गरेको प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिनुभयो । नगद वितरण गर्दा छिटो खर्च हुने र पुनः उहीँ समस्या दोहोरिने भएकाले विद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने उद्देश्यले छात्रवृत्तिमा पाठी वितरणको अभियान सुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीलाई आयआर्जनसँग जोड्न पहिलो पटक पाठी वितरण अभियान सुरु गरिएको हो । पैसा दिँदा खर्च हुने र अर्को वर्षपनि उही विद्यार्थीलाई दिनपर्ने अवस्था आउँछ । पाठी दिएपछि विद्यार्थीको परिवारलाई समेत आयआर्जनमा जोड्न सकिने विश्वास लिएका छौँ ।”
प्रधानाध्यापक बोगटीका अनुसार कक्षा ८ मा अध्ययनरत सपना भट्ट, कक्षा ७ मा अध्ययनरत रोजना रोका र कक्षा ६ मा अध्ययनरत सृष्टि गुरुङलाई छात्रवृत्तिका रुपमा एक÷एक वटा पाठी वितरण गरिएको छ ।
विद्यालयमा स्थापना गरिएको दुई वटा छात्रवृत्ति कोषबाट प्राप्त रु २१ हजारमा तीन वटा उन्नत बाख्राको पाठी खरिद गरिएको उहाँको भनाइ छ । बोगटीले भन्नुभयो, “बोर र जमुनापारी जातका बाख्राको पाठी छात्रवृत्तिको रुपमा उपलब्ध गराएपछि विद्यार्थी र अभिभावक प्रत्यक्षक रुपमा लाभान्वित हुनेछन् ।”
उक्त छात्रवृत्ति काराखेती अस्मी स्मृति र गाउँवेशी कृषि अनुसन्धान केन्द्रबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि उपलब्ध भएको थियो ।
छात्रवृत्ति वितरणलाई प्रभावकारी र दिगो बनाउन, दीर्घकालिन रुपमा आयआर्जनसँग जोड्न सुरु गरिएको अभियान प्रभावकारी हुने विश्वास लिइएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसले विद्यार्थीलाई आयआर्जन जोड्न सहयोग पुग्छ ।”
‘भात होइन थाल दिऔँ: माछा होइन जाल दिऔँ’ भन्ने यथार्थलाई व्यवहारमा कार्यान्वयनका लागि यो प्रयास फलदायी हुने चुमानको भनाइ छ । उहाँले भन्नुभयो, “बालबालिकाको शिक्षा प्राप्त गर्ने संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रयास स्वरुप यो कार्य शुभारम्भ भएको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा