
काठमाडौँ । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभ्सविरुद्ध २१४ रनको कीर्तिमानी जित हात पारेको छ । जितका लागि २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स जम्मा १३ रनमै अल आउट भएपछि नेपालले २१४ रनको कीर्तिमानी जित हात पारेको हो ।
जितको लागि २२८ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमा अल आउट भयो । माल्दिभ्सकी सुमाया अहमदले सर्वाधिक ५ रन बनाइन् । माल्दिभ्सका ६ खेलाडी शून्यमा आउट भए । यो नेपालको महिला टी(२० आईमा सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि २०२१ मा कतारविरुद्ध ११९ रनको जित नै सर्वाधिक ठूलो अन्तर थियो ।
नेपालको जितमा अश्मिना कर्माचार्यले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिइन् । पूजा महतोले ३ ओभरमा २ मेडनसहित २ रन खर्चेर ३ विकेट लिइन् । रुविना क्षेत्रीले ३.५ ओभरमा २ रन खर्चेर ३ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । नेपालकी पूर्वकप्तान रुविना क्षेत्री बेलबासेले ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनको अविजित शतकीय इनिङ खेलेकी थिइन् । पूजा महतो ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रनमा नट आउट रहिन् ।
पाँचौं विकेटका लागि रुविना र पूजाले ८२ बलमा १६६ रनको अविजित साझेदारी गरेका थिए । रुविना नेपालबाट महिला कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी समेत बनेकी छिन् । नेपालले महिला टी-२० आईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो । यसअघि २०२१ नोभेम्बरमा तेस्रो महिला टी-२० आई खेलमा कतारविरुद्ध नेपालले १६४ रन बनाएको थियो ।
नेपालकी ओपनर कविता कुँवर १३, सीतारानामगर १५, इन्दु बर्मा डक र डली भट्ट ६ रनमा आउट भइन् । माल्दिभ्सकी शम्मा अलीले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिइन् । नब्बा बिन्थु नसिमले १ विकेट लिइन् । नेपालले यसअघि भुटान र हङकङलाई समान ८ विकेटले हराएको थियो ।
नेपाल समूह डी बाट ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ । क्वाटरफाइनलमा नेपालले समूह ए को उपविजेता कुवेतसँग खेल्नेछ ।
हङकङ ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वाटरफाइनल पुगेको छ । क्वाटरफाइनल, सेमिफाइनल हुँदै फाइनलमा पुग्ने दुई टोलीले यस वर्ष हुने महिला टी(२० एसिया कप खेल्न पाउनेछन् ।
समूह ए मा थाईल्यान्ड २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । कुवेत दोस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै