
नवलपुर । कावासोती नगरपालिका वडा नम्बर ६ का गङ्गाधर न्यौपाने साँझबिहान गोठमा र दिउँसो कक्षा कोठामा व्यस्त रहनुहुन्छ । पेशाले शिक्षक रहे पनि न्यौपानेले चार वर्षदेखि व्यावसायिक पशुपालन गरेर कृषि क्षेत्रमा आफूलाई सफल बनाउनुभएको छ ।
गौरादेवी नवीन कृषि तथा पशु फार्म दर्ता गरी व्यावसायिक पशुपालन गर्नुभएका न्यौपाने कावासोती नगरपालिकाको उत्कृष्ट किसानका रूपमा पुरस्कृत पनि हुनुभएको छ । ‘ ६ वटा भैँसीबाट शुरु भएको मेरो व्यावसायिक पशुपालन अहिले २७ भैँसी र गाई भएका छन्’ उहाँले भन्नुभयो– ‘मासिक ३५ सय लिटर दूध बिक्री गर्ने गरेको छु ।’
स्नातकसम्मको अध्ययन पूरा गर्नुभएका ३५ वर्षीय न्यौपानेले दिउँसो कावासोती–४ मा रहेको सरस्वती माविमा अध्यापन गर्नुहुन्छ । पछिल्लो समय कृषि पेसामा युवाको आकर्षण घटेको समयमा उहाँले ३५ लाख रुपैयाँको लगानीबाट पशुपालन शुरु गरेको बताउनुभयो ।
‘बाबुबाजेदेखि गर्दै आएको पेशालाई मैले व्यावसायिक रूप दिएको हुँ । शिक्षण कार्यबाट बचेको समय सदुपयोग भएको छ’ न्यौपानेले भन्नुभयो– ‘पशुपालन व्यवसायलाई अझ टिकाउन गत वर्षदेखि आफ्नै दुग्ध डेरी पनि सञ्चालन गरेको छु ।’
पशुको स्याहारसुसारदेखि व्यवस्थापनमा आफैँ खटिने गर्नुभएका न्यौपानेले अहिले दुई जनालाई रोजगारी दिनुभएको छ । बैंकको ऋणबाट सुरु गरेको पशुपालनले अहिले लगानी कटाएर प्रशस्त आम्दानी दिन थालेको न्यौपानेले बताउनुभयो । सबै खर्च कटाएर मासिक २ लाख रुपैयाँ सम्म बचत हुने उहाँले जानकारी दिनुभएको छ । विद्यालयमा गणित विषय पढाउने न्यौपानेको अहिले दुई परिचय बनेको छ । बिहान साँझ कृषकको रूपमा परिचय बनाउनुभएका उहाँले दिउँसो शिक्षकको रूपमा पहिचान स्थापित भएको छ ।
बिहान विद्यालय जानुभन्दा अगाडिसम्म श्रीमतीसहित गोठको काममा खटिने जनाउँदै न्यौपानेले दिउँसोका लागि पनि कामको प्रबन्ध गरेर विद्यालय जाने गरेको बताउनुभयो । ‘बिहान तीन बजे उठेर गोठमा खटिन्छु’ उहाँले भन्नुभयो– ‘ १९ वटा गाईभैँसी अहिले दुहुना छन् । श्रीमती र म मिलेर दुहुनदाहान सकेर दूध बिक्रीका लागि लैजान्छौँ ।’ कावासोती बजारमा दूध डेरी खोलेका छौँ । त्यहाँबाट मासिक सात हजार पाँच सय लिटर दूध बिक्री हुने गरेको छ ।’
गाईभैँसीका लागि आवश्यक पर्ने दाना, पराल आफैँले तयार पार्ने गरेको न्यौपानेले बताउनुभयो । करिब तीन बिघा जमिनमा उन्नत जातका घाँस लगाइएको उहाँको भनाई छ । पराल र हरियो घाँस मिलाएर दानापानी व्यवस्थापन गर्ने गरेको न्यौपानेले बताउनुभयो । पशुपालनमा विगतमा केही समस्या पर्ने गरेको भए पनि अनुभव र योजनाले हिजोआज सहज भएको उहाँको भनाई छ ।
‘मसँगै पशुपालन शुरु गरेका नगरपालिका क्षेत्रका ११ जना युवा साथी यो पेशाबाट पलायन भइसक्नुभयो’ न्यौपानेले भन्नुभयो– ‘सबै कामदार मात्रै लगाएर पशुपालन गर्छु भन्ने हो भने सफल भइदैन । आफू पनि नियमित काममा खटिने हो भने असफल हुनुपर्दैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै