
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले सुशासनलाई पार्टीको मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले देशको विकासका लागि कांग्रेसले सुशासनलाई पार्टीको मूल मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताउनुभएको हो । महामन्त्री थापाले पछिल्लो समय संविधानमाथि प्रहार गर्ने कोसिस भइरहेको बताउनुभयो । ‘संविधानमाथि आक्रमण भइरहेको छ, यस्ता अवरोध बेलाबेलामा आइरहन्छन्, यस्ता अवरोधसँग जुध्दै जाने हो चिर्दै जाने हो’ उहाँले भन्नुभयो । उहाँले काठमाडौँमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको भन्दै काठमाडौँलाई अगाडि बढाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले स्थानीय निकाय र पार्टीबीच समन्वय हुन नसकेको आम गुनासो रहेको भन्दै त्यसलाई चिर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचारी जोगाउनका लागि सरकार लाग्न नहुने बताउनुभयो । ‘दोषी उम्कनुहुन्न, निर्दोष फस्नुहुन्न, भ्रष्टाचारी, ठग भिआईपी हुँदैन’ उहाँले भन्नुभयो ।
महामन्त्री थापाले सुशील कोइरालाको दृढता र लचकताका कारण संविधान निर्माण भएको बताउँदै अग्रज नेताको आस्था, निष्ठा र नैतिकताबाट पछिल्लो पुस्ताले पाठ सिक्नुपर्ने बताउनुभयो । कांग्रेस नेता प्रदीप पौडेलले काठमाडौँका जनताले पार्टीले गरेको मूल्याङ्कनका आधारमा निर्णय लिने गरेको स्मरण गर्नुभयो । उहाँले २०४८ सालपछि नेपालमा धेरै विकास भएको उल्लेख गर्नुभयो । ‘आम जनताको गुनासो छ, देशमा सुशासन हुन सकेन, भ्रष्टाचार नियन्त्रण हुन सकेन भन्ने छ, त्यसलाई कांग्रेसले गम्भीर भएर सोच्नुपर्छ’ उहाँले भन्नुभयो ।
नेता पौडेलले स्वास्थ्य, शिक्षा र न्याय आम नागरिकले खोजेको भन्दै त्यो दायित्व पूरा गर्न कांग्रेस लाग्नुपर्ने बताउनुभयो । उहाँले पार्टीका नेता होइन कार्यकर्ताले टिकट दिने व्यवस्था बनाउनुपर्ने बताउनुभयो । काठमाडौँका जिल्ला सभापतिलाई कांग्रेसले टिकट दिन नसकेको उहाँको भनाई छ ।
कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नीति अधिवेशनले सङ्गठनलाई चुस्त, दुरुस्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘अब देश र जनताले खोजेकोजस्तो पार्टी बनाउनका लागि नीति अधिवेशनले आवश्यक बाटो पहिल्याएर अगाडि बढ्नुपर्छ’ उहाँले भन्नुभयो ।
कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले जनप्रतिनिधि र पार्टीका बीचमा समन्वय नहुँदा समस्या परेको बताउनुभयो । पार्टीभित्र देखिएको तित्ततालाई एकतामा ल्याउनका लागि सबै लाग्नुपर्ने उहाँको भनाई छ । प्रदेश सभापति बानियाले टिकट दिने पद्धतिमा परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै