
बागलुङ । बसाइँरसाइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोगको अभियान थालेको छ ।
नगरपालिकाले बाँझो जग्गामा रहेका कुकाठ हटाइ सुक्खा फलफूलखेतीका लागि स्थानीयलाई प्रेरित गर्दै आएको छ । फलस्वरुप नगरपालिकाका तित्याङ, मालिका, सिगाना र रायडाँडालगायतमा ओखर र किबीखेती शुरु गरिएको हो ।
बसाइँसराइलगायतका कारणले जनशक्ति अभावसँगै खेतीयोग्य जमिन बाँझिदै गएको छ । बाँझो जग्गामा उम्रेका रुख तथा झाडी हटाएर ओखर र किबीखेती गर्न थालिएको हो । वडा नम्बर ९ तितङमा २ वर्षदेखि फलफूल प्रवद्र्धनात्क कार्यक्रम गर्दै आएको नगरपालिकाले यसवर्ष ओखर खेती सुरु गरेको हो । तित्याङको ४२ रोपनी खेतीयोग्य जग्गामा ओखरखेतीका लागि २ सय ५० बिरुवा लगाइसकिएको नगरपालिकाले जनाएको छ । सिगाना, मालिका र रायडाँडामा कूल एक सय ५० रोपनी जग्गामा पहिलो चरणमा ओखरखेती शुरु गरिएको नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
‘पहिलो चरणमा ओखरखेती गरिएको र दोस्रो चरणमा किबीखेतीका लागि स्थानीयलाई बिरुवा वितरण गर्ने नगरपालिकाको योजना छ’ प्रमुख श्रेष्ठले भन्नुभयो– ‘यसको उद्देश्य बाँझो जग्गा सदुपयोगसँगै स्थानीयवासीलाई आयआर्जनमा जोड्नु हो ।’ चालु आर्थिक वर्षमा २० लाख ४० हजार रुपैयाँबाट ओखर र किबीखेती विस्तार गर्न थालिएको नगरपालिकाका आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले बताउनुभयो ।
सिँचाइको समस्या रहेका स्थानमा फलफूलखेती राम्रो गर्न सकिने भएकाले स्थानीयलाई त्यसतर्फ अग्रसर गराइएको नगरपालिकाका कृषि प्राविधिक राहुल केसीले बताउनुभयो । ‘गाउँमा धेरै जग्गा बाझिँदै गएको छ, बाँझो जग्गामा फेरि खाद्यबाली लगाउन समस्या हुन्छ, उब्जानी थोरै हुनेभएपछि किसान खाद्यबालीमा आर्कषित छैनन्’ उहाँले भन्नुभयो– ‘फलफुलखेतीमार्फत स्थानीयलाई गाउँमै टिकाउने प्रयास पनि हो ।’
फलफूल प्रबद्र्धन तथा ड्राइफ्रुट खेती विस्तार अभियान अन्तर्गत ७० प्रतिशत नयाँ बिरुवा लगाउने र ३० प्रतिशत पुरानो बगैँचा व्यवस्थापन गर्न सकिने केसीको भनाई छ । नगरपालिकाले यसवर्ष लगाउने भनेको १ हजार ५ सयमध्ये २ सय ५० बिरुवा लुम्बिनी वल्र्ड पिस फोरमले उपलब्ध गराएको हो । तित्याङमा २ सय ५० ओखरका बिरुवा लगाइएको छ । मालिकामा ५ सय ओखरका बिरुवा लगाउन पठाइएको छ । ओखरका विरुवा सुक्खा फलफुल विकास केन्द्र बैतडीबाट ल्याइएको केसीको भनाई छ ।
सुक्खा फलफूल खेती अभियान प्रत्येक वडामा क्रमशः लागू हुने नगरपालिकाले जनाएको छ । प्रत्येक वडाको भूगोल र हावापानी सुहाउँदो फलफूलका बिरुवा रोप्ने कार्यक्रम अन्तर्गत समुद्र सतहदेखि १ हजार ५ सय मिटरभन्दा माथिल्लो भागमा सुक्खा फलफूलखेती गर्न थालिएको छ । ओखरले ५ वर्षमा उत्पादन दिन थाल्ने कृषि प्राविधिक बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै