+

सगरमाथा संवाद तयारीका लागि हिमाली टक गरिँदै

काठमाडौँ । सङ्घीय सरकारले आउने जेठ २ देखि ४ गतेसम्म आयोजना गर्ने सगरमाथा संवादको पूर्वतयारीका रूपमा हिमाली टक आयोजना गरिँदै छ । वैशाख ९ र १० गते जुम्लाको खलङ्गामा हुने हिमाली संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहको समस्या उठाइने छ ।


सगरमाथा संवादको सचिवालयसँगको समन्वयमा सेभ द चिल्ड्रेन, युथ एलाइन्स फर इन्भायरोन्मेन्ट (वाइएई), कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (क्रिडाक) लगायत विकास साझेदारसँगको सहयोग र सहकार्यमा हिमाली संवाद हुन लागेको हो । यसमा सीमान्तीकरणबाट प्रभावित बालबालिका, युवा र हिमाली समुदायहरूलाई अनुभव आदानप्रदान गर्न, आफ्ना विशेष आवश्यकता व्यक्त गर्न र बाल–संवेदनशील जलवायु समाधानका लागि वकालत गर्न मञ्च प्रदान गर्नेछ ।

स्थानीय मुद्दालाई राष्ट्रिय मञ्चसँग जोड्दै, हिमाली संवादले हिमाली समुदायहरूभित्र एक प्रमुख मञ्चका रूपमा काम गर्ने वाइएइका अध्यक्ष सनोत अधिकारीले जानकारी दिनुभयो । ‘सगरमाथा संवादको बृहत् एजेन्डा ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ सँग मेल खाने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिगत वार्तामा समुदायका आवश्यकता अर्थपूर्ण एकीकरणका लागि बालबालिका र युवाका लागि स्थान र आवाज उठाइनेछ’ उहाँले भन्नुभयो ।

हिमाली संवादका मुख्य उद्देश्य बालबालिका र युवाको आवाजलाई बुलन्द गर्ने, उमेर–संवेदनशील जलवायु नीतिको वकालत गर्ने, स्थानीय वास्तविकतालाई विश्वव्यापी जलवायु ढाँचाहरूसँग जोड्ने र सफल समुदाय–नेतृत्वका जलवायु पहल प्रदर्शन गर्ने छन् ।

संवादमा कर्णाली प्रदेशका हिमाली समुदायका बालबालिका, आदिवासी र सीमान्तकृत समुदाय, महिला र किशोरी, हिमाली क्षेत्रमा कार्यरत नागरिक समाज सङ्गठन, विकास साझेदार, संयुक्त राष्ट्रसङ्घीय निकाय, सरकारीतर्फका सहभागी, स्थानीय सरकारका प्रतिनिधि र नीति निर्माता, प्रदेश र सङ्घीय सरकारबाट प्रतिनिधित्व गरी करिब एक सय ५० जनाको सहभागिता रहने छ । जलवायु परिवर्तन र वातावरणीय ह्रासले बालबालिका तथा हिमाली क्षेत्र जोखिमपूर्ण बन्दै गएको विज्ञ बताउँछन् ।

वातावरणीय क्षति र उत्सर्जनमा नगण्य योगदान गरे तापनि, यी क्षेत्रका बालबालिकाले यसका विनाशकारी परिणामको सबैभन्दा बढी मार खेपिरहेका छन् । नेपालका हिमाली समुदायमा, बालबालिकाले जलवायु परिवर्तनका चरम मौसमी घटना, वायूप्रदूषण र पानीजन्य रोगको सामना गरिरहेका छन्, जसले उनीहरूको जीवन रक्षा, शिक्षा, संरक्षण र समग्र कल्याणमा असर पारिरहेको छ । त्यस्ता प्रभावित समुदायको न्यायका लागि आवाज बुलन्द गर्न हिमाली संवाद आयोजना गर्न लागिएको क्रिडाकका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले जानकारी दिनुभयो ।

विसं २०७८ को जनगणना अनुसार मुलुकको कूल जनसङ्ख्याको ३३ दशमलव आठ प्रतिशत बालबालिका छन् । नेपाल भूगोल र सामाजिक–आर्थिक चुनौतीहरूका कारण विश्वका सबैभन्दा जलवायु जोखिमयुक्त देशमध्ये एक हो । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर झनै गम्भीर छन् । मौसममा परिवर्तन, हिमनदी पग्लनु र पानीको आपूर्ति घट्नुले पहिरो, बाढी र खडेरीजस्ता विपद्को आवृत्ति बढाउँछ ।

पछिल्ला केही दशकमा नेपालले जलवायुजन्य घटना बढ्दै गएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला विपद्मा सेती बाढी, जुरे पहिरो, मेलम्ची बाढी, कर्णाली÷पश्चिम तराई पहिरो र बाढी, थामे बाढी पहिरो र काठमाडौँ उपत्यका बाढी लगायत रहेका छन् ।

कर्णाली क्षेत्रले बढ्दो खडेरी र चरम पानीको अभाव सामना गरिरहेको छ, जसले कृषि उत्पादकत्व घटाएको छ । यी चुनौतीहरूले जीविकोपार्जनलाई गम्भीर रूपमा कमजोर बनाएका छन् । बसाइँसराइ, कुपोषण, शिक्षामा अवरोध र बालविवाहमा योगदान पु-याएका छन्, जसले बालबालिकामा दीर्घकालीन प्रभावलाई बढाउँदै लगेको क्रिडाकका कार्यकारी निर्देशक शाहीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट