
महोत्तरी । २०८२ प्रारम्भ भएसँगै महोत्तरीका बासिन्दाले यो वर्ष सहकाल हुने आशा गरेका छन् ।
नववर्षको पूर्वसध्या र वैशाख लागेपछि पनि वर्षात् भएपछि अन्नबाली लगाउन उनीहरुमा उत्साह भरिएको छ भने बाली सप्रने उमङ्ग पनि उनीहरुमा छाएको छ । गत चैतको सुरुदेखि नै खानेपानीको समस्या झेल्दै आएका जिल्लाको उत्तरी क्षेत्रका बासिन्दामा पानी परेसँगै खानेपानीको अभाव हटेको छ । पर्याप्त वर्षा भएपछि पानीका मुहान रसाउन थालेका छन् ।
पानी परेपछि बर्दिवास–१४ का रामनरेश महतो दङ्ग हुनुहुन्छ, ‘यसपाली सहकाल आउने आशा जाग्यो, नयाँ वर्षले राम्रै लक्षण देखाएको छ, वर्ष सुरु हुनपूर्वदेखि नै पानी परेको छ’ महतोकै छिमेकी ७५ वर्षीय चन्देश्वर साह भन्नुहुन्छ– ‘दिनको सङ्केत बिहानीले गर्छ भन्छन्, यो वर्षको शुरुमै परेको वर्षाले आशा पलायो ।
बर्दिवास चोकमाथिका पानीखोल्सी, दूधमारा खोल्सी र दाहाल्नी खोल्सीका मुहानमा पनि पानी रसाएको छ । चौध वडा भएको बर्दिवास नगरपालिकामा ५० जति बस्ती छन् । तीमध्ये अधिकांशमा नदी, खोल्साखोल्सीको पानी भण्डारण गरेर धाराबाट वितरण गरिने पानी नै खानेपानीको मुख्य स्रोत हो । बर्दिवासका वडा नम्बर ६, ७, ९, १२ र १३ मा भने खानेपानीको स्रोत इनार छन् । बर्दिवास–१२ का मेघरोल, जुडी र चल्कीमा इनारसँगै चापाकल पनि प्रयोगमा छन् ।
यसैगरी, १२ वटा वडा भएको गौशाला नगरपालिकाका आधा बस्तीमा खोल्साखोल्सी र बोरिङबाट ट्याङ्कीमा भण्डारण गरिएको पानी धाराबाट वितरण प्रणालीबाट आपूर्ति हुँदैछ । गौशालाका अन्य आधा बस्तीमा इनार र चापाकल प्रयोगमा छन् । खानेपानीको समस्या व्यहोर्दै आएको भङ्गाहाका ४ र ५ का वडाका बस्तीमा इनार छन् । ती इनारमा पनि पानी रसाएको छ । ती फागुनदेखि नै सुकेका थिए । इनारमा पानी रसाएपछि गाउँलेहरु दङ्दास छन् ।
पानी परेसँगै किसानका खेतबारीमा उखु, मकै, सागसब्जी लहलहाएका छन् । आँप, लिची र रुखकटहरमा चिचिला पोटिन थालेका छन् । बर्दिवास–७ प्रेमनगरका ७० वर्षीय किसान रामउद्गार महतो जिल्लामा सहकाल प्रारम्भ भएको ठान्नुहुन्छ । खेतीपाती, व्यापार–व्यवसाय र अन्य काममा लाग्न आफूहरुलाई सहज भएको उहाँले बताउनुभयो ।
महोत्तरीको ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये अधिकांश खेती आकासे पानीका भरमा गर्नुपर्दा किसान अब पानी राम्ररी पर्ने आशामा छन् । जिल्लामा खेतीयोग्य जमिनमध्ये १० प्रतिशतमा मात्र स्थायी सिँचाइ सुविध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा