+

भीड नियन्त्रणमा राज्यको ज्यादती : अर्धस्वचालीत हतियारबाट अन्धाधुन्द गोली प्रहार

काठमाडौँ । प्रहरीले चैत १५ मा राजावादीले गरेको प्रदर्शन नियन्त्रण गर्न संयमित भएर आवश्यक मात्र बल प्रयोग गरेको दाबी गर्दै आएको छ । तर घाइतेको लामो सूची, प्रदर्शनमा सहभागी नभएकालाई पनि गोली प्रहार र घातक हतियारको प्रयोगले प्रहरीको नियतमा प्रश्न उठेको छ ।


प्रहरीले भीड नियन्त्रणका लागि प्रयोग गरेको गोलीगट्ठाको तथ्यांक समेत लुकाएको पुष्टि भएपछि थप आलोचना भएको छ ।

राजावादीको प्रदर्शनको केही दिनपछि प्रहरीले घटनाबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको थियो । कार्यक्रममा प्रहरी प्रवक्ता तथा नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले सार्वजनिक गरेका तथ्य प्रहरीले नै आन्तरिक रूपमा तयार पारेको प्रतिवेदनभन्दा फरक छन् ।

भीड तितरबितर पार्ने प्रहरीले युद्धमा प्रयोग गरिने अर्धस्वचालित एसएलआर र इन्सास जस्ता राइफल प्रयोग गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । जुन प्रचलित अभ्यास भन्दा फरक हो । 

पत्रकार सम्मेलनमा प्रहरी प्रवत्ता आचार्यले एसएलआर र इन्सास राइफल प्रयोग गरेको विषय लुकाएका थिए । एसएलआर अर्धस्वचालित बन्दुक हो, जसमा एकसाथ १८ वटासम्म गोली लोड गरेर ३ सय मिटर टाढासम्म प्रहार गर्न सकिन्छ । इन्सास भने एसएलआरभन्दा सानो आकारको आधुनिक अर्धस्वचालित राइफल हो । युद्धमा प्रयोग हुने यी दुवै हतियार घातक मानिन्छन् ।

प्रवक्ता आचार्यले ५८ राउन्ड हवाई फायर भएको दाबी गर्नुभएका थिए । तर प्रहरीको आन्तरिक प्रतिवेदनमा भने एसएलआर र इन्सास राइफलमार्फत ८१ जंगी राउन्ड र १ सय ६५ ब्ल्यांक राउन्ड फायर गरेको उल्लेख छ ।

सर्टगनमार्फत कार्टिज ३ र रबर छर्रा २ सय १ फायर गरेको परिसरको प्रतिवेदनले देखाएको छ । त्यस्तै पेस्तोलबाट २ राउन्ड फायर गरिएको थियो । प्रहरीले भीड नियन्त्रणका लागि लाठी ५९, सिल्ड,ढाल ४९, हेल्मेट ४९, मेघाफोन १, हेन्डसेट १ र फुल गियर ५ वटा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले सार्वजनिक गरेको तथ्यांक र आन्तरिक प्रतिवेदनमा फरक परेको अर्को विषय हो, अश्रुग्यास प्रहार । पत्रकार सम्मेलनमा प्रवक्ता आचार्यले ७ सय ४६ सेल अश्रुग्यास प्रहार गरिएको जनाउनुभएको थियो ।  तर आन्तरिक प्रतिवेदनमा भने ८ सय ६८ सेल प्रहार भएको उल्लेख छ । यी अश्रुग्यास म्याद गुज्रेको पाइएको छ । प्रहरीले फेब्रुअरी २००८ मै म्याद सकिएकोअश्रुग्यास सेलसमेत प्रयोग गरेको थियो । म्याद सकिएको उपकरण प्रयोगलाई मानवअधिकारका दृष्टिले ‘अमानवीय’ मानिन्छ । म्याद गुज्रेका यस्ता उपकरण प्रयोगले सुरक्षा कमजोर हुन्छ भने स्वास्थ्यमा गम्भीर असर पार्छ ।

तर आचार्यले प्रहरीले म्याद भएकै अश्रुग्यास प्रयोग गरेको र म्याद गुज्रेको अश्रुग्यासबारे जानकारी नभएको बताएका थिए । प्रहरीले बल प्रयोग गरेको खुल्ने गरी सामाजिक सञ्जालमा आएका भिडियो पनि झूटा भएको उहाँले दाबी गर्नुभएको थियो ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार २१ जनालाई गोली लागेकोमा एक जना (सविन महर्जन) को मृत्यु भएको छ भने बाँकी घाइते छन्। काठमाडौँ परिसरको गोप्य दस्ताबेज अनुसार घाइते २० जनामध्ये सात जनालाई ‘जंगी राउन्ड’ गोली लागेको छ। बाँकी १३ जनालाई रबरको गोली लागेको हो। जंगी राउन्ड गोली लाग्नेमा बैतडीका २४ वर्षीय आशिष बोहरा, अछामका १९ वर्षीय राजेन्द्र रावल, काभ्रेका २६ वर्षीय रामहरि श्रेष्ठ, खोटाङका ३१ वर्षीय जानसोन राई, खोटाङकै १८ वर्षीय कञ्चन राई,  भोजपुरका २७ वर्षीय डिल्लीप्रसाद लुइँटेल, भोजपुरकै ३० वर्षीय शम्भु दर्जी छन्। 

रबरको गोली र छर्रा लागेर घाईते हुनेमा शान्तिनगर बस्ने ५६ वर्षीय विकासकुमार गौतम, सोलुखुम्बुका २२ वर्षीय विकास निरौला, काठमाडौँका ४७ वर्षीय कुमारजंग राना र धादिङका ३० वर्षीय राजकुमार कार्की छन्। त्यस्तै स्याङ्जाका २५ वर्षीय सुमन गुरूङ, काठमाडौँका ४० वर्षीय राज हुमागाईं र भारतीय नागरिक १८ वर्षीय प्रिल्स कुमार पनि रबरको गोली र छर्रा लागेर घाइते भएका छन्। 

उदयपुरकी २२ वर्षीया रेविका खत्री र उनका दाजु पर्ने २४ वर्षीय दिनेशकमार खत्री पनि रबरको गोली लागेर घाइते भएको प्रहरीको दस्तावेजमा उल्लेख छ। रेविकाको सिभिल अस्पतालमा आईसीयूमा उपचार भईरहेको छ। खत्री दाजुबहिनीलाई कोटेश्वरको भित्री सडकमा गोली हानिएको थियो। प्रहरी प्रवक्ता डीआईजी आचार्यले पत्रकार सम्मेलनमा उनीहरूलाई झुक्किएर गोली लागेको दाबी गरेका थिए। आफ्नो कोठामा पुग्नै लाग्दा उनीहरूलाई पछाडिबाट गोली हानिएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै