
बागलुङ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेका भोजबहादुर बोहरा ५ वर्ष विदेशमा बसेर स्वदेश फर्केपछि गाउँमा नमुना किसानका रुपमा परिचय बनाउँदै हुनुहुन्छ । उहाँले गाईभैँसी, बाख्रा, कुखुरापालन गर्नुका साथै व्यावसायिक तरकारीखेती पनि गरिरहनुभएको छ ।
भोजबहादुरलाई उहाँकी श्रीमतीले साथ दिइरहनुभएको छ । बोहरा दम्पतीले दुधालु भैँसी तीन, एउटा गाई, माउबाख्रा पाँच र कुखुरा १४ वटा पाल्नुभएको छ । बाह्रै महिना दूध बिक्री गर्ने योजनाका साथ पालेका गाईभैँसीले अहिले प्रशस्त आम्दानी दिइरहेका भोजबहादुरले बताउनुभयो । दूधका साथै गोबरलाई मलका रुपमा बेचेर थप आम्दानी गरिरहेका उहाँको भनाइ थियो ।
बिहान उज्यालो नहुँदै बोहरा दम्पती गोठमा पुग्नुहुन्छ । गोठभरिका गाईभैँसी र बाख्रालाई दानापानी दिने, दूध दुहुने, दूध बिक्रीका लागि बजार लैजाने, बारीमा खनजोत गर्नेलगायत कामले दैनिकी बित्ने गरेको बोहरा दम्पती बताउनुहुन्छ ।
भोजबहादुरले तरकारीखेतीका लागि छ वटा प्लाष्टिकका घर निर्माण गर्नुभएको छ । प्लाष्टिकका घरमा फल्ने तरकारीका लागि आवश्यक मल गोठमा बाँधेका पशुचौपायाबाट आउने गरेको भन्दै बारीमा गोलभेँडा, बन्दा, काउली, घिरौँला, करेलालगायत तरकारी फलिरहेका उहाँले जानकारी दिनुभयो ।
चार वर्ष माल्दिभ्स र एक वर्ष साउदी अरेबियामा काम गरेर स्वदेश फर्किनुभएका भोजबहादुरले तरकारी खेती गर्न थालेको १० वर्ष भयो । मासिक ५० हजारदेखि ७० हजार आम्दानी हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मासु, दूध, मल तथा तरकारी मुख्य आम्दानीको स्रोत भएको छन् ।
‘विदेशमा १४ घण्टा खटेर मुस्किलले ४० हजार कमाइ हुन्थ्यो । अहिले परिवारसँगै बसेर, दैनिक १० घण्टा काम गर्दा विदेशमभन्दा बढी आम्दानी भइरहेको छ’ भोजबहादुरले भन्नुभयो– ‘छोराहरुको पढाइ खर्च, जीविकोपार्जन यही पेसाबाट भइरहेको छ । स्वदेशमा काम गर्ने योजना हुनुपर्छ, विदेशमाभन्दा बढी आम्दानी गर्न सकिन्छ ।’
बोहराको तरकारीखेतीको सिको गर्नेले अहिले गाउँमा एक÷दुई वटा प्लाष्टिकका घरमा बनाएर तरकारीखेती गरिरहेका जैमिनी नगरपालिकाका कृषि प्राविधिक रवीन्द्र शर्माले बताउनुभयो । यसरी खेती गरेर सामान्य घरखर्च चलाउनेहरु पालिकामा बढिरहेका उहाँको भनाई छ ।
बोहराले स्थानीय बाँस प्रयोग गरी प्लाष्टिकका घर बनाउनुभएको भन्दै उहाँले स्थानीय जातका तरकारी खेतीलाई प्राथमिकता दिने गर्नुभएको शर्माले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा