
कञ्चनपुर । कञ्चनपुर क्रिकेट खेलाडी उत्पादन गर्ने थलोका रुपमा पनि परिचित छ । अहिले पनि नेपालको राष्ट्रिय क्रिकेट टोलीमा कञ्चनपुरका चार खेलाडी छन् ।
दीपेन्द्रसिंह ऐरीदेखि विनोद भण्डारी, प्रदीप ऐरी, भीम सार्की यहीँका उत्पादन हुन् । कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्तरसम्म छ । तर यहाँ खेल मैदान बनाउने विषय भने प्राथमिकतामा पर्न सकेको छैन ।
महेन्द्रनगरस्थित कबर्डहलमा भएको एउटै खेल मैदानमा क्रिकेट र फुटबल खेल्नुपर्ने बाध्यता छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने कञ्चनपुरका खेलाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपनि जिल्लास्तरमा भने खेल संरचनाको अवस्था भने दयनीय छ ।
कुस्ती, क्रिकेट, फुटबल र भलिबल जस्ता खेलका राष्ट्रिय टिमहरुमा कञ्चनपुरकै खेलाडीको वचस्र्व छ । जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले खेल मैदान नहुँदा प्रतियोगिता गराउन निकै समस्या खेप्नु परेको बताउनुहुन्छ । ‘कुनै प्रतियोगिता सञ्चालन गर्नुप¥यो भने हामीसँग खेल मैदान छैन’ चन्दले भन्नुभयो– ‘कबर्डहलमा एउटा खेल मैदान छ त्यसैमा क्रिकेट, फुटबल सबै खेल खेल्नुपरेको छ ।’
आगामी शुक्रबारदेखि क्रिकेट सङ्घले कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । त्यो प्रतियोगिताका लागि खेल मैदान नहुँदा सुदूरपश्चिम विश्वविद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्नुपरेको छ ।
‘क्रिकेटका खेलाडी उत्पादनका लागि विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ, तर खेल मैदान अभावकै कारण प्रतियोगिता सञ्चालनमा कठिनाइ हुने गरेको छ’ उहाँले भन्नुभयो । क्रिकेट र फुटबलका लागि छुट्टाछुट्टै खेल मैदान हुनुपर्नेमा एउटै मैदानमा खेलाडीले प्रशिक्षण गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
महेन्द्रनगरस्थित कबर्डहल परिसरमा क्रिकेट मैदानका लागि जग्गा रहेपनि मैदान निर्माण हुन सकेको छैन । आर्थिक वर्ष २०७६÷७७ मा राष्ट्रिय खेलकुद परिषद्ले बजेट विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालेपनि अहिले बजेटलगायतका कारणले निर्माण अघि बढेको छैन ।
कबर्डहलमा गुरुयोजना भन्दा बेग्लै केही संरचना बनेका कारण क्रिकेट मैदान बनाउन विनियोजित रु एक करोडभन्दा बढी बजेट माटो भरानमै सकिएपछि बाँकी काम अघि बढ्न सकेको छैन । क्रिकेट मैदान निर्माणस्थलमै जिल्ला खेलकुद विकास समितिले माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिँदा अहिले क्रिकेटमा आएको रकम पोखरी पुर्नमासमेत खर्च भएको देखिन्छ ।
सरकारले भौतिक पूर्वाधार लगायतको सेवासुविधामा ध्यान दिनुपर्ने जिल्ला खेलकुद विकास समितिका सदस्य विकास महता बताउँनुहुन्छ । ‘क्रिकेटमा मात्रै होइन कञ्चनपुरमा फुटबललगायतका अन्य खेलमा पनि राम्रो खेलाडी उत्पादन भइरहेका छन्’ उहाँले भन्नुभयो ।
उहाँले खेलकुद र खेलाडीको विकासमा राज्यको ध्यान नपुग्दा खेलाडी अन्यत्र पलायन हुने अवस्था आएको बताउनुभयो । ‘हरेक खेलमा यहाँका थुप्रै खेलाडी नेपालका विभागीय टिममार्फत राम्रो पदर्शन गरिरहेका छन्’ उहाँले भन्नुभयो– ‘राजनीति नगरी खेलकुदको विकासका लागि सबैले लाग्न जरुरी छ ।’
क्रिकेट फुटबलमा मात्रै होइन अन्य खेलमासमेत प्रशिक्षणका लागि ठाउँ नहुँदा समस्या झेल्नु परेको छ । कुस्तीमा सबैभन्दा बढी मेडल ल्याउनेमा कञ्चनपुर पर्छ । तर कञ्चनपुरमै कुस्ती प्रशिक्षणका लागि संरचना बन्न सकेका छैनन ।
कुस्ती प्रशिक्षण राजेन्द्रबहादुर चन्दले भन्नुभयो– ‘अहिले टाईगन्डोको हलमा प्रशिक्षण गरिरहेका छौँ ।’ उहाँले साँझ बिहानको पालो मिलाएर टाईगन्डोको हलमा प्रशिक्षण गरिरहेको बताउनुभयो । ‘सबैभन्दा बढी पदक प्राप्त गर्नेमा यहीँका खेलाडी छन्, तर यहाँ एउटा पनि प्रशिक्षण केन्द्र बन्न सकेको छैन’ उहाँले भन्नुभयो ।
कुस्ती प्रशिक्षणका लागि गत आर्थिक वर्षमा १० लाख रकम आए पनि सात लाख रुपैयाँ बराबरको मात्रै काम भएको थियो । चालु आर्थिक वर्षमा बजेट नै आउन नसक्दा उक्त प्रशिक्षण केन्द्रको काम अघि बढ्न सकेको छैन ।
महेन्द्रनगरस्थित कबर्डहलको जग्गा जिल्ला खेलकुद विकास समितिले कृषि प्रयोजनका नाममा गुरुयोजना विपरीत प्रयोग गरेपछि खेलाडीले कबर्डहलको खेल मैदान प्रयोग गर्न नपाएको स्थानीय बताउँछन ।
स्थानीय रमेश पन्तले राष्ट्रिय टोली र अन्य विभागीय टोलीमा समेत कञ्चनपुरकै खेलाडीको वचस्र्व रहेको बताउँदै जिल्लास्तरमा खेलका पूर्वाधार नहुनु विडम्बना भएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी