
झापा । महाभारतकालीन कथासँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल किचकबध आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
भद्रपुर नगरपालिका–२ मा १० बिघा जमिनमा फैलिएको यस स्थानमा पुग्नका लागि चन्द्रगढी विमानस्थलबाट दक्षिण १० किलोमिटर रहेको छ । प्राकृतिक दृश्यावलोकनका लागि सुन्दर मेची र देउनिया नदीको दोभानमा अवस्थित किचकबधस्थलमा हाल भीमसेनले किचकलाई बध गरिरहेका दुई मूर्ति छन् ।
२०३८ सालमा निर्मित पुरानो मूर्ति भत्किन थालेपछि उत्तरी भागमा नयाँ मूर्ति बनाइएको किचकबध धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले बताउनुभयो । सतीदेवी, विष्णुपादुका र शिवको मन्दिर पनि यहाँ छ । त्यसका कारण नेपालगञ्ज, जनकपुर, धनुषा, विराटनगर र भारतको विहारबाट यहाँ अवलोकन गर्न तथा वनभोज खानका लागि आउने गरेको उहाँले बताउनुभयो ।
‘यहाँ शनिबार र बिदाका दिन वनभोजका लागि स्थान पाउन मुस्किल हुने गरेको छ’ अध्यक्ष थेबेले भन्नुभयो– विहारसँग सीमा जोडिएको हुँदा दैनिक उतैदेखि पनि घुम्न र वनभोजका लागि पर्यटक आउँछन् ।
बिजुली, खानेपानी र शौचालयको राम्रो व्यवस्था तथा सुरक्षाको दृष्टिकोणले पनि सुरक्षित भएका कारण किचकबधमा पर्यटकको चाप बढेको उहाँको भनाइ छ । त्यहाँ प्रहरीको अस्थायी विट र सेनाको ब्यारेक छ । वनभोजका लागि रु पाँच सय र चिल्ड्रेन पार्क प्रवेशमा ३० रुपैयाँ मात्र शुल्क लिइने गरेको उहाँले बताउनुभयो ।
किचकबध पुग्नका लागि भद्रपुरबाट सगरमाथा चोकसम्म कालोपत्र सडक छ । त्यो स्थानबाट पूर्व एक किलोमिटर ग्राभेल सडक छ । नगरपालिकाले हाल त्यही स्थानमा पुग्न कालोपत्रसहितको ‘रिङरोड’ नै निर्माण गरेको अध्यक्ष थेबेले बताउनुभयो । महाभारत कथामा पाँच पाण्डवकी रानी द्रौपदीमाथि कुदृष्टि राख्ने ‘किचक’ नामको पात्रलाई मारिएको स्थान भएकाले यस ठाउँको नाम ‘किचकबध’ रहन गएको किंवदन्ती छ । यस क्षेत्रमा २ हजार वर्षभन्दा पहिलेको दरबार, किल्ला, पर्खाल, भाँडाकुँडा र इँटा पुरातत्व विभागको उत्खननबाट फेला परिसकेको छ ।
वरिपरि गहिरो खेती हुने कोसौँ टाढासम्मको उर्वर फाँटको बीचमा अग्लो डाँडामा किचकबधस्थल रहेको छ । हरेक वर्ष माघ शुक्ल पूर्णिमाका दिन यहाँ धार्मिक मेला लाग्दै आएको छ भने मेलामा सबै धर्म र सम्प्रदायका मानिसको घुइँचो लाग्ने गरेको अध्यक्ष थेबेले बताउनुभयो ।
पुराणकालीन महाभारत कथाको किंवदन्ती जोडिएको झापाको महत्त्वपूर्ण स्थल भएको हुँदा किचकबधमा पर्यटकीय आकर्षणयुक्त वातावरण बनाउन र भौतिक संरचना निर्माणमा विगतमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले सहयोग गरेको थियो ।
पर्यटक आकर्षित गर्न सक्दा यस क्षेत्रकै विकासमा टेवा पुग्ने भए पनि हाल कहीँकतैबाट सहयोग पाउन नसकेको उहाँको भनाइ छ । समितिले वनभोजस्थल, बाल उद्यान, सामुदायिक भवन, झोलुङ्गे पुल लगायतका संरचना निर्माण भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा