
स्याङ्जा । पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ ।
खेतबारीमा भएका बालीनाली भित्र्याइसकेपछि विशेषगरी पुस–माघका दिनमा फुर्सदिलो समयमा हाते तानको माध्यमबाट गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो । धार्मिक पूजाआजा तथा पितृकार्यमा पनि धानको परालबाट बुनिएका नयाँ गुन्द्री प्रयोग गर्ने चलन थियो । बजारमा आउने प्लास्टिकका गुन्द्री तथा म्याटका प्रयोग बढ्दै जाँदा गुन्द्री बुन्नै छाडिएको वालिङ–८ की सीता सुवेदीले बताउनुभयो ।
‘बजारमा प्लास्टिकका गुन्द्री र म्याट पाइन्छ, तिनकै प्रयोग गर्न थालियो’ उहाँले भन्नुभयो– ‘गुन्द्री बुन्न अब हामीले सकिँदैन नयाँ पुस्ताले गुन्द्री बुन्न दुःख मान्छन् ।’ अझ पछिल्लो समय खेती गर्नै छाडेकाले परालको अभाव हुने र खेती गरिहालेमा पनि हाइब्रिड जातको खेती गर्दा पराल छोटो हुने गरेको उहाँले बताउनुभयो ।
सहरोन्मुख क्षेत्रमा प्लास्टिकबाट बनेका गुन्द्री र म्याटको प्रयोग बढ्दै गएकाले गुन्द्री बुन्न छाडिएको उहाँले बताउनुभयो । ग्रामीण भेगमा अझै पनि छिटपुट रूपमा गुन्द्री बुन्ने गरे पनि विस्तारै बजारको प्रभाव ग्रामीण क्षेत्रमा पर्दै गएकाले गुन्द्री बुन्ने पराम्परा हराउँदै गएको वालिङ–८ की रन्नता बगालेले बताउनुभयो ।
गुन्द्री बुन्न झन्झटिलो भएकाले पनि नयाँ पुस्ता आकर्षित नभएको हुनसक्ने उहाँ बताउनुहुन्छ । नयाँ पुस्ताको आकर्षण नहुनु एकातिर छ । अर्कातिर पुरानो पुस्ताले जानेको सीप नयाँ पुस्तामा हस्तान्तरण नगर्दा गुन्द्री बुन्ने संस्कृति लोप भएर जानसक्छ । परालको लम्बाइअनुसार गुन्द्रीको चौडाइ निर्धारण गरी गुन्द्री बुन्ने गरिन्छ ।
छोटो परालबाट थर्कटी तथा चकटी बुन्न सकिन्छ । स्थानीय स्रोत र साधनको प्रयोग गरी गुन्द्री बुन्ने गरिन्छ । विशेषगरी धानको पराल, जुटको धागो, बाबियोको खर प्रयोग गरी गुन्द्री बुन्न सकिन्छ ।
हाते तान बनाएर जुट वा बाबियोको खरको डोरीमा बुनिएको पराललाई काठको हतासोले ठोकेर गुन्द्री बनाउने गरेको पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी