
कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिका–३ भर्ता गाउँमा ६९ लाख ५३ हजार ४ सय ९८ रुपैयाँको लागतमा आधुनिक प्रसूति सेवा केन्द्र (वर्थिङ सेन्टर) निर्माण हुने भएको छ ।
छायाँ नेपाल र शुभकालिका गाउँपालिकाको संयुक्त लागत साझेदारीमा प्रसूति सेवा केन्द्र निर्माण हुन लागेको हो । छायाँ नेपालको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लागतमा आधुनिक प्रसूति सेवा निर्माण हुने गाउँपालिकाले जनाएको छ ।
भर्ता गाउँमा प्रसूति सेवा केन्द्र नहुँदा गर्भवती तथा सुत्केरी हुनेका लागि समस्या हुँदै आएकाले सहज उपचार सुविधा दिने उद्देश्यले आधुनिक भवन निर्माण गरी २४ घण्टा प्रसूति सेवा दिने गाउँपालिकाका गोविन्द्रप्रसाद आचार्यले बताउनुभयो ।
‘प्रसूति सेवा केन्द्रलाई व्यवस्थित रूपमा सञ्चालन गरी सेवा प्रवाह गर्ने उद्देश्यले गाउँपालिकाले आधुनिक भवन निर्माण गर्न लागिएको हो’ उहाँले भन्नुभयो– ‘विकट क्षेत्रका महिलालाई सुरक्षित प्रजनन सेवा दिने पालिकाको पहिलो प्राथमिकता छ ।’
दुर्गम तथा विकट क्षेत्रमा व्यवस्थित प्रसूति सेवा अभाव रहेका स्थानमा छायाँ संस्थाले केन्द्र निर्माण गर्दै आएको संस्थाका कार्यकारी निर्देशक कमल थापाले बताउनुभयो । ‘सुरक्षित प्रसूति सेवाको पहुँच विस्तार गर्न लामो समयदेखि स्थानीय तहसँग समन्वय गरी केन्द्र स्थापना गर्दै आएका छौँ’ उहाँले भन्नुभयो– ‘कसैले पनि असुरक्षित प्रसूतिका कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले दुर्गम तथा विकट क्षेत्रमा अभियानका रूपमा केन्द्र स्थापना थालेका हौँ ।’
अहिले शुभकालिका–३ भर्तामा त्यही अभियानअन्तर्गत प्रसूति सेवा केन्द्र स्थापना गर्न पालिकासँग समन्वय गरिएको निर्देशक थापाले जानकारी दिनुभयो । केन्द्रमा दक्ष जनशक्ति खटाइने भन्दै आवश्यक अन्य व्यवस्थापन गाउँपालिकाले गर्ने सहमति भएको उहाँले बताउनुभयो ।
भवन पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश शाहीले जानकारी दिनुभएको छ । ‘गाउँपालिका र छायाँको संयुक्त साझेदारीमा बन्ने केन्द्र पाँच महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । एउटा फार्मेसी, प्रस्तुति कक्ष, कर्मचारी आवाससहितको भवन बन्नेछ– ‘ उहाँले भन्नुभयो– ‘विकट बस्तीका सुत्केरी तथा गर्भवतीको सहजताका लागि केन्द्र स्थापना गर्न लागिएको हो ।’
केन्द्रको भवन निर्माण गर्न आवश्यक जग्गा स्थानीय समाजसेवी नन्दबहादुर शाहीले निःशुल्क रूपमा उपलब्ध गराउनु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै