
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने तुइनखोलाको पुल सञ्चालनमा आएको छ । दुई वर्ष हिउँदमा सडक रोकेर भित्तो काटेर पहाड भत्काएसँगै पुल निर्माण गरिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दरैका अनुसार शनिबारबाट यो पु्ल सञ्चालनमा आएको हो । योसँगै नाम्सी खोला पुल पनि सञ्चालनमा आएको दरैले जानकारी दिनुभयो । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएपछि विसं २०७९ र २०८० का हिउँदका तीन/तीन महिना दिउँसोमा सडक रोकेर पुल बनाइएको हो ।
तत्कालीन समयमा आयोजनामा सूचना अधिकारी रहनुभएका इन्जिनियर कृष्ण आचार्यका अनुसार पुल निर्माणका लागि ६५ मिटर अग्लो पहाड दुई वर्ष लगाएर काटिएको हो । त्यस क्षेत्र सडक खण्डकै सबैभन्दा साँघुरो ठाउँ हो । हाल त्यहाँ पहाड भत्काएर ७ दशमलव ५ मिटर फराकिलो पुल बनाइएको छ । यो ६० मिटर लामो छ । आचार्यले भन्नुभयो– ‘एकापट्टी अग्लो पहाड र अर्कोपट्टी खोला छ, पहाड कडा चट्टान र काम गर्न निकै कठिन भयो ।’ पहाड फोर्न कठिन भएपछि विस्फोट गराउने तयारीसमेत गरेर अन्तिम चरणमा रोकिएको थियो ।
बिस्फोट गर्दा थप क्षति हुनसक्ने भएकाले अन्तिम प्रयास गर्ने सहमति अनुरुप गरिएको काम सफल भएको इन्जिनियर आचार्य बताउनुहुन्छ । त्यस सडकखण्ड विस्तारसँगै त्यहाँ रहेका पुल फराकिलो बनाइएको हो । सडक निर्माणकै क्रममा चार वटा पुल फराकिलो बनाइएको थियो । बाँकी १५ पुलमध्ये अब एउटा पुलमात्र निर्माण गर्न बाँकी छ । इन्जिनियर दरैका अनुसार खहरे खोलाको पुल बनाउन बाँकी छ ।
यो पुल मुआब्जाका कारण ढिलाइ भएको हो । पहुँच सडकको केही काम बाँकी रहेको भन्दै अबको दुई महिनामा यो पुल पनि सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।
विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुल समेत त्यहीअनुसार फराकिलो बनाइएको छ ।
पुल निर्माण अनक कन्स्ट्रक्सनले गरेको हो । १ अर्ब २७ करोड रुपैयाँको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । ३ वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा