
बाँके । महिला उद्यमीद्वारा उत्पादित सामग्री प्रदर्शनीमा १५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । लुम्बिनी प्रदेशअन्तर्गतका महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि नेपालगञ्जमा आयोजना गरिएको हो ।
प्रदर्शनीमा महिला उद्यमीले स्थानीयस्तरमा उत्पादन गरेका कृषिजन्य वस्तु, कपडा, खाद्यान्न, हस्तकला, काठबाट बनेका वस्तु, पत्थरबाट बनेका गरगहना, कम्पोष्ट मल र घरवास लगायतका सामान राखिएका थिए । प्रर्दशनीमा ६५ कक्ष भए पनि ६१ राखिएको थियो । पाँच दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा १५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको महिला उद्यमी संघ बाँकेका अध्यक्ष सावित्रा बस्नेतले जानकारी दिनुभएको छ । अध्यक्ष बस्नेतका अनुसार दैनिक रुपमा करिब ३ लाख रुपैयाँको कारोबार भएको छ । ‘प्रदर्शनीमा राखिएका महिलाले उत्पादन गरेका वस्तुलाई निकैले मन पराएको पाइयो’ उहाँले भन्नुभयो– ‘यसबाट बजारीकरणमा निकै सहजता हुने आशा पलाएको छ ।’
प्रदर्शनीमा कर्णालीका जिल्लाबाट महिला उद्यमीले ल्याएका सामानको माग बढेको पाइएको छ । रोल्पाली सिमी, भाङ्गोलगायत खाद्यान्न सामग्री अत्यधिक बिक्री भएको महिला उद्यमी संघका केन्द्रीय सदस्य सरस्वती शर्माले बताउनुभयो । शर्माका अनुसार गाँजाबाट उत्पादन गरिएका टोपी, अल्लोको टोपी, कोट लगायत विभिन्न कपडाले बजार पाएको छ । प्रदर्शनीस्थलमा महिला उद्यमीले पकाएका सेलरोटी, थारु महिलाले पकाएको ढिंक्री अत्यधिक बिक्री भएको थियो ।
उद्यमी महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले महिला उद्यमी सङ्घले प्रदर्शनी कक्ष निःशुल्करुपमा उपलब्ध गराएको थियो भने बाहिरबाट आउने महिला उद्यमीलाई यातायात भाडा तथा नेपालगञ्जमा बस्ने र खाने सुविधा उपलब्ध गराएको प्रर्दशनीका संयोजक रेवती सिंहले जानकारी दिनुभयो । महिला उद्यमी ऋचा लुइँटेलले सञ्चालन गरेको गरगहनाको व्यवसायले पनि ग्राहकको मन जितेको थियो ।
महिला उद्यमीको उत्पादनलाई बजारीकरण गर्न यस प्रकारका प्रदर्शनी वर्षमा दुई पटक विभिन्न जिल्लामा सञ्चालन गर्नुपर्ने माग उद्यमी महिलाको छ । महिला उद्यमी संघले स्थानीय महिला उद्यमीले उत्पादन गरेको सामाग्रीको बजारीकरणका लागि नेपालगञ्जमा कोसेली घर पनि सञ्चालन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा