
म्याग्दी । विभिन्न कम्पनीका डिलर (अधिकृत बिक्रेता) ले म्याद नाघेका सामान बिकाउन ग्रामीण क्षेत्रमा पठाउने गरेका पाइएको छ ।
अन्नपूर्ण गाउँपालिकाको ग्रामीण क्षेत्रमा पर्ने वडा नम्बर ७ हिस्तान र वडा नम्बर ८ राम्चेका पसलको अनुगमन गर्ने क्रममा म्याद सकिएका र सकिन लागेका सामग्री पाइएको हो ।
गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको टोलीले सोमबार र मङगलबार दुई वडाका ३६ वटा पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा ५१ हजार ९ सय ४० रुपैयाँ मूल्य बराबरका म्याद नाघेका सामान जफत र नष्ट गरिएको अध्यक्ष पुनले जानकारी दिनुभएको छ ।
‘अनुगमनका क्रममा डिलरहरुले म्याद सकिने समय भएका सामान गाउँमा सस्तोमा पठाउने गरेको पाएका छौँ’ अध्यक्ष पुनले भन्नुभयो– ‘एक दिनअघि बिल काटेर गाउँमा पठाएको सामान पनि भेटियो । म्याद सकिन १५–२० दिनअघि बजारमा नबिकेका सामान गाउँमा पठाउने गरेको समस्या पाइयो ।’
खाने तेल, कुरकुरे, कोक, फेन्टा, स्प्राइट, जुस, वियर, चिउरा, मिठाइ लगायत बालबालिकाले र भोजभतेरमा बढी प्रयोग हुने सामग्रीको म्याद नाघेको पाइएको उहाँले जानकारी दिनुभयो ।
व्यापारीलाई म्याद हेरेर मात्र सामान खरिद र बिक्री गर्न आग्रह गर्दै सामान पठाउने अधिकृत बिक्रेतालाई पनि उद्योग वाणिज्य सङ्घमार्फत सचेत बनाउने अध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाले गत वर्षदेखि ग्रामीण क्षेत्रको बजार अनुगमनलाई निरन्तरता दिँदै आएको छ ।
अनुगमनका क्रममा दर्ता नभएका पसललाई दर्ता प्रक्रियामा आउन, समयमा नवीकरण गर्न र सरसफाइमा ध्यान दिन सुझाव दिइएको टोलीको भनाइ छ ।
टोलीमा अध्यक्ष पुनसहित प्रशासकीय अधिकृत भगवती खड्का कटुवाल, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा लीलाबहादुर चोखाल, वडाका जनप्रतिनिधि र कृषि शाखाका प्राविधिक सम्झना क्षेत्री लगायत सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’