+

यु–१९ महिला टी–२० विश्वकप एशिया छनोट : नेपालद्वारा कुवेत पराजित

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टी–२० विश्वकपको एशिया छनोटको पाचौँ खेलमा नेपाल विजयी भएको छ । 

कप्तान पूजा महतोले ब्याटिङ र बलिङमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि नेपाल विजयी भएको हो । केहीबेर अघि सम्पन्न उक्त खेलमा नेपालले कुवेतलाई  एक सय ६५ रनको फराकिलो अन्तरले हराएको हो । त्यस अवसरमा महतोले ब्याटिङतर्फ शतकीय पारी खेल्नुका साथै बलिङतर्फ पाँच विकेट लिइन् ।  

युएईको अजमानस्थित द सेभेन रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा दुई विकेट गुमाएर दुई सय १३ रन बनायो । दुई सय १४ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा सबै विकेट गुमाएर ४८ रन मात्रै बनायो । 

कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ३६ रन बनाइन् । उनले ४२ बलमा सात चौका प्रहार गरिन् । जिफाबाहेक कुवेतका कुनै पनि खेलाडीले दोहोरो अङ्कले रन बटुल्न सकेनन् । नेपालले कुवेतलाई सात अतिरिक्त रन दिएको थियो ।

बलिङतर्फ नेपालका लागि कप्तान महतोले पाँच तथा रचनाकुमारी चौधरी र सीमा केसीले दुई दुई विकेट लिइन् । 

यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा कप्तान पूजा महतोले एक सय तीस रन बनाइन् । उनले ६९ बल खेल्ने क्रममा १७ चौका प्रहार गरिन् । यस्तै, सोनी पाख्रीनले ३३ बलमा दुई चौकाको मद्दतमा ४३, सावित्री धामीले ११ र साना प्रवीनले ६ रनको योगदान दिइन् । कुवेतले नेपाललाई २३ अतिरिक्त २३ रन दिएको थियो ।  

बलिङतर्फ कुवेतका लागि जिफा जिलानी र रेलिन मारिया डी सुजाले एक एक विकेट लिए । नेपालले अब बुधबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । 

सहभागीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने यु–१९ विश्वकपमा छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट