
नुवाकोट । तिहारको मौलिक संस्कृति बचाउन नुवाकोट को दुप्चेश्वर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुप्चेश्वर गाउँ कमिटीले सूर्यमती नदीको किनार समुन्द्रटारमा गाउँपालिकाभित्रका छ विद्यालय सहभागी गराई प्रतियोगिता आयोजना गरेको हो । विद्यालयले विद्यार्थीलाई नै देउसीभैलोको गीत सृजना गर्न लगाएर प्रस्तुति दिन लगाएका थिए ।
प्रतियोगितामा दुप्चेश्वर गाउँपालिका–५ को महादेव माविका प्रमिता तामाङले नेतृत्व गरेको समूह प्रथम भई नगद २० हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगतामा दोस्रो भएको बच्छलादेवी माविले १५ हजार र तेस्रो भएको रूक्मणि माविले १० हजार रुपैयाँ पुस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा सहभागी भएका अन्य तीन विद्यालय सरस्वती मावि, कल्याण मावि र दुप्चेश्वर माविले रु पाँच हजार सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा चर्चित कलाकार दामोदर खतिवडाको संयोजकत्वमा तीन सदस्यीय निर्णायकमण्डल गठन गरिएको थियो ।
प्रतियोगितामा एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डेले बालबालिकाका लागि प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण योगदान पुगेको बताउनुभयो । उहाँले संस्कार र संस्कृतिको जगेर्नासँगै विद्यार्थीले आफ्नो क्षमताको प्रदर्शन गर्ने मञ्च सृजना गरेर रचनात्मक काम गरेको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले निर्वाचनमा राजनीतिक रूपमा प्रतिस्पर्धा हुने भए पनि संस्कृतिको जगेर्ना र स्थानीय विकासका लागि सबै दलले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाले संस्कृति संरक्षणका लागि सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
नेकपा एमाले बागमती प्रदेश कमिटीका सचिवालय सदस्य बलराम आचार्यले विद्यार्थीलाई राजनीतिक दलको झण्डा बोकाउनुको साटो यस्तै रचनात्मक कार्यक्रम गरेर व्यावहारिक रूपमा सबल बनाउनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसकी नेत्री एवं गाउँपालिकाको पूर्वउपाध्यक्ष अञ्जु आचार्यले प्रतियोगिताको सराहना गर्दै अन्य दलले समेत यसबाट सिकेर काम गर्नुपर्ने सुझाव दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी