
काठमाडौँ । ‘की मोबाइल खेल्न दिनु, नभए घुमाउन लैजानु’ भनेर छोराले दुई सर्त राखेपछि पुतली सडककी जेनी बुढाथोकीले घुमाउन ठिक ठान्नुभयो । मोबाइल माग्दै रोइरहेको छोरालाई लिएर उहाँ नजिकैको भृकुटीमण्डपस्थित काठमाडौँ ‘फन पार्क’ पुग्नुभयो ।
फन पार्ककमा थुप्रै खेलौँनासँग खेल्दा खेल्दै छोराले मोबाइल बिर्सिएपछि बुढाथोकी भन्नुहुन्छ– ‘मोबाइल हेर्नुभन्दा त फन पार्कमा खेलाउनु नै ठिक नि ।’ दशैँ तिहार पर्वको अवसरमा सबै विद्यालय बन्द छन् । बालबालिका स्कुल बिदा भएकाले घरमै बस्न बाध्य छन् । बालबालिकालाई भुलाउने र खेलाउने थलो खोज्दै अभिभावकले फन पार्क रोज्नुभएको छ ।
डिल्लीबजारकी लक्ष्मी श्रेष्ठ अचेल नातिनातिनिलाई घुमाउन फन पार्क र बाल उद्यान पुग्नुहुन्छ । दशैँतिहार पर्वमा एक महिनाको स्कुल बिदा भएकाले दिनभरी बालबालिकालाई खेलाउन उहाँलाई बाल उद्यान खोज्नु परेको हो ।
कोठामा राख्दा राख्दै केटाकेटीले खाली मोबाइल र टेलिभिजनमा झुम्मिने बानीदेखि जोगाउन उहाँले पनि फन पार्क घुमाउन आउने गरेको बतानुभयो । भृकुटीमण्डपस्थित फन पार्कमा नातिनातिलाई खेलाउँदै गर्नुभएकी श्रेष्ठले खुला चौर र प्रशस्त खेल्ने स्थानको अभाव भएको हुँदा बालबालिकालाई फन पार्क ल्याउनु परेको सुनाउनुभयो ।
‘घर वरिपरि खेल्ने न आँगन ठूलो छ न चौर नै’, उहाँले भन्न्नुभयो– ‘कोठामा थुनिरहनुभन्दा फन पार्क घुमाउन आउँछु ।’
शान्तिनगरकी भगवती महर्जनलाई सात वर्षे छोराको मानसिक र शारीरिक विकासमा निकै चासो छ । स्कुल बिदाको समयमा उहाँ जति सक्दो धेरै छोरासँग खेल्न र खेलाउन रुचाउनुहुन्छ । ‘फन पार्कमा आउँदा म पनि बच्चा जस्तै हुन्छु’ उहाँले भन्नुभयो– ‘पर्वको बेला परिवार र छोराछोरीलाई भरपुर समय दिने मन हुन्छ ।’
महर्जनले भने जस्तै, बानेश्वरका संजोग जैशीले जागिरको व्यस्तता छिचोल्दै १० वर्षको छोरी लिएर फन पार्कमा रमाउन आएको बताउनुभयो । स्कुल हुँदा छोरी र बुबाको भेटघाट नै मुस्किलले हुने गर्ने बताउँदै उहाँले छुट्टीमा सकभर छोरीलाई खेलाउने योजना रहेको बताउनुभयो ।
‘बिहानै स्कुल पुग्ने छोरी बेलुका कामबाट फर्किँदा निदाइसकेकी हुन्छिन्’ उहाँले भन्नुभयो– ‘स्कुल बिदा भएपछि खुसीले फुर्किएकी छोरी घुमाउने अभिभावकको जिम्मेवारी महशुस भएको छ ।’ जैशीले छोरीलाई खानपिन र किनमेलमा भन्दा पनि धेरैभन्दा फन पार्कमा खेलाउन उपयुक्त हुने बताउनुभयो । फन पार्कमा खेल्दा बाहिरी मौसम नियाल्दै थुप्रै जीवन उपयोगी ज्ञान आर्जन गर्न सकिने उहाँको बुझाइछ ।
यस्तै बागबजारकी सम्झना कार्कीको अहिले पूरै समय दुई छोराकै लागि छुट्याउनुभएको छ । चाडपर्वमा एक महिना स्कुलले बिदा दिएपछि उहाँ छोराछारीप्रति झनै व्यस्त हुनुभएको हो । स्कुल बिदामा अभिभावकले बालबालिकालाई खुशी बनाइराख्न विभिन्न उपाय अपनाउनुपर्छ । जसमा कार्कीले फन पार्कमा खेलाएरै उनीहरुलाई रमाइलो गराउने गरेको उहाँले बताउनुभयो ।
‘समयले भ्याएसम्म बाल उद्यान (खेल्ने ठाउँ) लैजान्छु’ उहाँले भन्नुभयो– ‘केटाकेटी खुशी भए, हामी अभिभावक यसै खुसी भइँदोरहेछ ।’ उहाँका अनुसार काठमाडाँैमा बालबालिकाले खेल्ने प्रशस्त बालमैत्री उद्यान नभएको गुनासो छ । रत्नपार्क र काठमाडौँ फन पार्क बाहेक अन्य बालमैत्री उद्यानको अभाव रहेको उहाँले सुनाउनुभयो ।
पर्वको अवसरमा झन्डै एक महिना स्कुल बिदा भएपछि फन पार्कमा बालबालिका खेल्ने र घुम्न आउने सङ्ख्या बढेको काठमाडौँ फन पार्कका कर्मचारी राजकुमार खत्रीले बताउनुभयो । उहाँका अनुसार अरु बेला शनिबार बालबालिकाको बढी घुइँचो लाग्ने गथ्र्यो भने अहिले हरेक दिन बालबालिका आउन थालेका छन् । दशैँतिहार पर्वमासमेत फन पार्क खुला हुने उहाँले बताउनुभयो ।
दशैँतिहार पर्व मनाएपछि रमाइलो गर्न चाहने बालबालिकाका लागि फन पार्कमा खुला हुने गरेको उहाँले जानकारी दिनुभयो । विगतको अनुभव सुनाउदैँ दर्शको टीका लगाएर अभिभावकले छोरोछोरी फन पार्कमा खेलाउन ल्याउने गरेको खत्रीले बताउनुभयो । ‘सानादेखि ठूलाले पर्वमा फन पार्क आएर रमाइलो गर्नुहुन्छ’ उहाँले भन्नुभयो– ‘काठमाडाँै बाहिर जानेहरुको सङ्ख्या धेरै भएकाले पर्वको बेला चाप भने कमै हुन्छ ।’
दशैँतिहार जस्ता चाडपर्वमा बालबालिकाले देखेर, सुनेर र अनुभव गरेर धेरै बाहिरी ज्ञान आर्जन गर्न सक्ने डा अरुण कुँवरले बताउनुभयो । यसका लागि परिवार र आफन्तले बालबालिका अनुकुल समय दिनु आवश्यक छ । छोराछोरीको व्यक्तित्व विकास गर्न र सामाजिक अन्तरघुलन स्वभाव उजागर गराउन अभिभावकले सकेसम्म घरबाहिरै खेलाउन उपयक्तु हुने उहाँको धारणा छ । ‘बाहिर जति केटाकेटी खेल्छन्, उति मोबाइल जस्ता डिजिटल लतबाट टाँढिन सजिलो हुन्छ’ डा, कुँवरले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा