
चितवन । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । संघीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने भएको हो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको र लिज ऐनअन्तर्गत रङ्गशालाले जग्गा लिनुपर्ने भएकाले मन्त्रिपरिषद्को बैठकबाट सहमति लिनुपरेको हो ।
प्रमुख दाहालका अनुसार उक्त आयोजना सम्पन्न गर्न संघीय सरकारले समेत अनुदानका रूपमा बजेट उपलब्ध गराउने छ । रङ्गशालाका लागि यसअघि सट्टाभर्नामा जग्गा लिने सहमति भएकामा अहिले सो प्रावधान नरहेपछि लिज ऐनअन्तर्गत ४० वर्षका लागि रङ्गशालालाई जग्गा लिन मन्त्रिपरिषद्ले सहमति दिएको छ । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग भरतपुर महानगरपालिकाले जग्गाको सम्झौता गरी रङ्गशालाको काम अघि बढाउन लागेको उहाँले बताउनुभयो ।
महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा रु ७५ करोड बराबरको काम गर्ने गरी सहमति भएको थियो । तर भरतपुर महानगरपालिकाले तयार गरेको योजनाअनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन रु एक अर्ब लाग्ने प्रमुख दाहालले जानकारी दिनुभयो । पहिलो चरणमा खेलमैदान र प्यारापिटलगायतका काम सम्पन्न गरेर खेल खेल्न मिल्ने बनाइने उहाँको भनाइ छ ।
प्रदेश सरकारले ७० प्रतिशत लगानी गरेसँगै रकम अभाव भए सङ्घीय सरकारको अनुदान लिएर महानगरपालिकाले थप गरी रङ्गशाला बनाउने तयारी गरिएको हो । प्रमुख दाहालका अनुसार प्रदेश सरकारको बजेट सुनिश्चिततासँगै बहुवर्षीय ठेक्का लगाएर काम गरिने छ ।
धुर्मुस–सुन्तली फाउण्डेसनले रु १९ करोड ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि रङ्गशाला निर्माण कार्य अलपत्र बनेको छ । महानगरपालिकाले उक्त आयोजनालाई महानगरको महत्त्वपूर्ण आयोजनाको रूपमा लिएको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सङ्घीय सरकारले अनुमति दिएसँगै अब कामले गति लिने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले किन दिइन् राजीनामा ?
- चलचित्र विधेयक संसदमा पेश हुने
- अब निषेधित क्षेत्रमै प्रदर्शन गर्छौं : राजेन्द्र लिङ्देन
- कोरलामा व्यापारिक चहलपहल बढ्यो
- ‘द्वन्द्वकालका जघन्य अपराधलाई माफी दिन सकिँदैन’
- आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री ऐन २६ वर्षपछि कार्यान्वयनमा
- हुम्लामा अत्यधिक वर्षा, पहिरोले २६ बाख्रा पुरिए
- उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
- बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- ‘जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्’