+

दशैँ तिहारमा खाद्यान्न अभाव नहुने

बाजुरा । बाजुरामा यस वर्ष दशैँ तिहारमा खाद्यान्न अभाव नहुने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा, मार्तडी र कोल्टी शाखामा मागअनुसार खाद्यान्न मौज्दात रहेकाले यस वर्ष विगतमा जस्तो खाद्यान्न अभाव नहुने जनाइएको छ ।
मार्तडी शाखामा चार हजार र  पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकास्थित कोल्टी शाखामा दुई हजार ३ सय क्वीन्टल चामल मौज्दात रहेकाले दशैँ  तिहारमा खाद्यान्नको कमी नहुने शाखा कार्यालय मार्तडीका प्रमुख उमेश भण्डारीले जानकारी दिनुभएको छ । 

उहाँले विगतमा जस्तो खाद्य अभावका कारण कतिपय नागरिकले महँगो चामल किन्न बाध्य हुने अवस्था यसपटक नआउने बताउनुभयो । ‘वर्षायाममा सडकबाटो बन्द हुने हुँदा ढुवानी समस्याले यहाँ हरेक चाडपर्वमा खाद्यान्नको चरम अभाव हुने गरेको थियो । यस वर्ष ठेकेदारले समयमै खाद्यान्न ढुवानी गरेको र माग अनुसारको खाद्यान्न आएकाले चामल अभाव हुने सम्भावना न्यून छ’ भण्डारीले भन्नुभयो । 

शाखा कार्यालय मार्तडीमा चार हजार क्वीन्टलमध्ये अरुवा मोटो चामल दुई हजार १ सय ६, अरुवा सोना चामल एक हजार ६ सय ८५ र जिरा मसिनो चामल दुई सय २५ क्वीन्टल मौज्दात रहेको जनाइएको छ । 

यस्तै, कोल्टी डिपो कार्यालयमा दुई हजार ३ सय  क्वीन्टल चामलमध्ये अरुवा मोटो एक हजार ९ सय ६९, सोना मन्सुली २ सय २ क्वीन्टल र जिरा मसिनो १ सय ५१ क्वीन्टल चामल मौज्दात रहेको छ ।

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा आजदेखि शुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । दशैँ तिहार लगायत चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालन कार्यालय प्रमुख भण्डारीले जानकारी दिनुभयो । 

सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित शुपथ मूल्य पसल सञ्चालनमा ल्याए पनि सुदूरपश्चिममा भने केही ढिला गरी सञ्चालन गरिएको उहाँले बताउनुभयो । शुपथ मूल्य पसलमा चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर बिक्री वितरण गर्न थालिएको छ ।

जिल्लाभरी चार हजार क्वीन्टल चालम बिक्री गर्ने अनुमति दिएकाले आगामी चार महिना अर्थात आगामी माघ २ गतेसम्म सञ्चालन हुनेछ ।  यहाँ प्रतिव्यक्ति एक बोरा मात्रै चामल खरिद गर्न सकिने र सम्बन्धित व्यक्तिले नागरिकता नम्बर वा फोन नम्बर अनिवार्य उपलब्ध गराउनुपर्ने नियम लगाइएको छ । हाल सोना मोटा चामलको प्रतिकिलो ६० रुपैयाँ, अरुवा मोटा ५९ र जिरा मसिनो ८७ रुपैयाँमा बिक्री वितरण भइरहेको छ ।

मुक्तिकोट, कवाडीका नागरिकलाई समस्या
जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट र हिमाली गाउँपालिकाको कवाडीमा कम्पनीको अस्थायी बिक्री केन्द्र छ । यहाँ समयमा खाद्यान्न ढुवानी नहुँदा नागरिकले सहुलियत दरमा खाद्यान्न लिनका लागि एक दिन पैदलयात्रा हिँडेर कोल्टी डिपोमा धाउनुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । 

कवाडी बिक्री केन्द्रमा करिब सात महिना र मुक्तिकोटमा तीन महिनादेखि खाद्यान्न आपूर्ति हुन सकेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट