
बाँके । चौथो नेपालगञ्ज फोटो फेस्टिबलअन्तर्गत फोटो प्रतिस्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति असोज १७ गतेसम्म रहेको आयोजकले जनाएको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिबल प्रतिस्पर्धामा देशभरबाट फोटो पठाउन सकिन्छ ।
अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार नौ विधामा फोटो प्रतिस्पर्धा हुनेछ । उहाँका अनुसार हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटोमध्ये सर्वोत्कृष्टलाई वर्ष फोटो उपाधिबाट पुरस्कृत गरिनेछ । वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लब पिजे क्लबका पूर्वअध्यक्ष विकास कार्कीको नेतृत्वमा वरिष्ठ फोटोग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक टिमले फोटोको अन्तिम छनोट गर्नेछन् ।
फोटो प्रतिस्पर्धामा रहेका विधा समाचार, दैनिक जीवन, पर्यटन, वन्यजन्तु, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण, कृषि, खुसी र उत्साह झल्किने फोटो नेपाल स्माइल रहेका छन् । हरेक विधामा एकजना व्यक्तिले दुईवटासम्म फोटो पठाउन सक्नेछन् । अन्तरालको अफिसियल वेबसाइट अन्तराल डटकम डटएनपी लगइन गरेर फोटो पठाउन सकिनेछ ।
“उक्त फोटो फेस्टिबलमा सिङ्गो नेपाल झल्किने छ । फेस्टिबलका रूपमा नेपालगञ्ज फोटो फेस्टिबललाई सञ्चालन गरिने छ”, अन्तरालका प्रमुख कार्यकारी शाहले भन्नुभयो, “यो फोटोग्राफीसम्बद्ध धेरै व्यक्तिका जमघटको साझा फोरम पनि बन्नेछ ।” फेस्टिबल दुई दिन नेपालगञ्जमा आयोजना हुनेछ । यस अवसरमा गरिने फोटो प्रदर्शनीमा देशभरबाट छानिएका एक सय ५१ फोटो राखिनेछ । जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणका लागि काठमाडौँबाट वरिष्ठ फोटो पत्रकारको उपस्थिति रहनेछ ।
यसैगरी फोटोग्राफी अन्तक्र्रियासमेत आयोजना हुनेछ । जसमा फोटो पत्रकार र फोटोग्राफरले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउनेछन् । यस फेस्टिबलले अघिल्लो पुस्ता र नयाँ पुस्ताबीच सेतुको काम गर्ने आयोजकको विश्वास छ ।
यसैगरी प्रदर्शनीमा राखिएका फोटोलाई सर्वसाधारणको बढी जमघट हुने चोकमा डिजिटल डिस्प्ले पनि गरिनेछ । फेस्टिबलपछि फोटो राजधानी काठमाडौँ र मुलुकका विभिन्न स्थानमा प्रदर्शन गरिनेछ । फोटो प्रतिस्पर्धाको सर्वोत्कृष्टलाई विगतमा रु २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गर्दै आएकामा पुरस्कार राशि यस वर्षदेखि दोब्बर गरी रु ५१ हजार एक सय ११ पु¥याइने अध्यक्ष शाहले बताउनुभयो ।
दोस्रो संस्करणसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका फोटोमात्र सहभागी गराइएको यस प्रतिस्पर्धालाई तेस्रो संस्करणदेखि देशव्यापी बनाइएको थियो । राष्ट्रियस्तरको स्पर्धा भएकाले यस वर्षदेखि पुरस्कार राशि वृद्घि गरिएको र हरेक विधाको उत्कृष्टलाई विगतमा नगद रु पाँच हजारसहित प्रमाणपत्र दिने गरिएकामा यस वर्ष वृद्धि गरिने भएको उहाँले बताउनुभयो ।
यसैगरी फोटो प्रतिस्पर्धामा देशैभरबाट छानिएका उत्कृष्ट २५ वटा फोटोमध्येबाट एउटा फोटोलाई ‘पिपुल्स च्वाइस फोटो अवार्ड’ प्रदान गरिनेछ । यस अवार्ड विजेताले रु ५० हजार एक नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछ । टप २५ वटा फोटोमध्ये अनलाइन भोटिङका आधारमा यो अवार्ड छानिनेछ । सबैभन्दा बढी भोट प्राप्त गर्नेले अवार्ड जित्नेछन् । फोटो छनोटपछि १५ दिनको समय दिएर अनलाइन भोटिङ खुला गरिने आयोजक अन्तरालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी