+

मुस्ताङको चितुवा गुफा पूर्वाधारका अभावमा ओझेलमा

म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा रहेको हिउँ चितुवा गुफामा पुग्ने पदमार्ग नुहँदा पर्यटकलाई समस्या भएको छ । 

मुस्ताङ घुम्न आउने पर्यटकलाई भुलाउन र बसाई लम्बाउनका लागि उपयुक्त सम्भावना बोकेको हिउँ चितुवा गुफा पूर्वाधारको अभावमा ओझेलमा परेको हो । जोमसोम–ठिनी–ढुम्बाताल सडकदेखि गुफासम्म पुग्ने उकालोमा निर्माण गरिएको पदमार्ग भत्किएपछि पर्यटकलाई त्यहाँ पुग्न समस्या भएको छ । करिब ३ सय मिटर पदमार्ग निर्माण गर्न सकेमा पर्यटकलाई आवत जावत गर्न सहज हुने बताइएको छ । 

कालोपत्रको तयारीमा रहेको जोमसोम–ठिनी–ढुम्बाताल सडकको ठिनीदेखि गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग भएमा पर्यटकलाई सहज हुने ठिनीवासी निरज थकालीले बताउनुभयो । ‘गुफाको नाम हिउँ चितुवा राखिएका कारण नै हिउँ चितुवा र गुफाबीचको सम्बन्धका बारेमा धेरैलाई चासो छ’ उहाँले भन्नुभयो– ‘गुफा भएकै ठाउँमा अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापले क्यामेराहरु राखेर हिउँ चितुवाको भिडियो र फोटोहरू खिचेको थियो । त्यो बेलामा चार वटा हिउँ चितुवा क्यामेरामा कैद भएकाले गुफा र हिउँ चितुवाको सम्बन्ध पुष्टि भएको हो ।’

गुफा रहेको क्षेत्रमा दुर्लभ वन्यजन्तु हिउँचितुवा आउने तथा गुफा र हिउँ चितुवा दुवैको प्रचारप्रसार हुने भएकाले ‘हिउँ चितुवा गुफा’ भनी नामकरण गरिएको थकालीले बताउनुभयो । लोपोन्मुख अवस्थामा रहेको हिउँचितुवा नेपालको हिमाली भेगसहित विश्वका १२  देशमा मात्र पाइन्छ । 
 
जोमसोम बजारबाट ठिनी हुँदै गाडीमा १० मिनेटको यात्रा गरी पाँच मिनेटको पैदल यात्रा गरेपछि गुफामा पुगिन्छ ।  २०७१ सालमा उद्यान बनाउने क्रममा निस्कीएको माटो पन्छाउने क्रममा तीन वटा गुफा भेटिएका थिए । १० मिटर भन्दा बढी लामो गुफाभित्र विभिन्न प्राकृतिक आकृति देख्न सकिन्छ । गुफाभित्रैबाट ठिनी गाउँ र जोमसोम बजार अवलोकन गर्न पाउनु यहाँको थप आकर्षण हो । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), नेपाल पर्यटन बोर्ड र घरपझोङ गाउँपालिकाले प्रवेशद्धार, पदमार्ग र गुफा परिसरमा पर्यटक बस्ने बेञ्च बनाएका थिए । धेरै वर्षात भएर प्रवेशद्धार देखि गुफा सम्म पुग्ने पदमार्ग भत्किएपछि समस्या भएको छ । 

पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले हिउँ चितुवा गुफा जोड्ने पदमार्ग लगायत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा  २० लाख रुपैयाँ बिनियोजन भएको जानकारी दिनुभयो । 

प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट पदमार्ग निर्माण भएपछि पर्यटकहरुलाई सहज हुने र आगमन बढ्ने उहाँले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै