
सुर्खेत । वीरेन्द्रनगर–१० बामेखोलाका शोभा बस्नेतले विगत लामो समयदेखि कृषि पेशा अवलम्बन गर्दै आउनुभएको छ । उहाँले पाँच कठ्ठा जग्गामा तरकारीखेती र १५ कट्टामा धानखेती गर्नुभएको छ ।
किसान बस्नेतले माटो परीक्षण भन्ने त सुन्नुभएको थियो, तर माटो परीक्षण किन गरिन्छ भन्ने थाहा पाउनुभएको थिएन । उहाँले भन्नुभयो– ‘माटो परीक्षण गरेर के फाइदा होला र ? भन्ने लागेको थियो । वीरेन्द्रनगरमा माटो परीक्षणसम्बन्धी तालिम सञ्चालन भएपछि मेरो सोच नै बदलियो ।’
बस्नेतले माटो परीक्षण गरेपछि माटोमा भएको उर्वरा शक्तिको अवस्था र माटोमा लाग्ने रोगका बारेमा सिकेपछि उहाँले आफ्नो जमिनको माटो परीक्षण गराउनुभयो । ‘पहिले मलाई माटो परीक्षणको बारेमा केही पनि थाहा थिएन, उत्पादन बढाउन माटो परीक्षण अनिवार्य रहेछ भन्ने तालिमबाट सिँके’ उहाँले भन्नुभयो– ‘माटोको अवस्था कस्तो छ रु माटोमा समस्या केछ ? भन्ने हेरेर मात्रै थाहा हुँदोरहेनछ, त्यसपछि माटो परीक्षण गरायौँ, हाम्रो जग्गामा मोटासको मात्रा एकदम कम र युरियाको मात्रा पनि कम देखिएपछि त्यही आधारमा माटोमा मलको प्रयोग गर्न थालेका छौँ, उत्पादन बढ्ने अपेक्षा लिएका छौँ ।’
पहिले आफूहरूले तरकारीखेती, धानीखेती गर्ने तरिका पनि थाहा नपाएको जनाउँदै उहाँ अहिले खेती गर्ने सीप सिकेको बताउनुहुन्छ । बस्नेतमात्र होइन, सुर्खेत भेरीगङ्गा–८ का निलम विक पनि किसानले माटो परीक्षण गर्न थालेपछि उत्पादकत्व बढाउन सहज भएको बताउनुहुन्छ । उहाँ सफल उद्यमी सहकारी संस्थाको अध्यक्षसमेत हुनुहुन्छ । यो सहकारीले किसानलाई मल बीउ उपलब्ध गराउनेदेखि माटो परीक्षण लगायतमा सहजीकरण गर्दै आएको छ ।
उहाँ भन्नुहुन्छ– ‘माटो परीक्षणको लागि स्थानीय सरकारले सहयोग गरेपछि माटोको अवस्था के छ र कुन ठाउँमा कस्तो उर्वराशक्ति छ भन्ने थाहा भयो, माटोमा कुन–कुन तत्व छ, नाइट्रोजनको मात्रा के छ, फसपोरसको मात्रा के छ भन्ने जानकारी भएपछि किसानलाई त्यहीअनुसारको माटोको उपचारसँगै खेती पनि त्यहीअनुसार गर्न थालिएको छ’ उहाँ भन्नुहुन्छ– ‘अहिले भेरीगङ्गाका किसानको उत्पादनमा वृद्धि हुन थालेको छ ।’
पञ्चपुरी नगरपालिका–५ का सूर्यसागर शाहीले पनि माटो परीक्षण गराउनुभएको छ । अहिले आफ्नो जग्गाको माटोमा के–के कमी रहेछ भन्ने थाहा पाएपछि त्यहीअनुसारको उपचार विधिमा आफू लागेको शाही बताउनुहुन्छ । ‘माटो परीक्षणपछि उर्वराशक्ति बढाउन के–के प्रयोग गर्ने भन्ने विषयमा कृषि प्राविधिकले सिकाउनु भएपछि अहिले उत्पादन राम्रो भएको छ’ उहाँ भन्नुहुन्छ ।
माटो परीक्षणको कार्ड
जिल्लाका किसानको खेतबारीको माटो परीक्षण हुन थालेपछि आम्दानीमा बढोत्तरी भएको छ । पञ्चपुरी नगरपालिकाभित्र कुन क्षेत्रमा कस्तो माटो छ भनेर जाँच गरी नगरपालिकाको नक्सामा समेत राखिएको छ ।
गत वर्ष र यस वर्ष गरेर माटोका दुई सय १० नमूना जाँच गरी त्यसको नतिजाका अधारमा नगरपालिकाको नक्सामा समेत राखिएको माटो परीक्षणमा सहजीकरण गर्दै आइरहेको नगरपालिकामा रहेको धनबोट कृषि बहुउद्देश्य सहकारी संस्थाका कृषि प्राविधिक मानबहादुर वयक बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘हामीले सिमिट परियोजनाको सहयोगमा २ सय १० किसानको माटो परीक्षणका लागि काठमाडौँ पठायौँ, त्यसको नतिजा आइसकेको छ, त्यही आधारमा नगरपालिकाले आफ्नो नक्सामा समावेश गरेको छ । साथै किसानलाई माटो परीक्षणको स्वास्थ्य कार्ड पनि वितरण गरिसकेका छौँ ।’
किसानले जग्गाको माटोको अवस्था के छ भनेर आफैँ स्वास्थ्य कार्ड हेरेर थाहा पाउने जनाउँदै नगरपालिकाले पनि कुन क्षेत्रको माटोमा के उत्पादन हुन्छ ? र माटोको उर्वराशक्ति बढाउन के गर्नुपर्छ भनेर योजना बनाउन थालेको कृषि प्राविधिक वयक बताउनुहुन्छ ।
माटो जाँचबाट किसानको बारीमा फसपोरस, नाइट्रोजनलगायत माटोको उत्पादकत्वको अवस्था बारेमा जानकारी दिएर त्यहीअनुसारको मलको प्रयोग गर्न सिफारिस गरिएको उहाँको भनाइ छ । सुर्खेत वीरेन्द्रनगरमा जनचेतना कृषि सहकारीमार्फत परियोजनाले काम गर्दै आएको छ ।
वीरेन्द्रनगरका किसानको खेतबारीको पनि माटो परीक्षणसँगै स्वास्थ्य कार्ड बनाउन थालिएको छ । सहकारी संस्थाका कृषि प्राविधिक शिव अधिकारी भन्नुहुन्छ– ‘माटोको नमूना सङ्कलन गरेर माटो सेवा प्रयोगशालाबाट हुन्छ, त्यसका बारेमा किसानलाई जानकारी गाराएका छौँ, त्यसका साथै माटो परीक्षणपछिको रिपोर्ट स्वास्थ्य कार्डमा राखिन्छ, यसले किसाले आफ्नो जग्गाको माटोको अवस्था थाहा पाउनेछन् ।’ अधिकारीले स्वास्थ्य कार्डमा राखिएको माटोको रिपोर्टका आधारमा आफूहरूले उत्पादकत्व बढाउन सिफारिस गर्ने गरिएको बताउनुहुन्छ ।
पञ्चपुरी नगरपालिकाले पनि पछिल्लो उत्पादकत्वको अवस्थाका बारेमा किसानलाई जानकारी दिन थालेका छन् । माटो जाँच गरी स्वास्थ्य कार्ड उपलब्ध गराउने तयारी गरिएको छ । माटोको अवस्था हेरेर पालिकाबाट कृषिसम्बन्धीका योजना बनाइने नगरपालिका कृषि उपशाखा प्रमुख दीपेन्द्र न्यौपाने बताउनुहुन्छ ।
पछिल्लो समय सुर्खेतका किसानलाई मल, बीउसँगै कृषिसम्बन्धी तालिम दिन थालेपछि उत्पादनमा समेत वृद्धि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नारायणगढ–बुटवल सडक : दाउन्नेमा आजदेखि चार घण्टा बन्द
- आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
- नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता
- राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र हो : अध्यक्ष नेपाल
- एमालेको कार्यक्रममा कार्यकर्ता ओसार्न सरकारी खर्चमा इन्धन वितरण
- रवीन्द्र मिश्र र धवलशमशेर राणालाई अझै १५ दिन हिरासतमा राखिने
- प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : लिङ्देन
- बालेनद्वारा राप्रपालाई धन्यवाद
- आन्दोलनरत शिक्षकलाई सरकारले पुनः वार्तामा बोलायो
- प्रतिगमनको ढोका खोल्न संविधान संशोधन गर्दैनौँ : प्रधानमन्त्री