
म्याग्दी । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू । बीचमा सडक । भित्तातर्फ सुक्खा पहाडमाथि हरियाली वनजङ्गल । झुरुप्पको बाक्लो बस्तीभित्र ढुङ्गा बिछ्याएका सफासुग्घर गल्लीहरू । चिटिक्क परेका घरहरूमा बसोबास गर्ने नेपालका अल्पसङ्ख्यक थकाली समुदायको भाषा, संस्कृति, रहनसहन र जीवनशैली । गाउँको डिलमा बगैँचासहितको उद्यानमा बसेर स्याउका दाना र नाउरको प्रतिमाको पृष्ठभूमिमा देखिने हिमाल, नदी र बस्तीहरू ।
यी दृश्य मुस्ताङको घरपझोङ गाउँपालिका–३ मा पर्ने स्याङगाउँका हुन् । जोमसोम बजारको नजिकैको स्याङ संस्कृति र प्रकृतिको सङ्गम हो । बीच भागमा रहेको बेनी–जोमसोम–कोरला सडक भएर वर्षेनी लाखौँ पर्यटक मुस्ताङ ओहोरदोहोर गर्छन् । जोमसोम र राष्ट्रिय सडक छेवैको स्याङगाउँमा पर्यटकको चहलपहल बढ्न नसकेकामा स्थानीयवासी चिन्तित बनेका घरपझोङ गाउँपालिका–३ का वडासदस्य वीरप्रसाद थकालीले सुनाउनुभयो ।
‘धेरै पर्यटक सिधैँ मुक्तिनाथ पुगेर फर्किन्छन्’ उहाँले भन्नुभयो– ‘घुम्न र हेर्नलायक धेरै ठाउँ भए पनि ओझेलमा परेको स्याङ गाउँमा जोमसोम र मुक्तिनाथ आउने पाहुनालाई भित्र्याउने प्रयास थालेका छौँ ।’ आठवटा घरमा घरबास सञ्चालन भएको स्याङ गाउँमा सडक र पैदलमार्ग प्रयोग गरेर पुग्न सकिन्छ । पारिवारिक वातावरणमा थकाली खानाका परिकारको स्वाद चाख्न पाइने स्याङफोला सामुदायिक होमस्टेका सञ्चालक देवेन्द्र थकालीले बताउनुभयो । थकाली खानाको परिकार देशविदेशमा प्रसिद्ध छ ।
अल्पसङ्ख्यक जातिमा सूचीकृत थकाली समुदाय स्वागत सत्कार र मिठो खानाका परिकार बनाउन सिपालु मानिन्छन् । स्याङवासीले मौलिक थकाली भाषा बचाएर राखेका छन् । बोलीचालीमा भरसक आफ्नै भाषा प्रयोग गर्छन् । एक सय १२ घर रहेको स्याङ गाउँको बीच भागमा गुम्बा छ । गाउँको डिलमा रहेको उद्यानमा रातो )रेड डेलिसियस) र पहेँलो (गोल्डेन डेलिसियस) जातको स्याउको प्रतिमा बनाइएको छ । सँगै बौद्ध धर्मगुरु रिम्पोचेको सालिक र जङ्गली जनावर नाउरको पनि प्रतिमा छ । सालिक र प्रतिमाको पृष्ठभूमिमा निलगिरि हिमाल, जोमसोम, ठिनी, धुम्बा, मार्फाबजार र स्याउबारी देखिन्छ । उद्यानलाई स्थानीयवासीले ‘मानशान्ति पार्क’को नाम दिएका छन् ।
सुन्दर, शान्त र रमणीय, सदरमुकामको नजिक भए पनि प्रचारप्रसारको कमीले स्याङ गाउँ ओझेलमा परेको ठहर गरेका स्थानीयवासी पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जुटेका छन् । हरेक वर्षको साउनमा लाग्ने खिला मेलालाई उनीहरुले संस्कृति संरक्षणका साथै पर्यटक भित्र्याउने माध्यम बनाउन थालेका छन् । घरपझोङ गाउँपालिकाले स्याङ र जोमसोम बजार जोड्ने पदमार्गको परिकल्पना गरेर किचिथाङमा एक सय २० मिटर लामो झोलुङ्गे पुल बनाएको वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले बताउनुभयो ।
जोमसोमबाट सिन्तामणि होटल, किचिथाङको झोलुङ्गे पुल हुँदै स्याङ गाउँ जोड्ने छोटो दूरीको पदमार्गले पर्यटकको बसाइ लम्ब्याउने र उनीहरूलाई प्रकृतिमा रमाउन सहयोग पुग्ने विश्वास वडाध्यक्ष थकालीको छ । स्याङखोलाको किनारमा रहेको कैह्योलोङ गुफा पनि अर्को आकर्षण हो । थकाली भाषामा कैह्योलोको अर्थ बिहे नगरेको र ङलाई ओडार भन्ने गरिन्छ ।
गुफाभित्र तीनवटा खाना पकाउने, ध्यान बस्ने, सामान राख्ने कोठा छन् । त्यो गुफामा परापूर्वकालमा लामा ध्यान बस्ने गरेका स्थानीयवासी बताउँछन् । स्याङका पूर्व वडासचिव किरन सापकोटाले कैह्योलोङ गुफा मानव सभ्यताको विकाससम्बन्धी अध्ययन गर्नेहरूका लागि खोजको विषय बन्न सक्ने बताउनुभयो । स्याङखोलाको मोटरेबल पुलबाट १० मिनेट पैदलयात्रा गरेपछि गुफामा पुगिन्छ । जनकल्याण युवा क्लबले स्याङखोलाको किनारबाट गुफासम्म पुग्ने रेलिङसहितको पदमार्ग बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
- नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता
- राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र हो : अध्यक्ष नेपाल
- एमालेको कार्यक्रममा कार्यकर्ता ओसार्न सरकारी खर्चमा इन्धन वितरण
- रवीन्द्र मिश्र र धवलशमशेर राणालाई अझै १५ दिन हिरासतमा राखिने
- प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : लिङ्देन
- बालेनद्वारा राप्रपालाई धन्यवाद
- आन्दोलनरत शिक्षकलाई सरकारले पुनः वार्तामा बोलायो
- प्रतिगमनको ढोका खोल्न संविधान संशोधन गर्दैनौँ : प्रधानमन्त्री
- फेरि कम्युनिस्ट एकता असम्भव छैन : प्रचण्ड