
काठमाडौँ । बङ्गलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एशियाली फुटबल महासङ्घ) यू–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बङ्गलादेशले सो उपाधि पहिलो पटक जितेको हो ।
ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मुख्यालयको खेलमैदानमा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपालमाथि ४–१ गोलको जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो । यसअघि दुईपटक फाइनलमा पुगेको बङ्गलादेश दुवै पटक पराजित हुँदै उपविजेता बनेको थियो । सन् २०१९ र सन् २०२२ मा भएको साफ च्याम्पियनशिपमा बङ्गलादेश फाइनलमा पुगेको थियो । त्यतिबेला दुवै पटक भारतसँग पराजित हुँदै बङ्गलादेश उपविजेतामा सीमित बनेको थियो ।
बङ्गलादेशको जितमा आजको खेलमा मिराजुल स्लामले दुई गोल गरे भने रब्बी होसेन राहुल र मोहम्मद पिस अम्मद नोभाले समान एक–एक गोल गरे । खेलको पहिलो हाफको अतिरिक्त समयमा मिराजुलले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५५औँ मिनेटमा अस्दुल मोल्लाले दिएको पासलाई सदुपयोग गर्दै मिराजुलले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरे । खेलको ७१औँ मिनेटमा बङ्गलादेशका अर्का खेलाडी रब्बीले गोल गर्दै टोलीलाई तेस्रो अग्रता दिलाए ।
त्यस्तै, खेलको ८१औँ मिनेटमा नेपालका समीर तामाङले गोल गरे । बङ्गलादेशका गोल किपर अगाडि गएको अवस्थामा सान्त्वना गोल गरे ।
यसैगरी, बङ्गलादेशका अर्का खेलाडी नोभाले खेलको दोस्रो हाफको अतिरिक्त समयमा एक गोल थपे । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः बङ्गलादेशले नेपालमाथि ४–१ को ऐतिहासिक जित हासिल ग¥यो । हारसँगै साफ च्याम्पियनशिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्ने नेपालको सपना अधुरै रहन पुगेको छ ।
नेपालबाटै सन् २०१५ मा साफ यू–१९ च्याम्पियनशिपका नामबाट सुरुआत भएको उक्त च्याम्पियनशिपको उपाधि सुरुआतमा नेपालले जितेको थियो । उक्त च्याम्पियनशिपको फाइनल खेलमा नेपालले भारतलाई ‘टाइब्रेकर’मा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएकोे थियो । उक्त च्याम्पियनशिप यसअघि कहिले साफ यू–१८ र कहिले साफ यू–२० को नामबाट सञ्चालन हुँदै आएको छ ।
त्यसैगरी, सन् २०१७ मा भूटानमा आयोजना भएको साफ यू–१८ च्याम्पियनशिपमा पनि नेपालले उपाधि जितेको थियो । त्यतिबेला राउन्ड रोबिन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपालले शीर्ष स्थानमा रहँदै प्रतियोगिताको उपाधि जितेको थियो ।
छैटौँ संस्करणको प्रतियोगिताको लिग चरणका खेलमा भने नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । त्यसैगरी, सेमिफाइनलमा नेपालले भूटानलाई तथा बङ्गलादेशले भारतलाई पराजित गर्दै साफ यू–२० च्याम्पियनशिपको फाइनलमा स्थान बनाएका हुन् ।
भदौ २ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का, भारत, माल्दिभ्स र भूटानले सहभागिता जनाएका थिए । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने तालिका थियो तर वर्षाका कारण खेलमैदान हिलाम्य हुँदा एन्फाले प्रतियोगिताको सम्पूर्ण खेल सातदोबाटोमा खेलाइएको हो ।
विजेतालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुल परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्बाङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी