
काभ्रे । रोशी गाउँपालिका–३ स्थित ताराखसे पोखरी पर्यटकीय गन्तव्य बनेको छ । स्थानीय सरकारले पोखरी वरपर भौतिक संरचना निर्माण गरेपछि लेकको शीरमा रहेको पोखरी हेर्न पर्यटक आउन थालेका छन् । स्थानीय गङ्गाबहादुर तामाङका अनुसार ताराखसे पोखरी हेर्न र घुम्नकै लागि पर्यटक आउन थालेका हुन् ।
यहाँ आउने पर्यटकहरुले पोखरी छेवैमा रहेको देवीथानको दर्शन गर्ने गरेका छन् । त्यो ठाउँमा पुगेर स्नान गरी देवीको दर्शन गर्दा मनोकाङक्षा पूरा हुने जनविश्वास छ । रोशी गाउँपालिका–३ का स्थानीय सुरज लामाका अनुसार गुरु रेन्पोछे (पद्मसम्भव) ले पाइला टेकेको पवित्र ठाउँ भएकाले महाभारत लेकको टुप्पोमा रहेको पोखरीमा जस्तोसुकै खडेरीमा पनि पानी सुक्दैन । यहाँ जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने गर्छ । जनैपूर्णिमाका दिन धामी झाँक्री त्यो कुण्डमा पुगेर दर्शन गरेपछि शक्ति आर्जन गर्ने बताउँछन् ।
परापूर्वकालमा ताराको टुक्रा खसेर जमिन भासिएर परेको खाल्डोमा पोखरी जमेपछि कुण्ड बनेको बताइन्छ । त्यो पोखरी सङ्लो रहने र कहिल्यै नसुक्ने स्थानीय बताउँछन् । गाउँपालिकाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा ताराखसे पोखरी रहेकोे रोशी गाउँपालिका–३ का वडाध्यक्ष धनजित लामाले बताउनुभयो ।
गुरु रेन्पोछे खोटाङको हलेसीबाट यात्रा गर्दै तेमालस्थित यारीनाग गुफा, महाभारत लेकको हात्ती आहाल, ताराखसे पोखरीमा पुगेर ध्यान गरेको किंवदन्ती छ । धार्मिक र पर्यटकीय दृष्टिले मनमोहक यस ठाउँको पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण शुरु गरिएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । हाल पोखरी भएको स्थानमा जान सडक, वनभोज स्थल र शौचालय लगायतका संरचना बनिसकेका छन् ।
रोशी गाउँपालिका उपाध्यक्ष मीमबहादुर वाईबाले दूई हजार पाँच सय ५० मिटरको उचाइमा अवस्थित ताराखसे लेकको विकास र पर्यटन प्रवर्द्धन गर्न पालिकाले योजनाबद्धरुपमा काम गरिरहेको बताउनुभयो । महाभारत क्षेत्र घुम्ने पदमार्ग निर्माण भइरहेको उहाँको भनाइ छ । हाल फूलचोकीदेखि ताराखसे पोखरीसम्म सिँढी निर्माण भइसकेको र त्यहाँबाट भूमेचुली जुकेपानी हुँदै सिन्धुलीको घ्याङलेकसम्मको विस्तृत गुरुयोजना तयार पारिएको उहाँले बताउनुभयो ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले ताराखसे पोखरीबारे प्रचार गर्न आग्रह गर्नुभयो । उहाँले पोखरी व्यवस्थापन र आवश्यक संरचना निर्माण भइरहेको जानकारी दिनुभयो । सङ्घीय सरकारको विशेष अनुदानतर्फ आर्थिक वर्ष २०८०र ०८१ मा एक करोड बजेटबाट सिँढी, रेलिङ, शौचालय, धारा, खानेपानी ट्याङ्की, आवासस्थल र सवारी पार्किङस्थल निर्माण गरिएको छ ।
यहाँबाट वरिपरीको हरियाली डाँडाकाँडासँगै सुन्दर हिमालका दृश्य अवलोकन गर्न सकिन्छ । ताराखसे पुग्न बनेपाबाट नमोबुद्ध–दाप्चा–गहते–फलामे साँघु–शिखर आम्बोट–साँझकोट–निङ्गालेहुँदै जानुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
- नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता
- राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र हो : अध्यक्ष नेपाल
- एमालेको कार्यक्रममा कार्यकर्ता ओसार्न सरकारी खर्चमा इन्धन वितरण
- रवीन्द्र मिश्र र धवलशमशेर राणालाई अझै १५ दिन हिरासतमा राखिने
- प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : लिङ्देन
- बालेनद्वारा राप्रपालाई धन्यवाद
- आन्दोलनरत शिक्षकलाई सरकारले पुनः वार्तामा बोलायो
- प्रतिगमनको ढोका खोल्न संविधान संशोधन गर्दैनौँ : प्रधानमन्त्री
- फेरि कम्युनिस्ट एकता असम्भव छैन : प्रचण्ड