
भोजपुर । अरुण नदीको पानी लिफ्ट प्रविधिमार्फत सातटार बस्तीमा पुगेपछि वषौँदेखिको पानीको समस्या हटेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले १ हजार ५ सय मिटर तल रहेको अरुण नदीको पानी सोलार लिफ्टमार्फत बस्तीमा पु¥याएपछि स्थानीयले सुखको श्वास फेरेको सातटारेका स्थानीयवासी गजेन्द्र कटुवालले बताउनुभयो ।
आर्थिक वर्ष २०७७÷७८ बाट निर्माण थालिएको आयोजनाको कुल लागत रु तीन करोड ३७ लाख ५८ रहेको कार्यालयले जनाएको छ । कार्यालयले सङ्खुवासभाको चैनपुर नगरपालिका– ११ मा खहरे सातटारे सोलार लिफ्ट आयोजना सञ्चालन गरेर यहाँका ६४ घर परिवारलाई पानी वितरण गरेको छ ।
घण्टौँ लगाएर खोलाखोल्सी तथा अरुण नदीबाट डोकोमा बोकेर पानी खाइरहेको अवस्थामा बस्तीमा पानी पुग्दा खुसी लागेको कटुवालको भनाइ छ । “सुक्खा क्षेत्र भएकाले यहाँ पानीको अतिनै समस्या थियो”, उहाँले भन्नुभयो, “खोला खोल्सी र कुवाबाट पानीको जोह गर्दै आएका थियौँ । कुवा पनि सुक्न थालेको अवस्था छ । अब भने हाम्रो वषौँको समस्या अन्त्य भएको छ ।”
स्थानीयले भोगिरहेको पानीको समस्या अन्त्यका लागि प्राथमिकताका साथ योजना निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताउनुभयो । योजनाको मुख्य काम सकिएर वितरण सुरु भएको र उपभोक्ता समितिलाई हस्तान्तरणको तयारी गरिएको प्रमुख सिंहको भनाइ छ । “योजनाको मुख्य काम सकिएको छ”, प्रमुख सिंहले भन्नुभयो, “सबै काम सकिएर बस्तीमा पानी वितरण थालिएको छ । बाँकी साना काम सम्पन्न गरी समितिलाई हस्तान्तरण गर्ने छौँ ।”
सोलार लिफ्ट आयोजना सुरुमा खर्चिलो भए पनि दीर्घकालीन हिसाबले मितव्ययी भएको उहाँको भनाइ छ । खानेपानीका लिफ्ट प्रकृतिका योजना सञ्चालन गर्दा प्रदेश तथा केन्द्र सरकारले सोलार प्रविधिको लिफ्ट आयोजनालाई प्राथमिकता राख्नुपर्ने उहाँको सुझाव छ ।
“यो योजना सोलार प्रविधिबाट सञ्चालन गरिएको हो”, प्रमुख सिंहले भन्नुभयो, “यस्ता खालका योजना सञ्चालनले उपभोक्ता समितिले बढी महसुल तिर्नुपर्दैन । एक पटक खर्च गरेपछि विद्युत् जस्तो धेरै खर्चिलो हुदैन । सरकारले विद्युतीय भन्दा पनि सोलार प्रविधिलाई जोड दिन आवश्यक छ ।”
बस्तीमा पानीको हाहाकार भइरहेको अवस्थामा योजना सञ्चालनले दैनिक जीवनमा परिवर्तन आएको निर्माण उपभोक्ता समितिले जनाएको छ । योजनाको सम्पूर्ण काम सकेर ६४ घरपरिवारमा पानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष सूर्यबहादुर कटुवालले बताउनुभयो । उपभोक्ता समितिको चौकीदार बस्ने घरसमेत निर्माण गरिएको छ । योजनाको करिब सम्पूर्ण काम अन्तिम चरणमा रहेको अध्यक्ष कटुवालको भनाइ छ ।
“पानीको अभावमा यहाँको बस्ती नै खाली हुने अवस्था थियो”, अध्यक्ष कटुवालले भन्नुभयो, “अरुण नदीबाट धमिलो पानी डोकोमा बाकेर खानुपर्ने अवस्था थियो । तर अब पानीको अभावमा भौतारिनुपर्ने अवस्थाको अन्त्य भएको छ । बस्तीमा पानी वितरण थालेका छौँ । योजनाको काम लगभग सकिएको अवस्था छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी