
महोत्तरी । महोत्तरीको प्रसिद्ध धार्मिकस्थल टुटेश्वरधाम नजिकैको माण्डवीगङ्गा (मडहा) नदी किनारको उकास जग्गा नयाँ बिरुवाले भरिँदैछ । नदी उकासको करिब १३ हेक्टर जग्गामा बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना कार्यालयले वृक्षरोपण थालेको छ । यहाँ २० हजार नयाँ बिरुवा धमाधम रोपिँदै छन् ।
राष्ट्रिय गौरवको आयोजना बर्दिबास मेडिकल कलेज निर्माण प्रक्रिया अघि बढाउन अहिले सघन वृक्षरोपण थालिएको हो । कलेज निर्माणका लागि प्रस्तावित ठाउँ बर्दिबास–४ माइस्थानको अटाबे खोल्सीदेखि पूर्व र भब्सीखोलादेखि पश्चिमको सामुदायिक वन क्षेत्रमा रहेका १ हजार ९ सय ६७ रुख कटान गर्न पूर्व सङ्ख्याको १० गुणा बढी रुख रोप्नुपर्ने सर्वोच्च अदालत र नेपाल सरकारको निर्देशानुसार माण्डवीगङ्गा तटको नदी उकास जग्गामा वृक्षरोपण गरिँदैछ ।
शनिबारदेखि अभियान थालिएको हो । हालसम्म पाँच हजारभन्दा बढी बिरुवा रोपिएका छन् । महिनाभित्र २० हजार बिरुवा रोपीसक्ने बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना कार्यालयका प्रमुख देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । यसअघि वनक्षेत्रमा कलेज निर्माण रोक्न भन्दै सर्वोच्चमा २०७८ मा परेको रिट अदालतले २०८० जेठ २९ गते खारेज गरेको थियो । सर्वोच्चले मुद्दा खारेज गरेसँगै गत माघ ३ गते मन्त्रिपरिषद्ले अदालतको आदेशानुसार रुख काट्न स्वीकृति दिँदै पूर्व नयाँ वृक्षरोपण गर्न निर्देश गरेको थियो ।
‘हामीले सर्वोच्च अदालत र मन्त्रिपरिषद्को निर्णय बमोजिम काम अघि बढाउन वृक्षरोपण थालेका छौँ’ प्रमुख सुवेदी भन्नुहुन्छ । बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षत्रीले अब कलेज निर्माण प्रक्रियाले गति लिने विश्वास व्यक्त गर्नुभयो । ‘अब कलेजको पूर्वाधार निर्माण कार्य अघि बढाउन अड्चन छैन’ उहाँले भन्नुभयो ।
दक्ष जनशक्ति तयार गर्दै नाथम
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को बर्दिबास शाखा अहिले दक्ष जनशक्ति तयार गर्दैछ । विसं २०७७ मा स्थापना भएर २०७८ देखि ‘ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट’ विषयको पठनपाठन र अभ्यास गराउँदै आएको सो प्रतिष्ठानले यसपालि मधेश प्रदेश सरकारको श्रम तथा रोजगार मन्त्रालयको सहकार्यमा एक सय ५० जनालाई विभिन्न विधामा तीन महिने सीप तालिम दिएर दक्ष जनशक्ति तयार गरेको छ ।
प्रतिष्ठानले होटल व्यवस्थापन (म्यानेजमेन्ट) विषयमा अन्तर्राष्ट्रिय पाठ्यक्रम पात्रो (तालिका) अनुसार २०७८ असोजदेखि पठनपाठन र अभ्यास गराउन थालेको हो । अहिले दुई समूहका गरी ३९ प्रशिक्षार्थी होटल व्यवस्थापन विषयमा सैद्धान्तिक ज्ञान र सीप तिखार्दैछन् । पहिलो समूहका १७ जनाले अहिले चौँथो सेमेस्टर पूरा गर्दैछन् । दोस्रो समूहका २२ जना दोस्रो सेमेस्टरको अभ्यासमा छन् । प्रतिष्ठानले डिप्लोमा तहको पाठ्यक्रम अनुसारको कक्षाबाहेक यसपालीदेखि होटल व्यवस्थापनका विभिन्न विधामा तीन महिने तालिम पनि सञ्चालन गर्न थालेको हो । तालिम मधेश प्रदेश सरकारको श्रम तथा रोजगार मन्त्रालयको सहकार्यमा सम्पन्न गरिएको प्रतिष्ठानको बर्दिबास शाखाका प्रमुख शिवेन्द्र मल्लिकले जानकारी दिनुभयो ।
तालिमबाट सिकेको सीप उपयोगी भएको प्रशिक्षार्थीले बताएका छन् । ‘म दुई पटक विदेश गएँ, तर त्यहाँ चाहिने सीपको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान नहुँदा राम्रो काम नपाएर फर्कनुपर्यो’ बाराको कलैया–७ का २५ वर्षीय मोहम्मद फैज अन्सारी भन्नुहुन्छ– ‘यसपाली नाथममा तीन महिने कुक तालिम लिएँ, अब विदेश गएर राम्रो कमाइ गर्नसक्छु भन्ने विश्वास जागेको छ ।’
सर्लाहीको मलङवाकी अनिता जयसवाल, सिरहाको मिर्चैयाका अमन राय र धनुषाको मिथिला–१० की सीता कर्माचार्यले पनि तीन महिने तालिम आफूहरुका लागि जीवन निर्वाह र आर्जनका लागी महत्वपूर्ण उपलब्धि बनेको बताउनुभयो । मधेशमा वैदेशिक रोगारीमा जाने ठूलो सङ्ख्या भए पनि काममा दक्षता नहुँदा थोरै पारिश्रमिकमा धेरै मेहनत गर्नुपर्ने अवस्था छ । तालिमपछि अवस्थाको अन्त्य हुने मधेश प्रदेश सरकारको श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेन्द्र पौडेलले ताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री