
काठमाडौँ । मनसुन शुरु भएसँगै भारी वर्षा भए मेलम्ची खानेपानी आयोजना बन्द गरिने भएको छ । बिहीबारदेखि आयोजना बन्द गर्ने तयारी गरिएको भएपनि तत्काल मनसुन सक्रिय नहुँदा बन्द नगरिएको हो ।
मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा शुरु भएसँगै बन्द गर्ने र वर्षा अन्त्य भएसँगै खोल्ने गर्दै आइरहेको छ । जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसत भन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको छ ।
मनसुन शुरु भए पनि मुलुकको पूर्वी क्षेत्रमा मात्रै सक्रिय भएको र अन्य भू(भागमा सक्रिय भएको छैन । मनसुन सक्रिय भएर मेलम्ची आयोजनामा ठूलो क्षति पुग्ने सम्भावना देखिएमा जुनसुकै समयमा बन्द गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताउनुभयो । ‘हिजो नै मेलम्ची खानेपानी आयोजना बन्द गर्ने तयारी थियो, तर वर्षा शुरु नभई किन बन्द गर्ने भनेर सुचारु गरिरहेका छौँ’ उहाँले भन्नुभयो, “यदि अचानक ठूलो वर्षा हुने सम्भावना देखियो भने जुनसुकै समयमा बन्द गर्नेछौँ ।’
लामिछानेका अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिए पनि हाल मेलम्ची खानेपानी आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । खानेपानी अभाव भइरहेको बेला तत्काल बन्द गर्नु उपयुक्त नरहेको उहाँको भनाइ छ ।
हामीलाई परामर्शदाता र एशियाली विकास बैङ्कले मेलम्ची बन्द गर्नुपर्छ, नत्र आयोजनालाई मनसुनी विपत्तिले क्षति गर्छ भनिरहनुभएको छ’ उहाँले भन्नुभयो– ‘अहिले उपभोक्ताले खानेपानीको सङ्कट भोगिरहेको अवस्थामा मेलम्चीको खानेपानीले केही राहत दिलाएको छ, तसर्थ जहिले वर्षा शुरु हुन्छ तहिले बन्द गर्छौं भनेर जवाफ दिएका छौँ ।’
मौसमविद्ले वाग्मती प्रदेशमा पनि छिट्टै मनसुन सक्रिय हुने जानकारी दिएका छन् । काठमाडौँ उपत्यका लगायत बागमती प्रदेशको केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
महाशाखाको मौसमविद् सरोज पुडासैनीले हाल देशको पूर्वी भू(भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले मनसुन सक्रिय हुन नसकेको जानकारी दिनुभयो ।
मनसुन शुरु भएमा केही दिन पछि उपत्यकावासीको धारामा मेलम्चीको खानेपानी आउने सम्भावना न्यून छ । दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीले आयोजनामा करिब २ अर्ब मूल्य बराबरको क्षति पुगेको गहृमन्त्रालयले जनाएको थियो । गत साउन २८ र २९ गतेको बाढीले फेरि आयोजनाको संरचनामा क्षति पुगेको थियो ।
मनसुन सकिएपछि मेलम्चीको खानेपानी पुनः वितरण गरिने भनिए पनि माघ १ गते मात्रै वितरण गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया नेपालमा जुन १० मा मनसुन अवधि शुरु हुने र चार महिनासम्म मनसुन अवधि रहन्छ । यस अवधिसम्म वाग्मती सुधार आयोजना अन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने तयारी गरिएको छ । त्यसका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता–एकीकृत विकास समितिसँग सहमति भएको विकास समितिका कार्यकारी निर्देशक लामिछानेले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिडेटका प्रवक्ता प्रकाशकुमार राईले उपत्यकामा मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानीको अभाव बढ्ने भएकाले खानेपानी आपूर्ति व्यवस्थापनलाई सहज बनाउन धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी ल्याउने सहमति भएको जानकारी दिनुभयो । ‘मेलम्ची खानेपानीबाहेक विभिन्न स्थानबाट यो सुक्खा समयमा ९ करोड लिटर दैनिक उपभोक्तालाई खानेपानी वितरण हुन्छ, त्योमध्ये ४० प्रतिशत भूमिगत पानीले कभर गर्छ’ उहाँले भन्नुभयो– ‘अब मेलम्चीको पानी बन्द भएपछि उपत्यकामा फेरि पानीको अभाव हुन सक्छ, मेलम्चीको विकल्पमा अन्य आयोजनाको खोजी गरिनुपर्छ ।’
उहाँका अनुसार काठमाडौँमा दैनिक ४३ करोड लिटर खानेपानी माग भएपनि आवश्यकताअनुसार आपूर्ति गर्न सकिएको छैन । उपत्यकामा बढ्दो जनसङ्ख्यासँगै भूमिगत पानी, पोखरी, ढुङ्गेधारा सुक्दै जाँदा खानेपानी अभाव बढिरहेको छ ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाले उपत्यकामा मेलम्चीको खानेपानीले आपूर्ति व्यवस्थापन मात्रै नगरेर जमिनमुनिको पानीको सहत बढाएको जानकारी दिनुभयो । बोर्डका अनुसार उपत्यकामा रहेका ८ सय ३७ ओटा ढुङ्गेधारामध्ये एक सय १७ वटा ढुङ्गेधारा लोप भइसकेका छन् । सञ्चालनमा रहेका ७ सय २० मध्ये ३ सय २० ढुङ्गेधारा सुकिसकेका छन् । कतिपय ढुङ्गेधारालाई जीवत बनाउन पानीको स्रोत खोज्नुपर्ने र त्यसो गर्दा झन् पानीको स्रोत हराउने खतरा रहेको उहाँको भनाइ छ ।
भू–गर्भविद् डा सुबोध ढकालले उपत्यकामा बढ्दो जनसङ्ख्यासँगै जमिनमुनिको पानीको बढी आपूर्ति हुने, भौतिक पूर्वाधारको विकासका कारण सतहमुनि पानीको रिचार्ज नहुने लगायतका कारण सतहमुनिको पानी घट्दै गएको जानकारी दिनुभयो । सतहमुनिको पानी संरक्षण गर्दै मेलम्ची खानेपानी आयोजनालाई दिगो बनाउन सकेमा उपत्यकामा खानेपानीको दिगो समाधान गर्न सकिने विज्ञहरुको सुझाव छ । समितिले मेलम्ची खानेपानी आयोजनालाई दिगो बनाउन नयाँ स्थान (सार्कस्थली) मा आयोजना सार्ने तयारी गरिरहेको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’