
पर्वत । केही दिनयताको अत्यधिक गर्मी र खडेरीका कारण पर्वतका कृषकले रोपेको कोदो बारीमै सुक्न थालेको छ । जिल्लाका अधिकांश भागमा जेठ दोस्रो सातादेखि कोदो रोपाइँ शुरु भएको थियो । लामो समयसम्म नपरेको वर्षा र अत्यधिक गर्मीका कारण रोपेको कोदो सुकेर नष्ट भएको कृषकले गुनासो गरेका छन् ।
पर्वतमा धानबाली पछि कोदो दोस्रो मुख्य बाली हो । बारीमा लगाएको मकै गोडमेल गरेर कोदो रोपेका कृषक वर्षा नभएपछि चिन्तित हुन थालेका छन् । जनशक्तिको अभावमा बल्लतल्ल रोपेको कोदो खडेरीले नष्ट गरिदिएको कुश्मा नगरपालिका–१२ की कृषक राधाकुमारी सापकोटाले बताउनुभयो । ‘दुई दिन लगाएर कोदो रोपियो, यही बेला पानी परेन, पूरै सुकेर नष्ट भइसक्यो ।’
एकपटक रोपेको ठाउँमा फेरि वर्षा भएपछि पुनः रोप्नुपर्ने अवस्था आएको कृषकले गुनासो गरेका छन् । पर्वतका ६१ वटै वडामा कोदोखेती हुँदै आएको छ । पछिल्लो केही वर्षयता कोदोको माग गाउँ, शहर र विदेशमा समेत निर्यात हुने क्रम बढेपछि पर्वतमा कोदो खेतीतर्फ आकर्षण बढ्दै गएको छ । कोदो रोपेर धान रोप्ने तयारी गरेका कृषक बारीमै कोदो सुकेर नष्ट भएपछि समस्यामा परेको फलेवास नगरपालिका–५ का कृषक धर्मराज पौडेलले बताउनुभयो ।
धानखेती हुने ठाउँमा सिँचाइको सुविधा हुने भए पनि पर्वतका अधिकांश क्षेत्रको बारीमा भने वर्षाकै भरमा खेती गरिँदै आएको छ । खडेरीसँगै अत्यधिक गर्मीले जनजीवनसमेत प्रभावित बनेको छ । पर्वतमा यस वर्ष सबैभन्दा धेरै ३५ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ ।
कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शङ्कर पौडेलले जिल्लाका अधिकांश ठाउँमा कोदो रोपाइँ भइरहेको बताउनुभयो । खडेरीका कारण रोपेको कोदो सुक्दै गएको गुनासो आएको भन्दै पौडेलले क्षतिको यकिन विवरण भने आइनसकेको बताउनुभयो । पालिकामार्फत खडेरीले कोदोखेतीमा पुर्याएको क्षतिको तथ्याङ्क सङ्कलनको काम भइरहेको पौडेलको भनाइ छ । कार्यालयले गत वर्षदेखि कोदोबाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषकलाई विभिन्न सहयोगसमेत गर्दै आएको छ ।
कृषि ज्ञान केन्द्र पर्वतले रैथाने बाली उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने कृषकलाई अनुदान दिन थालेको छ । चालु आर्थिक वर्षमा थप साढे २८ हेक्टर क्षेत्रफलमा कोदो खेती विस्तारका लागि केन्द्रले सहयोग गरेको हो । कोदो खेती गर्ने कृषकलाई यान्त्रिकीकरणमा सहयोग गरिएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख पर्शुराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा रु पाँच लाख कोदो बालीको प्रवद्र्धनका लागि कृषकलाई वितरण गरिएको छ ।
कृषकलाई यान्त्रिक हलो र थ्रेसर मेसिन उपलब्ध गराइएको छ । यसले बाँझो बारी खनजोत गर्न र उत्पादन भइसकेपछि कोदो झार्न सहज हुने भएको छ । कृषकलाई कार्यबोझ घट्नुका साथै उत्पादन लागतसमेत कम होस् भन्ने उद्देश्यले यान्त्रिकीकरणमा सहयोग गरिएको कार्यालयले जनाएको छ ।
पर्वतमा झापे, डल्ले, मङ्सिरे र स्थानीय जातको कोदो उत्पादन हुँदै आएको छ । जिल्लाको आठ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा कोदोको उत्पादन हुने अधिकारीले बताउनुभयो । यस वर्ष पर्वतमा ८ हजार ३ सय १० मेट्रिक टन कोदो उत्पादन भएको थियो । जसमध्ये ५ हजार १ सय ७५ मेट्रिक टन कोदो निर्यात भएको कार्यालयले जनाएको छ ।
कोदो बाली लगाउने बेला वर्षा नहुँदा आगामी वर्ष उत्पादनमा केही कमी आउन सक्ने कार्यालयले जनाएको छ । कोदोको बीउ निर्धारित समयमै रोप्न सकिएन भने उत्पादन कम दिने कार्यालयको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’