
पोखरा । जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने/ओराल्ने गर्दा पोखराको पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त बनेको छ । गत साउनदेखि पृथ्वीचोक–सेतीपुल सडकको दुवैतर्फ पार्किक निषेध गरिएकामा वर्षदिन नपुग्दै नियम उल्लङ्घन भएको हो । पर्यटकीय राजधानीसमेत रहेको पोखराको अतिव्यवस्त पृथ्वीचोकलाई व्यवस्थित बनाउन जिल्ला सुरक्षा समितिको बैठकले पार्किङ निषेधको घोषणा गरेको थियो ।
पार्किङ हटेपछि केही समय सो क्षेत्र शान्त र खुला देखिएको थियो । लामो दुरीका सवारीसाधन पृथ्वीचोकको भित्रपट्टि रहेको बसपार्कबाट छु्ट्न थालेका थिए । नगर बसलगायत छोटो दूरीका सवारीसाधनले पनि धेरैबेर नरोकी तोकेको स्थानमा यात्रु चढाउने र ओराल्ने गर्थे । पैदल यात्रुलाई पनि आउजाउ गर्न सहज बनेको थियो । तर अहिले हिजोकै अवस्थामा पृथ्वीचोक पुगेको छ ।
काठमाडौँ लगायत लामो दुरीमा चल्ने बसले पनि सडक किनाराबाटै यात्रु चढाउन थालेका छन् । बसपार्क हुँदाहुँदै सडकबाटै यात्रु चढाउने र ओराल्ने गर्दा सवारी जामको समस्या देखिन थालेको छ । माइक्रो, ट्याक्सीलगायत सवारीसाधन लामो समय रोकिराख्दा पृथ्वीचोक दुवैतर्फको सडक अस्तव्यस्त बनेको छ । ट्राफिक प्रहरीले पनि सवारीसाधन व्यवस्थानमा कडाइ गर्न छाडेको छ ।
पोखराबाट देशका विभिन्न ठाउँमा पुग्ने सवारीसाधन पृथ्वीचोकबाटै छुटने र मृख्य राजमार्ग पनि भएकाले त्यहाँ सवारीसाधनको अत्यधिक चाप हुने गर्छ । बसपार्क, होटल, वित्तिय संस्था, अस्पताल तरकारी बजार, मासु पसल लगायत व्यवसाय तथा सरकारी सेवा दिने यातायात व्यवस्था कार्यालयलगायत अड्डा पनि त्यही क्षेत्रमा रहेकाले पृथ्वीचोकमा मानिसको भीडभाड भइरहन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी हवल्दार आशिष क्षेत्रीले सवारीसाधनको बढ्दो चापका कारण पोखरामा पार्किङको समस्या देखिएको बताउनुभयो । ‘पृथ्वीचोक क्षेत्रमा अहिले पनि पार्किङ त निषेध नै छ, यात्रु चढाउने र ओराल्न मात्र दिने गरेका छौँ’ उहाँले भन्नुभयो– ‘सबैतिरका गाडी पृथ्वीचोक भएर गुड्ने भएकाले ट्राफिक व्यवस्थापन चुनौती भने छ, यसमा यातायात व्यवसायी र स्थानीयवासीको साथ चाहिन्छ ।’
सडक फराकिलो र व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले त्यस क्षेत्रमा रहेका अस्थायी संरचनासमेत हटाएको थियो । जीर्ण अवस्थामा रहेको बसपार्कको मर्मतसुधारको काम महानगर र प्रदेश सरकारले मिलेर गरेका थिए । यातायात व्यवसायीले बसपार्क व्यवस्थित नहुँदा पार्किङको समस्या भइरहेको बताउँदै आएका छन् ।
पोखरा ४८ वर्षदेखि आधुनिक र व्यवस्थित बसपार्कको पखाईमा छ । बसपार्क बनाउन विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेर खुम्चदैँ गएको छ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा स्तरीय बसपार्क बन्नुपर्ने माग पहिलेदेखि नै हुँदै आएको छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अनुसार पोखरासँग ६३ जिल्लाको यातायात सञ्जाल जोडिएको छ । बसपार्कमा ढलान, पार्किङ ट्रयाक, यात्रु विश्राम कक्ष, शौचालय, खानेपानी लगायत पूर्वाधारको खाँचो रहेको छ । बसपार्क व्यवस्थित नहुँदा गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन् । टिकट काउण्टर पनि सडक किनारमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’