+

खप्तडमा राजस्व संकलनमा कमी

डोटी । खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्व वर्षेनी  कमी हुँदै गएको पाइएको छ । निकुञ्जले आयोजना गरेको सरोकार भएकासँगको समन्वय बैठकमा राजस्व सङ्कलन चुनौती बनेको बताइएको छ । 

चालु आर्थिक वर्ष २०८०र८१ को चैत मसान्तसम्म ३ लाख ३६ हजार १० रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको निकुञ्जका कार्यालय प्रमुख सरोजमणि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस अवधिमा एक हजार तीन सय चार जनाले खप्तडको भ्रमण गरेका छन् । 

पौडेलका अनुसार आव २०७९र८० मा ७ लाख ८७ हजार ६ सय २६ रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने दुई हजार आठ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए । आव २०७८र७९ मा दुई हजार दुई सय ९ जनाले खप्तडको भ्रमण गरेकामा ९ लाख २० हजार ८ सय २९ रुपैयँँ राजस्व सङ्कलन भएको राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । 

राजस्वको प्रमुख स्रोत पर्यटकले काट्ने टिकट हो । पछिल्लो समय केही पर्यटकले टिकट बिनै खप्तडको भ्रमण गरिदिँदा राजस्व सङ्कलनमा कमी आएको निकुञ्ज प्रमुख पौडेलको भनाइ छ । विभिन्न बहानामा टिकट नकाट्ने र टिकट छल्ने प्रवृत्ति बढ्दै जाँदा राजस्व सङ्कलनमा कमी आउनुका साथै भ्रमणका क्रममा बिरामी परे उद्दारमा कठिनाइसमेत हुने गरेको उहाँले बताउनुभयो ।

हजारौँ रकम खर्च गरेर खप्तड भ्रमण गर्न आउने केही पर्यटकले एक सयको टिकट काट्न आनाकानी गर्दा पर्यटक व्यवस्थापन तथा आपत्कालीन उद्दारमा समेत समस्या हुने गरेको पौडेलले बताउनुभयो ।

उहाँका अनुसार निकुञ्जमा प्रवेश शुल्क प्रतिव्यक्ति स्वदेशीका लागि  एक सय, सार्क मुलुकका नागरिकलाई  पाँच सय र अन्य विदेशीका लागि  एक हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै