+

काफल बेचेर मनग्य आम्दानी

दाङ ।  तुलसीपुर उपमहानगरपालिका–५ की ४२ वर्षीया गीता वादी हिजोआज तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बेच्न व्यस्त हुनुहुन्छ । 

एक दशकदेखि  त्यही चोकमा बसेर व्यवसाय गदैँ आउनुभएकी बादीले समयअनुसारका फलफूल बिक्री गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘अहिले काफलको मौसम छ, बिहानै खरिद गर्छु । दिनभरी यहीँ चोकमा बसरे  बिक्री  गर्छु । यसैबाट घरपरिवार पाल्न र छोराछोरी पढाउन सजिलो भएको छ ।’

 सल्यानका विभिन्न ठाउँबाट बिहानै छिटुवाका छिटुवा काफल तुलसीपुर बजारमा बिक्रीका लागि त्यहाँका स्थानीयवासीले ल्याउने गर्दछन् । वादी पनि दिनहुँ बिहानै मोलमोलाई गरेर काफल खरिद गर्नुहुन्छ । दिनभर चोकमा बसेर बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । प्रतिमाना एक सय रुपैयाँमा काफल बिक्री गर्ने गरेको वादीले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष काफलको उत्पादन घटेको स्थानीयले बताउने गरेको उहाँको भनाइ छ । वादीले गतवर्ष काफल बिक्रीबाट ४० हजार रुपैयाँ भन्दा बढी आम्दानी गरेको बताउनुभयो । 

बढ्दो  गर्मीसँगै तुलसीपुर बजारका विभिन्न चोकमा बसेर यतिखेर  काफल  बिक्री गर्ने क्रम बढेको छ । विशेष गरेर तुलसीपुर नगरपालिका–१ का विभिन्न गाउँ र सल्यानको कपुरकोट, लान्ती, धनबाङलगायतका स्थानबाट काफल ल्याएर तुलसीपुर बजारमा बिक्री गर्ने गरिएको छ । ती स्थानमा काफल किन्न आउने सर्वसाधारणको भीड नै देखिन्छ ।

काफलको तुलसीपुर बजारमा मनग्य व्यापार भएको छ । तुलसीपुर नगरपालिका–१ को  अम्बास, टुनापानी र छिमेकी जिल्ला सल्यानका विभिन्न गाउँबाट स्थानीयले यहाँका बजारमा बेच्न ल्याएको काफल प्रतिमाना  ५० देखि रु एक सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । काफल बेच्न तुलसीपुरस्थित सल्यान सडक खण्डमा सल्यानको धनवाङबाट आउनुभएकी ५० वर्षीया लक्ष्मी पुन वनबाट टिपेर बिक्री गर्न तुलसीपुर बजार आउनुहुन्छ । काफल बेचेर हालसम्म १५ हजार रुपैयाँ आम्दानी गरेको उहाँ बताउनुहुन्छ । 

तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बिक्री गर्दैआउनुभएकी सल्यानको कपुरकोटकी सीता पुनले गत वर्ष २५ हजार रुपैयाँ आम्दानी गर्नुभयो । स्थानीयबाट खरिद गरेर बेचेको काफलबाट एउटा याममा  ३० हजारदेखि  ४० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको कपुरकोटमा व्यापार गर्दै आउनुभएकी निमा पुनले बताउनुभयो । उहाँका दुई छोरीले पनि विद्यालयमा बिदा भएको समयमा काफल टिपेर बिक्री गर्ने गरेको बताउनुभयो ।
 
ग्रामीण भेगका विपन्न बालबालिकाले जङ्गलमा गएर काफल टिपेर बजार लगेर बेच्ने गर्दछन् । यसको आम्दानीले उनीहरु कापी, किताब, कलम लगायत सामग्री किन्ने गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै