+

बागमती प्रदेशमा वैशाख २८ देखि युवा सम्मेलन

मकवानपुर । बागमती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना गर्न लागेको छ । 

सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश युवा परिषद्ले  वैशाख २८, २९ र ३० गते आयोजना गर्न लागेको सम्मेलनको तयारी अन्तिम चरणमा रहेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाई जानकारी दिनुभएको छ । युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिन लागेको चौँलागाईंले बताउनुभयो । 

परिषद्ले प्रदेश युवा नीति–२०७९ तयार पारेपछि प्रदेशमा युवाका लागि काम गर्न आवश्यक सल्लाह, सुझाव सङ्कलन गर्न र अवधारणा निर्माण गर्न पनि सम्मेलन उपयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । युवा पुस्तामा चरम निराशाबीच आशा जगाउन युवा सम्मेलन आवश्यक रहेको उहाँको भनाइ छ । 

युवा सम्मेलनमा दुई सयजना युवाको सहभागिता रहने बताइएको छ । सम्मेलनमा विभिन्न कार्यशाला हुनेछ । युवा सम्मेलनको अन्तिम दिन मुख्यमन्त्रीसँग युवा कार्यक्रम गरी समापन गरिने उपाध्यक्ष चौँलागाईंले जानकारी दिनुभयो । 

युवा सम्मेलनपश्चात् ‘युवा सीप वर्ष २०८१’ घोषणा गरिने चौलागाई भनाइ छ । यस वर्ष प्रदेशका पाँच हजार युवालाई १०  क्षेत्रमा एक सयभन्दा माथिको पेसाका सीप सिकाई सीप परीक्षणपश्चात् टेवा पूँजी प्रदान गरिने उहाँले बताउनुभयो । निर्माण, कृषि, सेवा, होटल तथा पर्यटन, होजियारी तथा तयारी पोशाक र सूचना तथा सञ्चारको क्षेत्रमा तालिम दिइनेछ । 

तालिम स्थानीय तह, सामुदायिक विद्यालय, कलेज, सामाजिक संस्थाको समन्वयमा सञ्चालन हुनेछ । तालिमपश्चात् सामाजिक विकास मन्त्रालय, सिटिइभिटी र प्रदेश युवा परिषद्को त्रिपक्षीय सम्झौतामा सीप परीक्षण हुने चौँलागाई बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै