
झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पशुपालक किसानलाई सहयोग पुर्याउने लक्ष्यका साथ कोशी प्रदेशका चार जिल्लाका गोठ र नश्ल सुधार अभियान सञ्चालन गरेको छ ।
विर्तामोडमा रहेको संस्थाले झापा, मोरङ, इलाम र उदयपुरका किसानलाई समूहमा सङ्गठित गरी आवश्यक कर्जा, प्राविधिक सेवा र बजारीकरणमा सहयोग प्रदान गर्दै आएको हो । सहाराका पाँच हजार सदस्यलाई उद्यमी बनाउने उद्देश्य राखेर गाई, बाख्रा, सुँगुर र कुखुरा फार्म सञ्चालन गर्न अभियानमा जोडिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताउनुभयो ।
गिरीकाअनुसार यस वर्ष सात सय किसानलाई बाख्रापालक उद्यमी बनाइएको छ । ‘परम्परागत तरिकाले गरिएको पशुपालनबाट उल्लेख्य उपलब्धि हासिल हुँदैन भनेर हामीले किसानलाई बुझाउँछौँ’ उहाँले भन्नुभयो– ‘आधुनिक सीप र प्रविधिको ज्ञानका साथै आवश्यक सहयोग गर्दै आएका छौँ । सदस्यहरुको समूह बनाएर गोठदेखि बजारसम्म सबै प्रकारको सहयोग पुर्याउँदै आएका छौँ ।’
गाई फार्म र बाख्रापालनमा आवद्ध किसानको घरदैलोमा पुगेर सेवा दिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभएको छ ।बाख्राको नश्ल सुधारका लागि यसै साता झापाको दुई, मोरङ र इलामका एक÷एक गरी चार वटा समूहलाई उन्नत जातको बीउ बोका निःशुल्क वितरण गरिएको संस्थाका कृषि तथा वातावरण उपसमितिका संयोजक राजकुमार ओलीले बताउनुभयो । उहाँका अनुसार सिरोही र पोटा जातका बोका किसानलाई दिइएको हो ।
मोरङको केराबारीस्थित लगनशील सहारा कृषक समूह, इलामको दानाबारीस्थित बिहीबारे सहारा कृषक समूह, झापाको गोलधापस्थित देउराली सहारा कृषक समूह र झापाको बुधबारेस्थित सिर्जनशील सहारा कृषक समूहलाई नश्ल सुधारका लागि बोका वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
संस्थाका शेयर सदस्यलाई लक्षित गरेर गोठ बनाइदिने र रोग प्रतिरोधक भ्याक्सिन निःशुल्करुपमा उपलब्ध गराउने कार्य भइरहेको संयोजक ओलीले बताउनुभयो ।
सहाराको कार्यक्षेत्र रहेको कोशी प्रदेशको छ वटा जिल्लामा बाख्रापालक किसानका ४४ समूह बनाइएको छ । किसानलाई कर्जा, आवश्यक तालिम, बीउ, बजार पहिचान लगायत क्षेत्रमा सहयोग उपलब्ध गराइएको संस्थाका पशु चिकित्सक डा कमलेश्वर भाटले बताउनुभयो । गाईपालक र बाख्रापालक किसानलाई परामर्श सेवा प्रदान गर्नका लागि संस्थाले नेदरल्यान्डबाट पशुविज्ञ चिकित्सक ल्याएको उहाँले जानकारी दिनुभयो ।
नेदरल्यान्डबाट आउनुभएका डा गेरेट टेकनसहितको पशुविज्ञ टोलीले झापा र इलामका किसानको गोठगोठमा पुगेर अनुगमन गरेको थियो । ‘कतिपय किसानको गोठमा खसीबाख्रा एक्कासी मर्ने समस्या थियो’ पशु चिकित्सक डा भाटले भन्नुभयो– ‘नेदरल्यान्डबाट आएका पशुविज्ञले गोठहरुको अनुगमन गरेर समस्या पहिचान गरी समाधान गर्नुभयो । यसबाट किसानले पशुपालनको विश्वस्तरीय ज्ञान प्राप्त गर्न पाउनुभएको छ ।’
बुद्धशान्ति–५ का खगेन्द्र गौतमको बाख्रा गोठमा एकैपटक ४० वटा बाख्रा गत चैतमा मरेका थिए । नेदरल्यान्डका पशुविज्ञ डा टेकनले उहाँको गोठको अनुगमन गरी किसानसँग समस्याका बारेमा छलफल गर्नुभएको थियो ।
पशुविज्ञ टोलीले बाख्रापालनमा गोठ, आहार र नश्ल सुधारमा उन्नत तरिका अपनाउन सुझाव दिनुभएको थियो । टोलीले बाख्राले खाँदै आएको घाँस र दानाको समेत अध्ययन गरेको थियो ।
गाईपालनका बारेमा डा टेकनले सिमेन्टको पक्की भुइँमा भन्दा खुला माटोमा बस्न दिँदा राम्रो हुने सुझाव दिनुभएको उपसमितिका संयोजक राजकुमार ओलीले बताउनुभयो । उहाँका अनुसार टोलीले शिवसताक्षी नगरपालिकाको बिन्दबासिनी गाई फार्म र मेचीनगरको कुबेर बाख्रा फार्मको अनुगमन गरी किसानलाई गोठ सुधारका लागि आवश्यक परामर्श दिएको थियो ।
पशुपालनमा गोठ र नश्ल सुधारसँगै आहार, पशुको स्याहारको उचित व्यवस्थापन मिलाउनु पर्ने सहाराका बालीविज्ञ राजेन्द्र खरेलले बताउनुभयो । संस्थाका तर्फबाट खरेलले किसानलाई कृषिसम्बन्धी परामर्श सेवा प्रदान गर्दै आउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी